नवराज सिलवालः अनेक प्रसंग, एक प्रयोग

नेपाली शब्दकोषमा ‘पराकाष्ठा’ भन्ने एक अप्रिय शब्द छ, जसलाई चरम अन्याय र अतिबोधको अर्थमा प्रयोग गरिन्छ । पराकाष्ठाले लक्षित पक्षलाई अन्तिम विन्दुमा त पुर्‍याउँछ तर अन्त्यमा त्यो आफैंमा परास्त हुने गर्छ

यो नियति र प्रकृतिको नियमलाई तत्कालीन अवस्थामा नवराज सिलवाललाई ठेगान नलगाई नछाड्ने पक्षले आत्मसात नगरेका कारणको परिणाम उनी जनअनुमोदनको परीक्षणमा उत्तिर्ण हुन गए । नियमसंगत ढंगले गरिनुपर्ने प्रहरी बढुवाको विषयलाई सामान्य प्रशासनिक प्रणालीअनुरुप अगाडि बढाउँदा मात्र हुने प्रसंगलाई बदनियत र व्यक्तिगत लाभ प्रेरित भावनाबाट गलत एवं अपाच्य पात्रको चयन गरिएका कारण सिर्जित घटनाले राष्ट्रिय आकार मात्र लिएन, अन्ततोगत्वा सिलवाल प्रसंग राजनीतिक प्रयोगको विषयसमेत बन्न गयो ।

तत्कालीन प्रहरी नेतृत्वले सहज र स्वाभाविक ढंगले नेतृत्व हस्तान्तरण नगर्नका लागि रचेको षडयन्त्रको कथा-पटकथामा राज्यशक्तिका पात्रले कुशलतापूर्वक आफ्नो स्वार्थप्रेरित भूमिका निर्वाह गरिरहे । परिणामस्वरुप, सिलवाल राज्य संयन्त्रले गरेको षडयन्त्रका कारण भौंतारिइरहे । न्यायालयको ढोकामा पुगे, न्यायिक आदेशको कार्यान्वयनमा अवरोध पुर्‍याउने गरी महाभियोगसम्मको घटना सतहमा छताछुल्ल हुन पुग्यो ।

अन्त्यमा सबैले भने, यो त अति भो, सिलवालप्रति राज्यको व्यवहार शत्रुतापूर्ण थियो । नागरिकप्रति गरिएको व्यवहारभन्दा पनि निन्दनीय थियो, जसलाई सबैले महशुस हुने गरी पराकाष्ठाको अन्तिम प्रयोगका रुपमा बुझ्न थालिएको थियो ।

भनिन्छ, बिरालोलाई भाग्ने ठाउँ सानो प्वालसमेत नराखी कुट्दा बिरालो हिंस्रक भएझैं सिलवालले पनि निस्सासिएको अवस्थाबाट खुल्ला मैदानमा हाम फाले । त्यहाँ उनका लगि जनअदालतको कठघरा सज्जिएको थियो ।

यो त्यो कठघरा थियो, जहाँ जनअनुमोदनको कसीमा दुवै पक्ष एकै पटक प्रतिपक्षको समान हैसियतमा हाजिर भए र जनन्यायको अन्तिम परीक्षणमा परिणामले जे देखायो, त्यो प्रष्ट तर छरपष्ट रुपमै देखा पर्‍यो ।

‘म नै राज्य हुँ’ भन्ने दम्भका साथ तोकुवाका भरमा अरुको व्यावसायिक जीवनमाथि खेलाँची गर्ने पात्रहरु अहिले आफैं पराकाष्ठाको परिणति अनुभव गर्दैछन् । तर, यो पराकाष्ठा सकारात्मक परिणतिको परिणाममा देखा परेको छ ।

वास्तवमा, राजनीति सिलवालको स्वेच्छिक रोजाइ थिएन । यो त नियति र भोगाइको परिणाम थियो । प्रहरी संगठन आफैंमा एक दल हो, जसको अरु राजनीतिक दलको जस्तै छुट्टै विधान (प्रहरी ऐन २०१२ ) र पहिचानका लागि छुट्टै झण्डा छ ।

