पछिल्लो १० बर्षमा पहिलो पटक कर्णालीमा समयमै पुग्यो पाठ्यपुस्तक

सुर्खेत । वार्षिक परीक्षा सुरु हुने बेलासम्म पाठ्यपुस्तक विद्यार्थीको हातमा नपुगेको समाचार आइरहने कर्णालीमा यो वर्ष भने नयाँ शैक्षिक सत्रको सुरुवातमै पाठ्यपुस्तक पुगेको छ । कतिपय ठाउँमा शैक्षिकसत्र सुरु हुनुपूर्व नै पाठ्यपुस्तक पुर्‍याइसकिएको छ भने कतिपय ठाउँमा पुर्‍याउने क्रम जारी छ ।

विशेष गरी यो पटक कर्णालीका हिमाली जिल्लाहरुमा समयमै पाठ्यपुस्तक पुगेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ । जनक शिक्षाको नेपालगन्ज कार्यालयका अनुसार हुम्ला र डोल्पामा सबैभन्दा पहिला पाठ्यपुस्तक पुर्‍याइएको छ ।

डोल्पामा एक हजार पाँच सय सेट किताब पुगेको छ भने हुम्लामा पनि सोही मात्रामा किताब पुगेको छ । नेपालगन्ज कार्यालयले हिमाली र पहाडी जिल्लालाई पहिलो प्राथमिकतामा राखेर किताब वितरण गरेको छ । सो कार्यालयले कर्णालीका हुम्ला, डोल्पा, सल्यान र रुकुम पश्चिमलाई हेर्दै आएको छ ।

सल्यानमा ५ हजार ७ सय सेट किताब पुगेको छ भने रुकुम पूर्व र रुकुम पश्चिम गरी ५ हजार ६ सय सेट पुस्तक पुगेको छ ।

यस्तै जनक शिक्षाको प्रादेशिक कार्यालय वीरेन्द्रनगरले मुगु, जुम्ला, कालिकोट, दैलेख, सुर्खेत र जाजरकोटलाई किताब पुर्‍याउँछ । प्रादेशिक कार्यालय सुर्खेतमा अनुसार कालिकोटमा एक हजार सेट किताब यसअघि नै पुगिसकेको छ भने सोमबार ९आज० एक हजार ५ सय सेट पुग्दै छ । कालिकोटलाई ३ हजार ७ सय बराबर सेट किताब आवश्यक पर्दछ । यस्तै जाजरकोटमा ३ हजार सेट किताब पुगिसकेको छ भने बाँकी पठाउने काम भइरहेको छ ।

यो पनी पढ्नुहोस्ः कर्णालीमा कोरोना संक्रमितको सङख्या बढ्दै

सुर्खेत कार्यालयका प्रमुख भैरवबाबु पन्तले केही जिल्लामा ६० प्रतिशत त कोहीमा ५० प्रतिशत किताब सम्बन्धित जिल्ला तथा पालिकाहरुमा पुगिसकेको दाबी गरे । यस्तै दैलेखमा बुधबारसम्म पुर्‍याउने तयारी छ । विकट जिल्लाहरुलाई पहिलो प्राथमिकता राखिएको उनले बताए ।

मुगुको छायानाथ रारा नगरपालिका र मुगुम कार्मारोङ गाउँपालिका बाहेकका ठाउँमा लागि किताब ढुवानी भइसकेको उनले बताए । ‘हामीले चैत २६ र २७ गते पुर्‍याउने भनेका थियौँ तर, उहाँहरु ९सम्बन्धित पालिकाका पुस्तक पुर्‍याउने व्यवसायी० आइतबार मात्र आउनुभयो, अब केही दिनमा पुग्ला,’ पन्तले भने, ‘दैलेखपछि अन्तिममा सुर्खेतमा किताब वितरण गरिने छ ।’

पन्तका अनुसार विद्यालयको माग अनुसार किताबको सेट उपलब्ध गराइएको बताए । साथै जुम्लाका अधिकांश पालिकाका लागि किताब गइसकेको उनको भनाइ छ । उनले गोदाममा किताब प्रशस्त भएको र कुनै अभाव नहुने बताए । उनका अनुसार प्रादेशिक कार्यालय सुर्खेतमा अझै १५–१६ हजार सेट किताब गोदाममा स्टक छ ।

