नेपालको बेजोड भूआकृति, प्रकृति र संस्कृतिले मानिसलाई जति घुम्यो उति घुमौं घुमौं बनाउँछ। त्यही भएर यसपालि समुद्री सतहबाट १,३१० मिटरमा बसेको काठमाडौंबाट २१० मिटर पनि नपुग्ने नेपालगञ्ज झरेर २,३१० मिटरमा रहेको डोल्पाको जुफाल हुँदै ३,६१० मिटर उचाइमा बसेको से-फोक्सुण्डो घुम्ने योजना बन्यो।
परिचयको भारी छ डोल्पासँग। ७,८८९ वर्ग किलोमिटरको ठूलो जिल्ला। ३,५५५ वर्गकिलोमिटरको ठूलै राष्ट्रिय निकुञ्ज। सुलिगाड झरना। से-फोक्सुण्डो ताल। ११ औं शताब्दीका गुम्बा। सदियौं पुराना स्तुपहरू। हिउँ चितुवाको सर्वाधिक घनत्व। ४,०८० मिटरमा बसेको अग्लो मानव बस्ती। नम्बरी यार्सागुम्बा पाइने ठाउँ।
घुम्न पहिले मन चाहिने रहेछ, त्यसपछि मन मिल्ने मान्छे। दुईजना मन मिल्ने मान्छे राजेश र टेक भेटिए यसपालि। आवश्यक कपडा, अमेरिकाका उपहार ‘स्केचर्स’ जुत्ता, काठमाडौंको उपहार गगल्स, जापानबाट शिवजीले ल्याइदिएको पावरबैंक, प्रयागले सियाटलबाट पठाइदिएको आइफोन, लोक सेवा ज्ञानले जुटाइदिएको गोप्रो, ‘ट्याग’ नेपालले दिएको क्याप अनि सरकारले दिएको अलिकति तलब बोकेर हिँडियो गन्तव्यतिर।
नेपालगञ्ज जाँदा
काठमाडौं-नेपालगञ्जको उडानमा बुद्ध एयरको मुखपत्र ‘यात्रा’ का पानामा ‘पदयात्राको मौसम’ भनेर से-फोक्सुण्डोलाई उत्कृष्ट गन्तव्यमा राखेको देखियो। जाने गन्तव्य नै उत्कृष्ट भनेको पाएपछि मन बाटैमा फुरूंग।
नेपालगञ्जमा विपीन, सुरेश दाइ र सुदेशले स्वागत गरे। सुरेश दाइकोमा बस्यौं त्यो रात। कोहलपुरमा। भोलिपल्ट डोल्पा (जुफाल) जाने चाँजोपाँजो विपीनले मिलाइदिए। हावा कर्णालीको हवाई यातायातको बाधक हो। डोल्पामा नौ बजेपछि प्लेन अवतरण गर्नै मुश्किल। त्यसैले तिनलाई बिहानै उड्न हतारो।
बिहान पाँचै बजे एयरपोर्ट जाँदै गर्दा नेपालगञ्ज-कोहलपुर हाइवेमा क्षितिजको चन्द्रमा टाढाको सडक बत्तीजस्तै टल्किरहेको थियो।
नेपालगञ्जबाट जुफाल
नेपालगञ्ज एयरपोर्टमा कर्णालीतिर जाने एयरलाइन्सका काउन्टर एकाबिहानै खुलिसक्छन्। जुफालका लागि टिकट लियौं। प्रतिव्यक्ति साढे छ हजार रूपैयाँ। ठ्याक्कै पाँच किलो शून्य ग्रामको ब्यागसहित ‘चेक इन’ सकियो। घाम बल्ल बाँके राष्ट्रिय निकुञ्जको सालको जंगलमाथि उक्लिँदै थियो। हामी समिट एयरको जहाजमा उक्लियौं। फुच्चे विमान तराई छोड्दै पहाडमाथि उड्न दौडियो।
आकाशमा उड्दा पहाड मात्र होइन, धेरै थोक देखिन्छन्। आँखा नाँचिरहेथे। पर सेता हिमालसँगै काला चट्टानी पहाड। नजिकै हरिया वनजंगल। माथि नीलो क्षितिज। तल नागबेली नदीहरू, घुमाउरा सडक, फाँटका बस्तीहरू, त्रिपुराकोट मन्दिर, किरिङमिरिङ बाटाहरू देखिँदै थिए। पैंतीस मिनेट उडेपछि जहाज जुफालमा बस्छ।
