पाकिस्तानमा हिंसात्मक बन्दै प्रदर्शन, ८ जनाको मृत्यु

काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछि भड्किएको हिंसामा ८ जनाको मृत्यु भएको छ भने १ हजारभन्दा बढीलाई पक्राउ गरिएको छ । खानलाई भ्रष्टाचार गरेको आरोपमा गत मंगलबार पक्राउ गरिएको हो ।

खानलाई पक्राउ गरिएपछि उनका समर्थकहरूले देशभर हिंसात्मक प्रदर्शन सुरु गरेका छन् । हिंसात्मक प्रदर्शनलाई नियन्त्रण गर्ने क्रममा ८ जनाको मृत्यु भएको र १ हजारभन्दा बढीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रदर्शन हिंसात्मक बन्दै गएपछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले बुधबार राति देशवासीको नाममा सम्बोधन गरेका छन् । उनले हिंसात्मक प्रदर्शनमा नगर्न र सार्वजनिक सम्पत्ति तोडफोड नगर्ने कडा चेतावनी दिएका छन् ।

उनले हिंसात्मक प्रदर्शन गर्नेहरूलाई कडाभन्दा कडा कारबाही गरिने चेतावनी पनि दिएका छन् । खान पक्राउ परेपछि उनको पार्टी पाकिस्तान तेहरिक ए इन्साफका अन्य नेताहरूमाथि पनि धरपकड सुरु भएको समाचारमा जनाइएको छ ।

तेहरिक ए इन्साफ पार्टीका वरिष्ठ नेता शाह महमुद कुरेशीलाई पनि पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । शाह महमुद कुरेशी पाकिस्तानका पूर्व विदेश मन्त्री पनि हुन् । खान पक्राउ परेपछि कुरेशीले आफ्ना समर्थकलाई प्रदर्शनमा ओर्लन सार्वजनिक आव्हान गरेका थिए ।

कुरेशीले इमरान खानको जीवन खतरामा परेको टिप्पणी पनि गरेका थिए । खान पक्राउ परेपछि आक्रोशित बनेका उनका समर्थकले थुप्रै सार्वजनिक सम्पत्तिमा तोडफोड गरेका छन् । प्रदर्शन उग्र बन्दै गएपछि सेनाहरू सार्वजनिक सम्पत्तिको सुरक्षामा खटिएका छन् ।

७० वर्षीय खान पूर्व क्रिकेटर पनि हुन् । उनी पाकिस्तानका २२औँ प्रधानमन्त्री हुन् । उनी सन् २०१८ देखि सन् २०२२ सम्म पाकिस्तानका प्रधानमन्त्री थिए । पाकिस्तानमा यसै वर्षको अन्त्यमा आम निर्वाचन हुँदैछ । खानले भने आफूमाथि लगाइएको भ्रष्टाचारको आरोप निराधार भएको दाबी गर्दै आएका छन् । उनले प्रतिशोध साँध्नका लागि आफूमाथि यस्तो आरोप लगाइएको बताएका छन् ।

You May Also Like