विगत लामो समय देखिको लकडाउन र निषेधाज्ञका कारण सर्वसाधारणको जनजीवन अस्तव्यस्त भएको छ । दिनभरि ज्याला मजदुरी गरेर साँझपख छाक टार्दै आएका आम नागरिकहरुलाई झनै समस्या भइरहेको छ । यस्ता नागरीकहरुको पिडा कसले बुझ्ने यहाँ ? बरु सरकार त लकडाउन र निषेधाज्ञा लगाउनमा मात्र व्यस्त छ । न त समस्यामा परेकाहरुको राहातमा ध्यान दिन सकेको छ । कोरोनाको डर कसलाई पो छैन । तर कतिपय सर्वसाधारणलाई भने कोरोना भन्दा भोक भोकै मरिन्छ कि भन्ने पिर छ ।
बिहान र साँझ आफ्नो साना नानी बाबुको पेट भर्न सकिदैन कि भन्ने मानसिक तनावले च्यापिरहेको छ । बजारमा केही सामान किन्न जादा महँगीले छुइ नसक्नु छ । सामानको मूल्य दिन प्रतिदिन बढ्दै गएको छ । साहुजि दाई/साहुनि दिदी किन यति महंगो भन्दा उता बाट जवाफ आउँछ कोरोना र लकडाउनले गर्दा ।
के साच्चै कोरोनाले गर्दा महँगो भएकै हो र ? सरकारले त खाद्यान्न, तरकारी, अत्यावश्यक सामाग्रीको ढुवानीमा रोक पनि लगाएको छैन पो भन्छ ।
मौकामा चौका हान्ने बानी कहिले छुट्ने ? संकटको बेला लुट्नु भन्दा सभ्य नागरिकको परिचय दिनुहोस । गरि खाने सर्वसाधारणलाई पनि बाँच्न दिनुहोस । तपाई पनि बाँच्नु होस । कोरोनालाई कमाई खाने भाडो नबनाऔ ।