केन्द्रीय तहका नेतालाई लेबी बुझाउन जसपाको ताकेता

काठमाडौँ । जनता समाजवादी पार्टीले केन्द्रीय तहका नेतालाई लेबी बुझाउन ताकेता गरेको छ । सो पार्टीका आर्थिक विभाग प्रमुख विजय यादवले पार्टीको केन्द्रीय समिति, केन्द्रीय राजनीतिक समिति र केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूलाई बाँकी रहेको लेबी असार मसान्तभित्र बुझाउन ताकेता गरेका हुन् । जसपाले केन्द्रीय सदस्यलाई पाँच सय, राजनीतिक समितिका सदस्यलाई सात सय र कार्यकारिणी सदस्यलाई एक हजार मासिक लेबी तोकेको छ ।

आर्थिक विभाग प्रमुख यादवका अनुसार अधिकांश नेताले लेबी बुझाइसकेका छन् । केही नेताहरुले मात्र बुझाएका छैनन् । उनीहरुलाई असार मसान्तभित्र बुझाउन पत्र पठाइएको विभाग प्रमुख यादवले बताए । उनका अनुसार यसअघि बसेको केन्द्रीय समितिको बैठक तथा विधान अधिवेशनको क्रममा धेरै नेताले लेबी बुझाइसकेका छन् ।

बैठकमा उपस्थित नभएका नेताहरुलाई मात्र असार मसान्तभित्र लेबी बुझाउन ताकेता गरिएको हो । सो पार्टीका सदस्यहरुले सदस्य शुल्कका अतिरिक्त आ–आफ्नो समितिमा मासिक लेबी बुझाउनु पर्ने नियम छ ।

You May Also Like