सुर्खेत कार्यालयबाट जिल्ला तथा पालिकामा ५६ वटा पुस्तक व्यवसायीहरुले किताब पुर्‍याउने गरेका छन् । जनक शिक्षा सामग्री नेपालगन्ज प्रमुख होमराज ढुङ्गेलका अनुसार केही ऐच्छिक विषय छुटफुट बाहेक माग अनुसारको किताब कर्णालीमा पुर्‍याइसकिएको छ ।

‘केही पालिकाबाट रकम निकासा नभएका कारण व्यवसायीले किताब नलगेको तथा अन्य यावत कारणबाहेक सबै ठाउँमा किताब पुगेको हाम्रो आकलन छ,’ उनले रातोपाटीसँग भने, ‘नेपालगञ्ज कार्यालयले हिमाली र पहाडी जिल्लालाई पहिलो प्राथमिकतामा राखेर किताब वितरण गरेको हो ।’

उनले सबैभन्दा पहिला हुम्ला र डोल्पामा किताब पुर्‍याउने काम भएको बताए । यद्यपि बर्दिया, बाँकेमा भने अहिलेसम्म वितरण गरिएको छैन । चैत २४ गतेदेखि गोदाम खुलेको भए पनि हुम्ला र डोल्पाका लागि २० चैतबाटै किताब पुर्‍याउने प्रक्रिया थालिएको ढुङ्गेलले बताए ।

‘बोरामै हालेर तयारी गर्नुपर्ने भएकाले २० चैत्रमै खबर गरेर बोरामा प्याकिङ गर्न लगाएका थियौँ,’ उनले भने, ‘२६ चैतसम्म सम्बन्धित ठाउँमा किताब पुगिसकेको थियो । हिमाली जिल्लाबाट आइरहन निकै समस्या हुने भएकाले पनि समस्या नहोस् भन्ने उद्देश्यसहित पहिला नै पठाइएको हो ।’

एक दशकपछि पहिलो पटक समयमै किताब पुग्यो

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कर्णाली प्रदेशका अध्यक्ष कमल नेपाल झण्डै एक दशकपछि पहिलो पटक कर्णालीमा समयमै पाठ्यपुस्तक पुगेको बताउँछन् । उनले पटक–पटकको दबाब र संघर्षका कारण पहिलो पटक कर्णालीमा समयमै किताब पुगेको रातोपाटीलाई बताए ।

यसअघि कर्णालीमा विद्यार्थीले कहिल्यै पूरा सेट किताब समयमा पाएनन् । ०७९ मा पनि कर्णालीका ४० प्रतिशत विद्यार्थीले पूरै सेट किताब नपाएर नै वार्षिक परीक्षा दिएको देखिन्छ । पाठ्यपुस्तक बेलैमा उपलब्ध नगराएको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका विद्यार्थीहरुले केही समयअघि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रादेशिक कार्यालय प्रमुख धनबहादुर केसीलाई कालोमोसो दलेका थिए ।

यो पनी पढ्नुहोस्ः कर्णालीमा कोरोना संक्रमितको सङख्या बढ्दै

पाठ्यपुस्तक छपाइदेखि बिक्री वितरणसम्मको जिम्मेवारी पाएको जनक शिक्षाले हिमाली जिल्लालाई प्राथमिकता दिएर पाठ्यपुस्तक ढुवानीको प्रबन्ध मिलाएको दाबी गरे पनि यसअघि सबै विद्यार्थीको हातमा पूरा सेट किताब कहिल्यै पुगेन ।

संघीयतापछि शिक्षाको अधिकार स्थानीय तहलाई दिएको छ । कर्णालीका कतिपय स्थानीय तहले सम्बन्धित विद्यालय, कतिपयले सिधै पुस्तक व्यवसायीलाई पुस्तक खरिद तथा ढुवानीको जिम्मा दिएका हुन्छन् । साथै कर्णालीका सबै जिल्लामा यो पटकदेखि वैशाखबाट नै शैक्षिकसत्र सुरु भएको छ । यसअघि कर्णालीका कतिपय जिल्लामा फागुनबाटै शैक्षिकसत्र सुरु हुँदै आएको थियो ।

You May Also Like