मैले प्रसंगमा नेपाल प्रहरी दलको नामलाई ‘अपराध रोकथाम तथा नियन्त्रण समाजवादी दल’ भन्ने गरेको छु । विधि र विधानसम्मत प्रहरी दलको दलदलमा पारिएका सिलवालका लागि राजनीतिक दलमा प्रवेश गर्नु अनिवार्य परिस्थिति बन्न गयो ।

राज्यका तर्फबाट सबै ढोका बन्द भएपछि सुरुङ खनेर भए पनि अगाडि बढ्नु उनका लागि अन्तिम तर अनिवार्य विकल्प बन्न गयो । दलीय राजनीतिमा प्रवेश गर्नुभन्दा केही समयअघि पंक्तिकारसँगको कफी भेटमा यो प्रसंग छलफलको विषय बनेको थियो । र, राजनीतिक दल प्रवेशको नौलो प्रयोग उपयुक्त रहने हाम्रो निष्कर्ष थियो ।

प्रहरी सेवामा रहँदा पनि सत्य र असत्यबीच फरक छुट्याउने नै हो । कानुन कार्यान्वयन गर्दा आफूले महशुस गरेको असहज अनुभवलाई कानुन निर्माण गर्दाको क्षणमा भरपुर प्रयोग गर्न सकिन्छ । यो राज्यका लागि पनि अवसर हो ।

प्रहरी सेवामा व्यावसायिक ढंगले कार्यसम्पादन गरेका अधिकारीले समाजको मनोविज्ञानलाई राम्ररी बुझेका हुन्छन् । पीडितका समस्या, पीडकको रणनीति, सम्भावित खतरा र चुनौतीलाई नजिकबाट नियाल्ने अवसर प्रहरी सेवाले मात्र प्रदान गर्न सक्छ ।

तर, यो अनुभूतिको सुविधा व्यावसायिक अधिकृतलाई मात्र रहने गर्छ । प्रहरी सेवालाई व्यावसायिक लाभ, शक्ति आर्जन र राजनीतिक सम्पर्कको माध्यम बनाउने अधिकारी भने यो अनुभूतिबाट कोशौं टाढा रहने गर्छन् । सिलवालको भोगाइ र रोजाइ समृद्ध र न्यायिक राज्य निर्माणका लागि उपयोगी हुने विश्वास लिन सकिन्छ ।

उनी राजनीतिक दलको समानुपातिकको बन्दसूचीका माध्यमबाट सुटुक्क संसदमा देखा परेका भए पंक्तिकारले यो घटनालाई लेखनको विषय नै बनाउने थिएन । तर, यो प्रसंगको प्रयोग जनअनुमोदनको कसीमा परिक्षित हुन पुगेको छ र एक पूर्वप्रहरी अधिकृत कानुन निर्माणका लागि सगौरव संसदमा जाँदै गर्दा सबै प्रहरीले गौरवको अनुभूति गर्ने मेरो विश्वास छ ।

हाम्रो संसदमा केही आपराधिक तर राजनीतिक पृष्ठभूमिका ‘डन’ पनि प्राविधिक परिवेशको परिणामस्वरुप संसदमा प्रवेश गर्दैछन् । त्यहाँ उनीहरुसँग हुने सिलवालको जम्काभेट रोचक र घोचक हुने नै छ । तर, व्यावसायिक प्रहरी जीवनको अनुभवबाट सिञ्चित व्यक्तिले उन्मादको प्रदर्शन र स्वार्थका झुण्डको उक्साहटको गलत प्रयोग गर्ने छैनन् । ’cause, कुनै पनि गलत कार्यको अन्त्य अर्को गलत प्रयोगबाट हुन सक्दैन । यसो हुन गएमा यो अर्को पराकाष्ठाको प्रयोग हुन जानेछ ।

साभारः अनलाइन खबर

रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ ।

 

You May Also Like