टर्कीद्वारा पहिलो अन्तरिक्ष यात्राको घोषणा

एजेन्सी । टर्कीले अन्तरिक्ष जाने आफ्नो पहिलो यात्रीको नाम घोषणा गरेको छ । टर्की वायुसेनाका पाइलट अल्पेर गेजरावसी देशका पहिलो अन्तरिक्ष यात्री हुनेछन् । यस्तै, टर्कीको मिसाइल निर्माण संस्था रोकेटसनमा सिस्टम इन्जिनियर तुवा चिहांगिर अतासेवरलाई ‘रिजर्भ उम्मेदवार’ को रूपमा छानिएको छ ।

शनिवार राजधानी इस्तानबुलमा आयोजित एक टेकफेस्टमा राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले यी दुईको नाम घोषणा गरेका हुन् । टर्कीले सन् २०१८ मा टर्कीश स्पेस एजेन्सीको स्थापना गरेको थियो र सन् २०१९ मा देशको अन्तरिक्ष कार्यक्रमको घोषणा गरेका थियो । साथै आफूहरूले अन्तरिक्षमा मानिस पठाउने पनि बताएका थिए ।
 
टर्कीको सरकारी समाचार च्यानल टिआरटी वर्ल्डका अनुसार यस वर्षको अन्त्यमा उनीहरूको मानव मिसन इन्टरनेशनल स्पेस स्टेसनका लागि अन्तरिक्षका लागि प्रस्थान गर्नेछ जहाँ यो मिसन १४ दिनको रहनेछ ।
 
राष्ट्रपति अर्दोआनले टेकफेस्टमा भने, ‘टर्कीका युवालाई शीर्ष लिगमा लिएर जानेछौँ र उनीहरू पूर्ण स्वतन्त्रताका साथ सपनालाई साकार पार्नेछौँ ।’
 

उनले भने, ‘हामीले आफ्नो देशमा यस्तो माहौल बनाउन निकै सङ्घर्ष गरेका छौँ जहाँ हाम्रा युवाले कुनै डर बिना आफ्नो सपना साकार पार्न सकुन् ।’ ‘हामीले टर्कीको पछ्यौटेपनको बन्धन तोडेर एक महान् र शक्तिशाली टर्कीका लागि आधारभूत ढाँचाको निर्माण गरेका छौँ,’ उनले थपे ।

You May Also Like