एयरपोर्टमा जहाज कुरेर बसेका यात्रु अनि ‘चिलगाडी’ हेर्न घरका छाना र बारीका पाटामा डोल्पालीहरूको उपस्थिति मौलिक थियो।
डोल्पा टेकेपछि
लागिरहेथ्यो, डोल्पामा कालोपत्रे त त्यही एयरपोर्टको रनवे मात्रै होला। त्यस्तै रहेछ। २०७६ सालमा हुम्लालाई उछिनेर राष्ट्रिय सडक सञ्जालमा जोडिने अन्तिम जिल्ला बन्नबाट जोगिएको डोल्पामा कालोपत्रे त टाढाको कुरा, सडकहरूमा ‘फोरह्वीलर’ बाहेकका गाडी चलाउनै नसकिने रहेछ। नेपालगञ्जबाट २७२ किलोमिटरको सडक छिचोल्न तीन-चारवटा सवारीसाधन फेर्नैपर्ने बेग्लै बाध्यता।
नेपालगञ्जको तातोमा शरीरमा झुन्ड्याइएको एक थान टिसर्टले के धान्थ्यो डोल्पामा उत्रिएपछि? कथाले पातलो ज्याकेट माग्यो जुफालको सिरेटो छेक्न। यात्रा यादगार बनाउन मोबाइल क्यामरा र गोप्रो ‘एक्टिभ’ हुनुपर्ने पनि कथाकै माग थियो।
एयरपोर्ट मुन्तिर हेपिएझैं जुफाल। अधिकांश पुराना घर, धुलाम्मे सडक, सानो जिपपार्क। बिछ्याइएका ढुंगाहरू उप्किएका, भत्किएका। जहाज चल्दा मात्र चहलपहल हुने, अरू बेला सुनसान। वैभव हराएको सहरजस्तो। त्यहाँबाट जिपमा दस किलोमिटर तल सुलिगाड पुग्न पाँच सय रूपैयाँ तिर्यौं। यति छोटो दूरीको लागि यति धेरै भाडा! सायद नेपालकै सबैभन्दा चर्को भाडा होला!
पैदलयात्रा सुरू
एकातिर ठूलीभेरी र अर्कोतिर फोक्सुण्डोबाट आएको सुलिगाड खोला भेटिने ठाउँ। सुलिगाड नै भनिँदो रहेछ यस ठाउँलाई पनि।
छेउको आर्मी चेक प्वाइन्टको बोर्डले भनिरहेथ्यो – दुनै र धो बस्ती यताबाट। नाउली, जगदुल्ला, तोइजेम, काइगाउँ, खालीवन, त्रिपुराकोट जाने उताबाट। अनि कागनी, साङटा, छेप्का, चौधफेरे, च्याङमार, र्याची, बाउलीगाड, खुर्बु, सुम्दुवा, साइजोल, पलम (खोला छोडेर बायाँतिर उकालो लाग्ने ठाउँ) हुँदै से-फोक्सुण्डो पुग्ने बाटो मास्तिर।
ठूलीभेरीलाई छोड्दै पैदलयात्रा यहीँबाट सुरू भयो। सुलिगाडको विपरीत दिशामा। उनी सुसाउँदै ओराली झर्दै थिइन्, हामी स्याँस्याँ गर्दै उकाली चढ्न थाल्यौं। उनी खोँचबाट बग्दै थिइन्, हामी भीरबाट हिँड्दै। उनी अविरल थिइन्, हामी थकानले सुस्ताउँथ्यौं बेलाबेला। कहिलेकाहीँ थकाइ मार्न सुलिगाडको चिसो पानीमा खुट्टा चोबल्थ्यौं। किनारमै बसेर गीत गाउथ्यौं। किनारै किनार हिँड्दा जमिन तातेर आएको राप बेलाबेला बादलुले आकाश ढाकेपछि हराउँथ्यो।
हिउँ चितुवा
सन् १९७३ मा अमेरिकी जीवशास्त्री जर्ज स्यालरले नाउरको अध्ययन गर्ने क्रममा डोल्पामा हिउँ चितुवाका पाइला र संकेतहरू फेला पारेछन्। उनका सहकर्मी पिटर म्याथिसनले सन् १९७८ मा ‘द स्नो लियोपार्ड’ पुस्तक लेख्नुअघि विश्वका लागि हिउँ चितुवा दन्त्य कथाझैं थियो। स्यालरले डोल्पामा वन्यजन्तु आरक्ष स्थापनाको अध्ययन पनि गरेछन्। से-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज त सन् १९८४ मा स्थापना भयो।
