जाजरकोटबाट अझै उखेलिएन छाउपडीको जरो

नवराज शाही, जाजरकोट । जुनिचाँदे गाउँपालिका–४, मजकोटकी सुुशीला खड्का पहिलोपटक रजस्वाला हुँदा कपडाको पोको बाँधेर छाउगोठ पसिन् । कम्मर र पेट कटकटी दुख्थ्यो । लगातार रगत बगिरहेको थियो र जीउ भारी भएको थियो । उनलाई नुहाएर ज्यान हलुको बनाउन मन थियो । तर उनी गह्रौं तनमन लिएर साँघुरो र अँध्यारो गोठमा पस्न बाध्य भइन् । 

यसअघि उनले घरका आमा, दिदीहरु छाउमा बसेको देखेकी मात्र थिइन् । तर जब पहिलोपटक आफैले छाउ बार्नु पर्यो तब उनले यसको असह्य पीडा अनुभव गरिन् । एकातिर अत्यासलाग्दो गोठको अँध्यारो कुनामा कुजिएर बस्नुपर्ने अर्कातिर घरको आँगनसमेत छुन नपाइने अछूतको दुव्र्यवहार !
पश्चिम जाजरकोटका वस्तीमध्ये खासगरी जुनिचाँदे गाउँपालिकाका मजकोट, कोर्ताङ, दहमा अहिलेसम्म पनि छाउपडीप्रथाले जरो गाडिरहेको स्थानीयवासी बताउँछन् ।     

जुनिचाँदे गाउँपालिका–४, तल्लो लुहादहका वासिन्दाले छाउपडी कुप्रथालाई कडारुपमा अँगाल्दै आएका छन् । माथिल्लो लुहादह र तल्लो लुहादहमा गरी जम्मा २८५ घरधुरी छन् । जसमध्ये धेरैजसो परिवारका छाउगोठ छन् । क्षेत्री जातिको बाहुल्य रहेको यी वडामा दलित समुदाय करिब ८० घरधुरी छन् । 
छाउगोठमा बस्दा अहिलेसम्म कुनै अप्रिय घटना भएको नभएपनि छाउ बस्नैपर्ने अन्धविश्वासले यहाँका महिलाको जीवन निकै असुरक्षित रहेको जुनिचाँदे गाउँपालिकाकी उपाध्यक्ष शिवा आचार्य बताउँछिन् । 

रजस्वाला नबार्दा देवता रिसाउछन् भन्ने अन्धविश्वासबाट पुर्खौंपुर्खादेखि प्रभावित भएकाले यसमा परिवर्तन ल्याउन चेतनामूलक कार्यक्रम सञ्चालन गरिनुपर्ने स्थानीय पत्रकार सुरेन्द्र सिंह बताउँछन् ।  

तर जिल्लामा दर्जनौ गैरसरकारी संस्था भएपनि छाउपडी जस्तो कुप्रथा हटाउनेतर्फ भने उनीहरुको ध्यान नगएको अर्का स्थानीय पत्रकार रेशमबहादुर खड्काले बताए । 

यसैगरी महिला अधिकारसँग सम्बन्धित मुद्दा भएपनि महिला तथा बालबालिका कार्यालय पनि यसबारे बेखबर जस्तै बनेको छ ।  छाउघरमा बस्दा बलात्कार, सर्पले टोक्ने, विभिन्न रोगका संक्रमण जस्ता जोखिममा पर्नसक्ने भएपनि यसतर्फ कसैको पनि ध्यान गएको देखिदैंन । 

‘चोखिएको दिन ठूलै कालबाट बाँचियो जस्तो लाग्छ’

कक्षा ९ मा पढिरहेकी ममता विकलाई छाउ हुने समय आयो कि कहॉ रात बिताउने भन्ने चिन्ताले सताउन थाल्छ । साविकको सिद्धेश्वर गाविस–३, नौलाकोट गाउँमा छाउगोठ भत्काइएका छन् । त्यसैले ममतालाई छाउले छुनेवित्तिकै कहाँ बस्ने भन्ने चिन्ताले सताउने गरेको हो । 

सुरक्षितरुपमा घरमै बस्ने भनेर छाउगोठ भत्काइएको भएपनि छाउ भएका बेला घरबाहिरै बस्नुपर्ने बाध्यता छ । छाउ भएका वेला रातभभर असुरक्षित र अप्ठेरो गरी सुत्नुपर्ने भएकाले विद्यालय जानसमेत छुट्ने गरेको ममता बताउँछिन् ।    

‘विद्यालय पुग्न करिब १ घण्टा हिंड्नुपर्छ,‘ उनले भनिन्, ‘कहिले त ढिलो भएकाले विद्यालय नै जादिनँ ।’ छाउ बार्नु पर्नाकै कारण महिनामा तीनचार दिन पढाइ छुट्ने गरेको उनले बताइन् । 

कक्षा ९ मै पढ्ने यज्ञ विकको घर नजिकै नयाँ छाउगोठ बनाइएको छ । घरको अगाडि भएकाले पटकपटक देखिने त्यो छाउगोठले उनलाई वेलावेला झस्काउँछ । हावा लागेपनि ढल्लाजस्तै साना झ्याल, ढोका नभएकाले थाङ्गनाको पर्दा हालेर सुत्नुपर्छ । 

‘छाउ भएर चोख्खेको दिन त ठूलै कालबाट बाँचियो जस्तो लाग्छ उनले भनिन्, ‘के गर्नु प्रत्येक महिना चार पाँचदिन त्यो कालसँग लड्नुपर्छ ।’ कक्षा ७ मा पढ्दै गरेकी राजकलाको पनि पीडा कम छैन । उनले भनिन्, ‘रातभरीको जाडो,  अनि डरैडरमा सुत्नु पर्छ विद्यालय गएपनि पढाइतिर ध्यान जाँदैन ।’ विद्यालय  जाने उमेरका धेरै किशोरी छाउ भएका वेला यस्तै शारीरिक र मानसिक पीडा खेप्न बाध्य छन् । 

साभारः जनता पोष्ट

 

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

You May Also Like