सरकारलाई ११ दलको ९ बुंदे माग पुरा नगरे कडा संघर्षमा उत्रने चेतावनी


नेपाल कम्युनिस्ट पार्टी लगायत ११ दलले सरकार समक्ष ९ बुंदे माग राखेका छन् । ११ दलहरुले संयुक्त विज्ञप्ति जारी गर्दै ति मागहरुलाई अविलम्ब पुरा नगरे कडा संघर्षमा उत्रन वाध्य हुने बताएका छन् । ११ दलको तर्फबाट सी।पी। गजुरेलले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – “राष्ट्रियता, जनतन्त्र र जन जीविका सम्वन्धी विभिन्न विषयका साथै सरकारले लिएका कतिपय गलत निर्णय र क्रियाकलापका विषयमा संघर्ष गर्दै आएका हामी ११ दलको नेतृत्वले आपसमा छलफल गरी निम्नप्रकारका निर्णयहरु लिएका छौं । उक्त निर्णयहरुलाई सार्वजनिक गर्नकालागि यो संयुक्त विज्ञप्ति जारी गरेका छौं ।
निर्णयहरु :
१) कोभिड– १९को विषयमा :
९१० कोभिड – १९ को रोकथाम र नियन्त्रणका लागि हामीले, अन्य पार्टीले र स्वास्थ्य सम्वन्धि विज्ञहरुले दिएका सुझावहरुलाई सरकारले उपेक्षा गरेकै परिणामस्वरुप आज राजधानी लगायत देशका विभिन्न भागमा कोरोना भाइरसले महामारीको रुप लिएको छ । यस स्थितिमा निम्न अनुसारका कामलाई अविलम्ब लागु गर्न हामी सरकार सँग जोडदार माग गर्दछौं  :

१. कन्ट्याक्ट टेसिङ र परीक्षणको कामलाई व्यापकता र तीब्रता दिने ।

२. कोरोना भाइरसको उपचार सबैलाई निशुल्क गराउने ।

३. संक्रमित सबैलाई मापदण्ड अनुसारको आइसोलेसनको तुरुन्त व्यवस्था गर्ने ।

४. होमआइसोलेसनमा बस्नेका लागि औषधी, चिकित्सक र नर्सको व्यवस्था गर्ने ।

५. आइ.सी.यु. तथा भेण्टिलेटरको प्राविधिक सहित पर्याप्त मात्रामा व्यवस्था गर्ने ।

६. विदेशबाट आउनेहरु सबैलाई क्वारेण्टाइन र आइसोलेसनमा राखेर मात्र घर पठाउने ।

७.  विदेशमाअलपत्र परेका नेपालीहरुलाई उद्दार गरि सरकारी खर्चमा देशभित्र ल्याउने व्यवस्था गर्ने ।

२) श्रमिक र विपन्नहरुको व्यवस्थापनवारे :
कोरोना भाइरस महामारीका रुपमा फैलिएको हुनाले सरकारले धेरै जसो जिल्लामा निषेधाज्ञा लागु गरेको छ । यसबाट श्रमिकहरुले काम गर्न नपाएर परिवारहरुको विचल्लीभएकोले उनीहरुको अविलम्ब बस्ने, खाने व्यवस्था गरियोस् । यसका साथै आय नभएका र विचल्लीमा परेका विद्यार्थीहरुको समेत खाने, बस्ने व्यवस्था मिलाइयोस् । यसमा हुने गरेको भ्रष्टाचार तुरुन्तै नियन्त्रण गरी भ्रष्टाचारीहरु माथि कारवाही गरियोस् ।

३) खाद्यान्न, तरकारी र दैनिकउपभोग्य वस्तुहरुको असीमित रुपमामूल्य बृद्धि गरिएको छ । यसमाथि नियन्त्रण कायम गरी सर्व सुलभ गराइयोस् । तरकारी बजारमा स्वास्थ सम्वन्धी नियमलाई कडाईपूर्वक पालना गराइयोस् ।

४) समयमा वर्षा हुनाको कारण यस वर्ष ९७ प्रतिशत जमिनमा रोपाईं हुनु खुसिको कुरा हो । तर समयमा रासायनिक मलको अभावका कारण किसानको लगानी समेत गुम्ने खतरा भएको हुनाले किसानहरुलाई सुपथ र कममूल्यमा रासायनिक मल स्थानीय रुपमा अविलम्ब उपलव्ध गराइयोस् ।

५) सरकारका महत्वपूर्ण निकायमा भएका बदनाम र बिवादास्पद बिचौलियाहरुको र वरिष्ठ मन्त्रीका अयोग्य नातेदारहरुको नियुक्ति खारेज गरियोस् । अब आइन्दा यसप्रकारका कृयाकलाप नगरियोस् ।
६)  नेपालको भूभाग सहितको नक्शा जारी गर्नु सकारात्मक काम हो । उपरोक्त भूभाग माथि दावी स्थापित गर्नका लागि यसलाई अन्तर्राष्ट्रियकरण गर्ने, नेपाली सेनालाई सिमानामा तैनाथ गर्ने, भारत सँगको सिमानामा तारवार लगाउने जस्ता कामहरुलाई अविलम्ब अघि बढाइयोस् ।

७)  अमेरिकी सरकारको एम।सी।सी। सँग विगतमा गरिएका सम्झौताखारेज गरियोस् ।

८) बाढी पहिरोले किसानको जनधनको ठूलो क्षतिभएकोमा हामी त्यस प्रति गहिरो चिन्ता ब्यक्त गर्दछौं र सरकारले पीडित र बिचल्लीमा परेका बाढी पहिरो पीडित परिवारको खाने, बस्ने र औषधोपचार गर्ने ब्यबस्था तदारुकताका साथ मिलाईओस् भन्ने जोडदार मागगर्दछौं र जोखिममा रहेका बस्तीहरुलाई सुरक्षित स्थानमा सार्ने प्रबन्ध मिलाइयोस् भन्ने माग गर्दछौ ।

९) कृषिमा मलको अत्यन्त अभाव भएको हुनाले त्यसबाट कृषि उत्पादनमा ठूलो क्षती पुग्ने खतरा देखिएको छ । त्यसकारण रासायनिक मलको शिघ्र पूर्तीको व्यवस्था गर्नको लागि माग गर्दछौँ ।

हामीले शान्तिपूर्ण रुपमा राखेका मागहरुलाई अविलम्ब पुरा गरियोस् भनी सरकार समक्ष प्रस्तुत गरेका छौं । अन्यथा हामी कडा संघर्षमा उत्रन वाध्य हुने कुरा पनि जानकारी गराउन चाहन्छौं ।”

You May Also Like