दैलेख पुगेर ओलीले भने, हाम्रो पहिलो काम पेट्रोलियम उत्खनन्

दैलेखः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि वाम सरकार बन्ने र उक्त सरकारको पहिलो काम पेट्रोलियम पदार्थको उत्खनन् हुने बताएका छन् ।

वाम गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्न दैलेख पुगेका ओलीले दैलेखमा रहेका पेट्रोलियम पदार्थ सम्भावनाका क्षेत्रको अध्ययन आफू प्रधानमन्त्री हुँदा पनि गर्न लगाएको र अब पनि त्यसलाई प्राथमिकतामा राख्ने आश्वासन दिए ।

ओलीले दैलेखमा भएको पेट्रोलियम पदार्थको खानी उत्खनन् गरेर नेपाल धनी बन्न सक्नेसमेत उल्लेख गरेका छन् ।

ओलीले आफू प्रधानमन्त्री भएको बेला तत्कालीन उद्योगमन्त्री सोमप्रसाद पाण्डेयसहित चिनियाँ टोली दैलेख पठाई अध्ययन तथा अवलोकन गरेपश्चात पेट्रोलियम पदार्थको प्रचुर सम्भावना रहेको पाइएको बताए ।

ओलीले चुनावलगत्तै एमाले–माओवादी केन्द्रबीच पार्टी एकता गरिने बताउँदै सार्वभौमसत्ता र नागरिक हकको प्रयोग तथा राज्यबाट नागरिकले पाउने सुविधालाई आशन्न निर्वाचनले नयाँ ढाँचामा परिवर्तन गरी राष्ट्रिय स्वाभिमानको बाटोमा अगाडि बढाउने बताए ।

वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले असमानता, विदेशी राष्ट्रको हस्तक्षेप हटाउँदै मुलुकलाई समृद्ध बनाउन आवश्यक रहेको बताए ।

उनले भने, ‘गरिबी हटाउन वाम गठबन्धन आवश्यक छ, नेपालमै युवालाई काम गर्ने वातावरण सिर्जना गरेर विदेश गएका युवालाई स्वदेशमै रोजगारी दिनुपर्ने बेला आएको छ ।’

You May Also Like