हिउँ चितुवा। एकान्तमा बस्न रूचाउने। लजालु स्वभावको। मान्छेप्रति आक्रामक नहुने। मध्य एसियाका हिमाली क्षेत्रमा पर्ने १२ देशमा पाइने बिरालोको प्रजाति। जसको मुख्य आहार नाउर, जंगली भेडा, उड्न नसक्ने चराहरू, खरायो र घरपालुवा जनावर हुन्। त्यही हिउँ चितुवाको भूमि मानिने से-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भएर हिँड्दा हिउँ चितुवा देखिन सक्ने आश पनि थियो। अनि, देखिएला कि भन्ने त्रास पनि।
खच्चडको नाइके
यो बाटोमा मान्छेभन्दा खच्चड र घोडाको ओहोरदोहोर बढी हुन्छ। अधिकांश घोडाहरू यार्सागुम्बा टिप्न हिँडेका मालिक र तिनका सामान लिएर पाटन, लेकतिर उक्लिएका छन्।
बुट्टेदार कपडाले निधार ढाकिने गरी टाउकोमा फित्ता। गर्दनमा चौंरीपुच्छरे रातो झल्लरी। घाँटीमा घन्टी, जीउमा ठूलाठूला घुंगुरू र रिबन। खुरमा टाप भइहाले। भारी बोक्ने गद्दा भिरेको तर भारी भरसक नबोक्ने। ऊ लाम्बा अर्थात खच्चडहरूको नाइके। अरूभन्दा फरक, बलियो देखिन्छ।
अरू खच्चडको पिठ्युँमा ऊनबाट बनेको राडी। राडीमाथि भारी। क्षमताअनुसार कम बेसी। गर्छन् दिनहुँ गामबेसी। अगाडि खच्चडको नाइके लाम्बा। पुछारमा खच्चड गोठालो पेम्बा। घन्टी बजाउँदै, धूलो उडाउँदै कुदिरहेछन् गन्तव्यका लागि। यस्तै रहेछ खच्चडको जिन्दगी।
रोमाञ्चक बाटो
से-फोक्सुण्डोसम्म लैजाने पहाडी बाटो रोमाञ्चक छ। गोरेटो, घोडेटो। सलल बग्दैन ती उबडखाबड ढिस्काहरूमा। उकाली, ओराली अनि नागबेली त किस्मतै हो त्यो बाटोको। खच्चडले बिगारेको बाटो, भीरमा कोरिएको डरै लाग्ने बाटो, थिन्ले लडेको बाटो, कैयौं खच्चड झरेको बाटो। नदी किनारै किनार भीरमा बनाएको साँघुरो बाटो। ठाउँठाउँमा ठाडो उकालोको यात्रा।
बाटोमा नदी किनार भरसक छुट्दैन। नदीले छोडे भीर। कतै बिछ्याइएका ढुंगा। कतै खच्चडका टापले धुलाम्मे पारेको गोरेटो। कतै भीरमा पर्खाल लगाएर उठाएको साँघुरो बाटो। नदी छेकेर तारजाली भर्दै बनाइएका कैयौं अस्थायी बाटाहरू कुल्चिँदै, छिचोल्दै हिँड्नुपर्ने। खच्चड आउँदा भित्तोमा टाँसिनुपर्ने। ठाउँठाउँमा काठेसाँघुले दुई किनार जोडेर गन्तव्य छोट्याउँदै अघि बढ्नुपर्ने। त्यसैले त हिँड्नुको मज्जा छ पहाडहरूमा।
पर हिउँ टल्किरहेका अग्ला हिमालहरू। नजिकै चट्टानयुक्त मोडदार, रुखबिरूवाशून्य फुस्रा पहाडहरू। तिनैमाथि बादल आएर थपक्क बसेझैं लाग्ने। लाग्छ ‘रक क्लाइम्बिङ’ का लागि यीभन्दा उत्तम, सर्लक्क परेका चट्टानी पहाडहरू अन्यत्र सायदै होलान्। तिनै पहाडमा कतैकतै गुफाजस्ता। सायद चिल, शिकारी जनावरहरू बस्दा हुन्। दुईधार पहाडहरूको खोँचबाट सानो खोला बग्दै जाँदा नदीको आकार लिइरहेछ, आखिर बुँदबुँदले समुद्र बन्ने हो। पहाडका फेदतिर बुट्यानहरू, भुइँमा रंगीचंगी फूलहरू।
