प्रकाशको निधनले पार्टी र आन्दोलनमै ठूलो क्षतिः माओवादी केन्द्र


काठमाडौँ । नेकपा माओवादी केन्द्र ले पार्टीका पोलिटब्युरो सदस्य सत्कार दाहाल (प्रकाश) को हृदयघातबाट अल्पायुमै भएको निधनले पार्टी र सिंगो आन्दोलनमा ठूलो क्षति पुगेको जनाएको छ ।

पार्टी प्रवक्ता पम्फा भुसालले जारी गरेको शोक वक्तव्यमा पार्टीले एउटा जुझारु, उदीयमान नेता र व्यवस्थापक गुमाएको उल्लेख छ । प्रवक्ता भुसालले दाहालको निधनले सिंगो पार्टी पंक्ति शोकाकुल भएको बताउँदै पार्टीको तर्फबाट उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेकी छन् ।

दाहाल पोलिब्युरो सदस्यमात्रै नभई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का र पार्टीका केन्द्रीय सल्लाहकार सीता दाहालको एकमात्रै सुपत्र भएको वक्तव्यमा उल्लेख छ ।

यसबाट अध्यक्ष प्रचण्ड र सल्लाहकार दाहालसँगै सिंगो परिवारलाई परेको चोटबाट पार्टी अत्यन्त मर्माहत भएको तथा शोकको यस घडीमा अध्यक्ष प्रचण्ड र परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै वक्तव्यमा सिंगो पार्टी श्रद्धेय अध्यक्षसँगै रहेको र पुरै पार्टी पंक्ति शोकाकुल रहेको उल्लेख छ ।

स्व दाहाल सानै उमेरमा विसं २०५७ सालदेखि पूर्णकालीन भई केन्द्रीय कार्यालयमा पार्टी अध्यक्षको निजी सचिवको जिम्मेवारीमा थिए । उनी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा दुवै कार्यकालमा सचिवालयमा रही जिम्मेवार भूमिका निर्वाह गरेको वक्तव्यमा उल्लेख छ ।

‘युद्धकालको कठिन र संघर्षमय दिनमा पनि कहिल्यै विचलित नभई उहाँ पार्टी गतिविधिमा निरन्तर सक्रिय रहनुभएको थियो’, वक्तब्यमा भनिएको छ ।

You May Also Like