भदौ १ देखि आन्तरिक र बाह्य हवाई उडान सुरु गर्ने निर्णय

सरकारले १ भदौबाट हवाई उडान सुरु गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक र बाह्य दुवै हवाई उडान पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हवाई उडान पुनः सञ्चालन हुने निर्णय गरिएकाे जानकारी दिए । पर्यटन मन्त्रालयले उडानको मापदण्ड बनाउने जिम्मा पाएको छ । मापदण्ड पूरा गरेपछि मात्र सञ्चालन गर्नेछ ।

कोरोना भाइरसको रोकथामका लागि सरकारले चार महिनायता हवाई उडान बन्द गरेको थियो । अत्यावश्यक परिस्थितिमा मात्र चाटर्ड उडान सञ्चालन गर्दै आएको थियो । हवाई उडान सुरु भएपछि विदेशमा रोकिएका लाखौं नेपालीलाई नेपाल आउन सहज हुनेछ ।

यस्तै आन्तरिक उडानले पनि लकडाउनका कारण विभिन्न क्षेत्रमा रोकिएका नेपालीहरुलाई आवागमनमा सहज हुनेछ । यसअघि सरकारले जिल्लाभित्र मात्र लागू हुनेगरी सार्वजनिक सवारी सञ्चालनमा ल्याइसकेको छ ।

You May Also Like