डोल्पालीको सडक सास्ती

रुकुम पश्चिम । भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा १ सय १७ किलोमिटर कच्ची सडक छ । नेपालगन्जबाट भने दुनैसम्मको दूरी २ सय ७२ किलोमिटर छ । तर यो बाटो पार गर्न डोल्पालीले कम्तीमा ६ वटा गाडी बदल्नुपर्छ भने भाडामा मात्रै करिब ५ हजार रुपैयाँ खर्च हुन्छ ।

डोल्पाको मुट्केचुलाका डिलप्रकाश रोकायले गत आइतबार नेपालगन्जबाट दुनै पुग्दा २४ घण्टाको सास्तीपूर्ण यात्रा गर्नुपरेको बताए । ‘कतिबेला दुर्घटना हुने हो भन्ने डरैडरमा दुनै पुगियो, बाटोमा ६ गाडी बदल्यौं,’ उनले भने, ‘बर्खामा बढेका खोला, बाढीपहिरोसँग पौठेजोरी खेल्दै भगवान भरोसामा यात्रा गरियो ।’
यसै पनि यो मार्गमा सिधा आवतजावत हुने अवस्था छैन । झन् बर्खामा डोल्पालीले धेरै सास्ती बेहोर्ने गरेका छन् । डोल्पाको खदाङका भक्तबहादुर रोकायले दुनैबाट छलगाडसम्म पहिलो गाडी, त्यहाँबाट ५ सय मिटरजति हिँडेर चुगाड खोला तरेपछि दामाचौरसम्म दोस्रो गाडी, दामाचौरबाट रुकुम पश्चिमको मुलतरासम्म तेस्रो गाडी र मुलतराबाट रुकुम–जाजरकोट सिमानामा पर्ने भेरी नदीको झोलुंगे पुल गरेर तल्लुमा चौथो गाडी चढ्नुपर्ने बताए । उनका अनुसार फेरि चौखाबाट पाँचौं गाडीमा तातरगाड र छैटौं गाडी चढेपछि बल्ल सिधै नेपालगन्ज पुगिन्छ । ‘यहाँ ६ वटा गाडी त बर्खामा अनिवार्य हो । पानी धेरै परेपछि अरु पनि खोला बढ्छन् अनि त गाडी नै नपाउने अवस्था पनि आउछ,’ उनले भने ।

जाजरकोट–डोल्पा सडक खण्डलाई राष्ट्रिय सडक सञ्जालसँग जोडिएको प्रचार गरिए पनि अझै अधुरै रहेको डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञवालीले बताए । उनका अनुसार यो सडकखण्डअन्तर्गत जाजरकोट र रुकुम जोड्न तल्लु बगरमा पुल निर्माण नहुँदा यात्रुले सास्ती भोग्दै आएका छन् । निर्माणको अन्तिम चरणमा रहेको तल्लुको बेलीब्रिज गत बैशाख ७ मा भाँचिएको थियो । पुल निर्माणको कामले थप समय लिने देखिएको उनले बताए ।

बर्खामा खहरे खोला बढ्दा र ठाउँठाउँमा पहिरो झर्दा डोल्पा पुग्न सास्ती भइरहेको त्रिपुराकोटकी रमिता बुढाले बताइन् । ‘सबै ठिकै हुँदा त ठिकै छ जसोतसो गाडीमा बसौला, तर दुःख–विराम पर्दा कसो गर्ने रु’ उनले भनिन्, ‘बिरामी परिगए त गाडीभित्रै मर्ने नै होला नि, बर्खामा हामीलाई नेपालगन्ज र सुर्खेत पुग्न पनि अर्के मान्नमी ९पृथ्वीको अर्को भाग० पुगेको जस्तो हुन्छ ।’ जाजरकोटको तातरगाडसम्म बस चल्छन् । त्यहामाथि जिपहरु चल्छन् । बर्खामा खोला बढेका बेला गाडी वारपार हुन नसक्दा पाँच वटा जिप फेर्दै तातरगाडसम्म बस चढ्न पुग्ने गरेका हुन् । जिपले मनपरी भाडा लिने गरेको छ । दुनैबाट नेपालगन्ज पुग्दासम्म भाडा र खाना खर्चमात्रै ५ हजार रुपैयाँ पुग्ने बुढाले बताइन् ।

You May Also Like