पाकिस्तानको पञ्जाबमा पूर्व प्रधानमन्त्री खान पक्षधरको प्रदर्शन

लाहोर । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछि सुरु भएको प्रदर्शनका कारण पाकिस्तानको सबैभन्दा बढी जनसङ्ख्या भएको प्रान्त पञ्जाबमा करिब एक हजार व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले बुधबार जनाएको छ ।

‘प्रहरी टोलीले प्रान्तभरिबाट ९४५ ‘कानून उल्लङ्घन कर्ता र उपद्रवी’हरूलाई पक्राउ गरेको छ,’ अधिकारीहरूले सञ्चारमाध्यमलाई दिएको जानकारीमा उल्लेख गरिएको छ । प्राप्त जानकारी अनुसार खानलाई गरेपछि भएको हिंसामा १३० भन्दा बढी प्रहरी घाइते भएका छन् ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई गत वर्ष सत्ताच्युत भएयता विचाराधीन दर्जनौं मुद्दामध्ये एक मुद्दामा मंगलबार अदालतमा उपस्थित हुने क्रममा पक्राउ गरिएको थियो ।

महिनौँ लामो राजनीतिक संकटपछि उहाँको गिरफ्तारी भएको हो । पाकिस्तानमा शक्तिशाली भूमिका रहेको सेनाले पूर्व अन्तर्राष्ट्रिय क्रिकेटरलाई उनको हत्याको षडयन्त्रमा एक वरिष्ठ अधिकारीको संलग्नता रहेको आरोप लगाएको केही घण्टापछि उनलाई पक्राउ गरिएको हो ।

खानको पाकिस्तान तेहरीक ए इन्साफ (पीटीआई) पार्टीका अधिकारीहरूले उनलाई पक्राउ गरेपछि समर्थकहरूलाई सडकमा आउन आग्रह गरेका थिए तर प्रहरीले चार जनाभन्दा बढी भेला हुन नपाइने आदेशलाई कडाइका साथ लागू गरिने चेतावनी दिएको छ ।

आन्दोलनका लागि पार्टीले गरेको आग्रहसँगै पीटीआई समर्थकहरूले राजधानी इस्लामाबाद, लाहोर र पेशावरसहित देशभरका शहरहरूमा भेला भएर सडक अवरुद्ध गरेका थिए ।

You May Also Like