अभिनेता सारुक मृत्यु प्रकरणमा मोबाइल डिटेल्स र रिपोर्ट कुर्दै प्रहरी

काठमाडौं । अभिनेता सारुक ताम्राकारको मृत्यु प्रकरणलाई लिएर विभिन्न तथ्य बाहिरिरहेको बेला प्रहरीले भने अनुसन्धान अघि बढाउन कुनै ठोस तथ्य फेला पार्न सकेको छैन।


ताम्राकारको आत्महत्या नभई ‘हत्या’ भएको हो भन्दै सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरुले प्रश्न उठाएका छन् तर प्रहरीले भने हालसम्म कुनै ठोस प्रमाण फेला पार्न सकेको छैन।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार उनको मोबाइललाई अनुसन्धानका लागि डिजिटल फरेन्सिक ल्याबमा पठाइएको छ।

‘सामाजिक सञ्जालदेखि विभिन्न सञ्चारमाध्यमहरुमा समेत धेरै कुराहरु बाहिरिएका छन् तर हामीले प्रमाण विना कसैलाई आरोप लगाउने भन्ने कुरा हुँदैन, त्यसैले हामीले उनको मोबाइबाट केही थाहा होला भनेर डिजिटल फरेन्सिक ल्याब पठाएका छौं। त्यहाँको रिपोर्ट आउन बाँकी छ,’ उनी भन्छन्, ‘पोष्टमार्टम रिपोर्टले पनि केही थाहा होला। अहिले नै केही भनिहाल्ने अवस्था छैन।’

हाल सारुकको काजकिरियाको काम भइरहेकाले त्यसपछि प्रहरीसामु एकपटक उपस्थित हुन परिवारलाई भनेको उनले जानकारी दिए।

परिवारको सदस्यबाट कसैप्रति किटानी जाहेरी भने नपरेको उनी बताउँछन्। उनी भन्छन्, ‘अत्माहत्या कसरी भएको होरु के होरु अनुसन्धान गरिदिन भनेर चाहिँ एउटा निवेदन आएको छ प्रहरीले त्यसैका आधारमा अनुसन्धान गरिरहेको छ।’

यता सारुका बुबा सानु ताम्राकारका अनुसार पनि परिवारले कसैविरुद्ध किटानी जाहेरी दिएको छैन। ‘छोराको मृत्युलाई लिएर बाहिर धेरै कुराहरु आएका छन्। बुटीदेखि लिएर मसानघाटमा पूजा गरेकोसम्म कुराहरु आएको छ, त्यस’boutमा अहिले नै केही भन्न सक्ने अवस्था छैन।’ उनी भन्छन्, ‘प्रहरीले छोराको मृत्यु भएको स्थानबाट सिसिटिभी फुटेज पनि लिएर गएको छ। मोबाइल पनि लगेको छ। त्यहाँबाट केही पत्ता लाग्न त्यसपछि मात्रै यस्तो हो भनेर भन्न सक्ने अवस्था रहन्छ।’

सारुकको मानसिक स्वास्थ्यको विषयलाई लिएर पनि सामाजिक सञ्जालमा विभिन्न कुराहरु आइरहेका छन् नि भन्ने प्रश्नमा उनी भन्छन्, ‘हाम्रो छोरालाई मानसिक रुपमा त्यस्तो केही थिएन एकदमै ठिक थियो। औषधी खाइरहेको भन्नै सबै कुराहरु सत्य होइनन्।’

सारुक ‘ह्यासट्याग माया’ फिल्मको सुटिङ सुरु भएयता निर्माताले नै भाडामा लिएको बुढानीलकण्ठस्थित एक घरमा बस्दै आएका थिए। सानु ताम्राकार भन्छन्, ‘फिल्मको सुटिङ सुरु भएदेखि नै करिब ६र७ महिना अघिबाट नै छोरी बुढानीलकण्ठतिरै बस्ने गरेको थियो। कहिलेकाँहि घर आउँथ्यो, बुबा बिजी छु फिल्मको कामले गरेर भनेर भनिरहन्थ्यो। केही सम्वादहरु म आफैँले पनि लेखिरहेको छु भन्थ्यो, काममा नै बिजी हुन्थ्यो।’

बुढानीलकण्ठको घर अभिनेत्री नम्रता श्रेष्ठको आग्रहमा भाडामा लिएको बुझिएको छ। नम्रताले आफ्नो घर बाहिर नबसी क्यारेक्टरमा बस्न नसक्ने भनेपछि घर भाडामा लिएको र दैनिक योग टिचर आएर उनलाई योग सिकाउने गरेको खुलेको छ। नम्रताले आफूलाई योग सिकाउने व्यक्तिलाई दैनिक ५ हजार रुपैयाँ दिने गरेकोसमेत फिल्म सम्बद्ध स्रोतले जानकारी दिएको छ। पछिल्लो समय सारुक र नायिका नम्रता श्रेष्ठ प्रेम सम्बन्धमा रहेको पनि निर्माण पक्षले बताएको छ।

अभिनेता सारुक असार २१ गते काठमाडौंको रातोपुलस्थित आफ्नै निवासमा भर्‍याङको रेलिङमा प्लास्टिकको पाइपको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । ३१ वर्षीय ताम्राकारले ‘रानी’, ‘मेरी मामु’, ‘इन्टु मिन्टु लन्डनमा’लगायत चलचित्रमा अभिनय गरेका थिए । उनको चलचित्र रानीबाट डेब्यु गरेका थिए।

You May Also Like