अस्थायी बस्ती
ज्यालस, पलम आदि ठाउँमा केही प्रयोगविहीन घर देखिन्थे। रित्तारित्ता। लेकतिर जाडो बढेपछि आवधिक बसाइँ सर्दा बस्ने घर रहेछन्। माटोको गारोले छाएका। छानामाथि लोङ्ता (बौद्ध मन्त्र लिखित झन्डा) अड्याइएका। हावा चल्दा ती झन्डा जति जोरले सुसायो, त्यसमा भएका मन्त्र पनि सोही गतिमा गुञ्जिन्छन् अरे! अनि पिसाच वा नकारात्मक शक्ति टाढै बस्छ अरे!
सुलिगाड झरना
पहाडको आफ्नै स्वरूप हुन्छ तर तिनलाई झरनाले जति सुन्दर अरूले बनाउन सक्दैनन्। फोक्सुण्डो ताल पुग्नु पहिले देखिन्छ सुलिगाड झरना।
१६८ मिटर अग्लो। दुई तहमा झरेको। सुलिगाड झरनाको फैलावट, झराइ, ‘लोकेसन’ सबै लोभलाग्दो। नहोस् पनि किन? सिंगै खोला झरनामा परिणत भएको छ। हावाले सयौं मिटर परसम्म ओसारेर लैजाने पानीमा कण छोइरहुँजस्तो। झरना आँखा नझिम्क्याइ हेरिरहूँ जस्तो। सुसाइ सुनिरहूँजस्तो। झरेको पानी चट्टानमा ठोक्किएर छिटाहरू बाफझैं उड्ने। यहाँ आइपुग्दा लागेको थकान झरनाको अलौकिकताले बिर्साइ दिने रहेछ।
रिग्मो गाउँ
रिग्मो गाउँको प्रवेश बिन्दुमा प्यागोडा शैलीको स्वागत गेट रहेछ। ढुंगाको पर्खाल, काठको छानो। राम्रो देखिए पनि के-के नमिलेजस्तो। बोन्पो संस्कृति झल्काउनुपर्ने ठाउँमा प्यागोडाले सोचेजति स्वाद नदिएको अनुभूति हुन्छ।
स्वागतद्वारबाट छिर्नासाथ माने छ। लगत्तै रातो र सेतो रङ पोतिएका तीनतले स्तुपहरू। रिग्मोमा चिटिक्क परेका ३०-३२ घर झुरूप्प बसेका छन्। एकाध मात्र रङ लगाइएका। बाँकी माटोको गारो पोतिएका। छानामाथि कलेजी, सेतो, रातो, हरियो र पहेलो गरी पाँच रङ मिश्रित झन्डाहरू फहराइएका। ताल घुम्न आउनेहरू यही गाउँमा बस्छन्।
से-फोक्सुण्डो ताल
साँझ पाँच बजेतिर तालछेउ पुग्दा अग्ला पहाडहरूको काखमा आनन्दले बसेको से-फोक्सुण्डोको पानीलाई हावाले किनारतिर घचेटिरहेथ्यो। सेतो बादलुको घुम्टोले ताललाई लगभग ढाकिरहेथ्यो। तालको पानी टाढाबाट कालोकालो देखिइरहेको थियो। तालको मुहान काञ्जिरोवाको चुचुरोमा गोधुली घाम टल्किरहेको थियो।
तालछेउ टाँसिएको सूचनापाटीले गुलेली (अंग्रेजी अक्षर ‘वाई’) आकारको से-फोक्सुण्डोको बारेमा भनिरहेथ्यो – सन् २००७ मा रामसार सूचीमा सूचीकृत यस तालको क्षेत्रफल ४.९५ वर्गकिलोमिटर, अधिकतम लम्बाइ ५.९३ किलोमिटर, अधिकतम चौडाइ १.८ किलोमिटर र गहिराइ १४५ मिटर छ।
फोक्सुण्डो रङ फेरिरहन्छ। समय र मौसमअनुसार आफू कुन रङमा अझ सुन्दर देखिन्छु भनेर परीक्षण गर्दो हो सायद! तर उसलाई के थाहा, ऊ जुनसुकै रूपमा पनि कम्ता सुन्दर छैन भनेर!
