गण्डकीमा मुख्यमन्त्री को हुने भोलिसम्म थाहा हुन्छ: माओवादी नेता चुमान

पोखरा । नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेशसभा संसदीय दलका नेता हरिबहादुर चुमानले मुख्यमन्त्री को बन्ने भन्ने कुरा भोलिसम्म थाहा हुने बताएका छन् । शनिबार प्रदेशसभामा विश्वासको मत नपाएपछि मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् । अब नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिलेर सरकार बनाउँदैछन् ।

शनिबार प्रदेशसभाको बैठक सकिएपछि पत्रकारहरुसँग कुरा गर्दै माओवादी नेता चुमानले कांग्रेस–माओवादीबीच मुख्यमन्त्रीमा आलोपालोको सहमति भएको र पहिलो पालोमा आफूहरुले पाउनुपर्ने बताए ।

ढल्यो गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री अधिकारीले पाएनन् विश्वासको मत

‘शीर्ष नेताहरुको कुराकानीमा म आफूले बुझेको चाहिँ माओवादी केन्द्रले नै पहिलो पालो लोओस्, दोस्रो पालो नेपाली कांग्रेसले लेओस् भन्ने कुरा भएको हो’ उनले भने । केन्द्रमा पनि पहिलो पालोमा माओवादीबाट पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री रहेको र पछिल्लो पालो मात्र कांग्रेसबाट प्रधानमन्त्री हुने उनले बताए ।

सरकार गठन प्रक्रियाका विषयमा केन्द्रबाट निर्देशन लिनै बाँकी रहेको पनि चुमानले बताए । ‘हामी दलहरुबीच सरसल्लाह गर्ने कुरा, हामीले निर्देशन लिन पनि लिनुपर्छ निर्देशन लिने कुरा बाँकी छ’, उनले भने, ‘प्रदेश प्रमुखले आह्वान गर्नेबित्तिकै सरकार बनाउनेतिर लाग्छौं ।’

You May Also Like