बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई नेपाल भ्रमणको निम्तो

लन्डन । हाल बेलायतको भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउदले बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई नेपाल भ्रमण गर्ने निम्तो दिएका छन्।

बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन लन्डन आएका मन्त्री साउदले शुक्रबार बकिङ्घम राजदरबारमा विदेशी पाहुनाका लागि आयोजित स्वागत समारोहमा बेलायती प्रधानमन्त्री सुनकलाई भेटेका बेला त्यस्तो निम्तो दिएका थिए।

लन्डनस्थित नेपाली दूतावास श्रोतले यस अघिका भेटहरुमा पनि नेपाली अधिकारीहरुले तत्कालिन ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई निम्तो दिएको बताएका छन्। ‘परराष्ट्रमन्त्री साउदले प्रधानमन्त्री सुनकलाई दिनुभएको निम्तो’bout कूटनीतिक माध्यमबाट दूतावासले फलोअप गर्नेछ,’ दूतावास श्रोतले भन्यो।

भारतीय मूलका पहिलो ब्रिटिश प्रधानमन्त्री सुनकले ब्रिटेन तथा भारतबीच स्वतन्त्र व्यापार सम्झौता ९एफटीए० गर्न प्रयासरत छन्। भारतमा अर्को वर्ष हुन गइरहेको आम चुनाव अगावै त्यस्तो सम्झौता गर्ने प्रयास भइरहेको र सम्झौताको मिति तय भएमा प्रधानमन्त्री सुनकले भारत भ्रमण गर्ने सम्भावना रहेको समाचारहरुमा जनाइएको छ।

२०० वर्ष भन्दा लामो नेपाल-बेलायत सम्बन्धमा स्वर्गीय ब्रिटिश महारानी तथा राज परिवारका सदस्यहरुले नेपालको भ्रमण गरेको भएता पनि अहिलेसम्म कुनै पनि ब्रिटिश प्रधानमन्त्रीले नेपालको भ्रमण गरेका छैनन्। यो वर्ष नेपाल तथा बेलायतले २ देशबीच सन् १९२३ मा शान्ति तथा मैत्री सन्धि भएको १०० वर्ष पुरा भएको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेका छन्।

परराष्ट्रमन्त्री साउदले बकिङ्घम दरबारमा आयोजित स्वागत समारोहमा राजा चार्ल्स तृतीय, राजपरिवारका सदस्यहरु, विदेशमन्त्री जेम्स क्लेभर्ली, मन्त्रीहरु र विश्वका अन्य नेताहरुसँग समेत भेटघाट गरेको लन्डनस्थित नेपाली दूतावासद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ।

You May Also Like