खडेरीको असर निगुरोमा पनि

मोरङ । विगत वर्षमा वैशाख पहिलो सातादेखिनै जङ्गलमा पाइने निगुरो सुक्खा खडेरीले यो वर्ष फस्टाउन सकेको छैन । जङ्गलको निगुरो टिपेरै गुजारा चलाउनेले विकल्प भेट्टाएका छैनन् ।

मोरङको उत्तरी भेगको जङ्गलमा वर्षायाममा प्रशस्त मात्रामा निगुरो पाइन्छ । यहाँको निगुरो काठमाडौँसमेत जान थालेपछि माग ह्वात्तै बढेको छ तर डढेलोलेको कारण जङ्गलमा सिला खोज्ने पनि अवस्था नरहेको बेलबारी–१० भाउन्नेका टेकबहादुर याखा बताउँछन् । याखा विगत पाँच वर्षदेखि पूर्व पश्चिम राजमार्गको चिसाङ खोला डिलमा निगुरो बेच्दै आएका छन् ।

‘यो साल समयमा पानी पर्न सकेन, अझै केही समय यस्तै हो भने यो साल निगुरो खान पाइन्छ जस्तो छैन’, याखा बताउँछन् । पथरी, कानेपोखरी, लेटाङ, भाउन्नेलगायतका सामुदायिक वनमा पाइने निगुरो टिप्न विगत वर्षहरुमा बिहानैदेखि साँझसम्म स्थानीयको जङ्गलमा भीडनै हुन्थ्यो । सयौ परिवारको गुजारा निगुरो टिपेरै चलाउने गरेको बेलबारी–११ का मेघराज बस्नेत बताउँछन् । उनी निगुरो टिपेर ल्याउनेसँग खरिद गरेर काठमाडौं पठाउने गरेको बताउँछन् ।

मौसमले साथ दिने हो भने दैनिक दर्जनौँ गाडी निगुरो काठमाडौँ, पोखरालगायत सहरमा निर्यात हुन्छ तर यस विषयमा सरकारी निकायले नत कुनै तथ्याङ्क नै राखेको छ नत चासो नै । कृषि मन्त्रालय कोशी प्रदेशका प्रवक्ता पशुपति पोख्रेलका अनुसार हालसम्म मन्त्रालयमा निगुरो निर्यातको विषयमा कुनै पनि तथ्याङ्क नरहेको बताए ।

You May Also Like