बेलायती राजाले पहिरिए राजमुकुट

लन्डन । बेलायतका राजा चार्ल्स तृतीयलाई मध्य लन्डनको ऐतिहासिक वेस्टमिन्स्टर आबीमा आयोजित एक विशेष समारोहमा राजमुकुट पहिर्‍याइएको छ । स्थानीय समयअनुसार दिउँसो १२ बजेर ३ मिनेट जाँदा इसाई धार्मिक परम्परामा आधारित एउटा सौम्य, सांगीतिक समारोहमा आर्चबीसप अफ क्यान्टरबरीले राजा चार्ल्सको शीरमा ‘सेन्ट एड्वर्ड्ज क्राउन’ भनिने राजमुकुट पहिर्‍याइदिएका थिए ।

२.२३ किलो तौलको सुन र हिरा जवाहरात जडित उक्त श्रीपेच राजाहरुले राज्याभिषेकका बेलामात्रै पहिरन्छन् ।

‘हामी यहाँ एक जना राजालाई राजमुकुट लगाइदिन उपस्थित भएका छौं र राजाले सेवा गरुन् भनेर उनलाई राजमुकुट पहिर्‍याउन लागिएको हो’ आर्चबीसप अफ क्यान्टरबरीले भने । उनले ‘गड सेभ द किङ’ भनेपछि उपस्थित पाहुनाहरुले पनि उक्त भनाइ दोहोर्‍याएका थिए ।

सन् १९५३ मा महारानी एलिजावेथ द्वितीयाको राज्याभिषेक यहीं भएको थियो । बेलायतमा विगत ९०० वर्षदेखि वेस्टमिन्स्टर आबीमा राजाहरुको राज्याभिषेक हुने गरेको छ। उक्त गिर्जाघरमा राज्याभिषेक हुने चार्ल्स ४०औं राजा हुन् ।

७० वर्षपछि भएको उक्त राज्याभिषेक समारोहमा ९० मुलुकका राष्ट्राध्यक्षसहित विश्वभरबाट झन्डै दुई हजार विशिष्ट पाहुना सहभागी भएका थिए ।

परराष्ट्रमन्त्री एनपी साउदले नेपालको प्रतिनिधित्व गरेका थिए । यसअघि राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने तयारी भए पनि उनको स्वास्थ्य अवस्थाका कारण परराष्ट्रमन्त्री साउद आएका हुन् ।

समारोहमा बेलायती प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु, सेलिब्रेटी, च्यारिटी तथा स्वयंसेवक कार्यकर्तालगायत सहभागी थिए ।

You May Also Like