प्रदेश ६ को पहिलो बैठक माघ २१ मा

सुर्खेत — प्रदेश ६ का प्रमुख दुर्गाकेशर खनालले प्रदेशसभाको पहिलो अधिवेशन माघ २१ गते दिउँसो १ बजेका लागि बोलाएका छन् ।

प्रदेश प्रमुखको कार्यालयले आइतबार नेपालको संविधानको धारा १८३ उपधारा (१) बमोजिम प्रदेशसभाका सम्पूर्ण सदस्यहरुलाई उपस्थितिका लागि सूचना जारी गरेको हो । संविधानअनुसार निर्वाचन परिणाम सार्वजनिक भएको २० दिनभित्र प्रदेशसभाको पहिलो बैठक बोलाइसक्नुपर्छ ।
 
 
संसदको बैठक वीरेन्द्रनगर–७ स्थित सिँचाई विकास डिभिजन कार्यालयमा बोलाइएको छ । यसअघि शैक्षिक जनशक्ति तालिम केन्द्र, जिल्ला समन्वय समितिको हललाई प्रस्ताव गरिएको थियो । संसद सचिवालयले तयार पारेको डिजाइनअनुसार सिँचाई विकास डिभिजनको हललाई व्यवस्थापन गरिनेछ । प्रदेश प्रमुखको कार्यालयले सिँचाई कार्यालयलाई सोमबारभित्र स्थानान्तरण गरिसक्न निर्देशन दिएको छ । प्रदेशसभामा ४० सांसद छन् ।
 
प्रदेशसभा बैठकको आन्तरिक तयारी तीव्र पारिएको छ । प्रदेश प्रमुख कार्यालयका सचिव भरत ढुंगानाले कूर्ची, रोष्टम, माइक व्यवस्थापनको काम थालिसकेको जानकारी दिए । उनले शैक्षिक जनशक्ति तालिम केन्द्र मर्मत सुधारका लागि कम्तीमा २ महिना लाग्ने भएकाले सुरुका बैठक सिँचाई विकास डिभिजन कार्यालयमा सञ्चालन गर्ने तयारी भइरहेको बताए ।
साभार: कान्तिपुर
 

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

 

You May Also Like