आकाशको रङ तालको पानीमा पोखिएझैं लाग्ने। पानीमुनि पहाडको कल्साउँदो र हिमालको सेतो छाया। अझ माथिबाट सूर्यका बैजनी किरण पोखिँदा नीलबैजनी देखिने। जस्तो आकाश, उस्तै पानी।
थासुङ छोलिङ गुम्बा
से-फोक्सुण्डो तालबाट निसृत खोलो तरेर एक किलोमिटर हिँडेपछि थासुङ छोलिङ गुम्बा पुगिन्छ। गुम्बा पुग्ने पुग्ने बेला दायाँतिर लहरै आठवटा स्तुप छन्। ताल आसपास चाहिँ दुई दर्जनजति। नयाँ बनेका बाहेक प्रायः गारो उप्किएका, पर्खाल चर्किएका। छ सय वर्ष पुरानो बुट्टेदार र कलात्मक झ्याल-ढोकायुक्त गुम्बा छेउछाउका अरू संरचना पनि मक्किएका।
बिहानीको घाम त्यही गुम्बाको सिरानीबाट झुल्किने रहेछ। घाम आकाशमा उक्लिँदै गर्दा तालमा पहाडका छाया लोभलाग्दा देखिने रहेछन्। हेरिरहँदा वरवर सर्ने छायाको हिमाल पनि। अनि परतिर ताल चम्किँदै जाने। ताल हेर्ने ‘भ्यु प्वाइन्ट’ झैं गुम्बाको आँगनी। काठको फलेक ठोकेर, झन्डा ठडाएर, ध्वजाहरू बाँधेर चिटिक्क सजाइएको आँगनी छेउको ढल्किएको बूढो रूखलाई ‘सेल्फी प्वाइन्ट’ भन्दा फरक नपर्ला।
अन्त्यमा, ‘रेशम फिरिरी’ गीतको पंक्ति ‘आकाशमा जहाज, सडकमा मोटर नभए टाढा छ…’ वास्तवमा कर्णालीको लागि ‘फिट’ छ। त्यहाँ त्यस्तै दुर्गम छ। साधन नभए कहिले पुग्ने पुग्ने?
सुलिगाडबाट से-फोक्सुण्डो तालसम्म जाँदा कम्तीमा पन्ध्र ठाउँमा काठेसाँघु वा झोलुंगे पुल तरेर सुलिगाडलाई वारपार गर्नुपर्छ। यात्रामा दालभात तरकारी सबैतिर पाइन्छ। फापरको रोटी, चोतो, आलु तथा उवा र कोदोबाट बनेको घरेलु मदिरा र छ्याङ पनि पाइन्छन्। मासु पाउन समस्या भए पनि अण्डा प्रायः पाइने।
बसोबासको समस्या छैन। दुनै, छेप्का, साइजोलका होटल र तालछेउको रिग्मो गाउँका होमस्टे र होटलले थुप्रै पर्यटक धान्न सक्छन्। खर्च जहाज टिकट र गाडीलाई छोडेर नेपालगञ्जबाट चौध-पन्ध्र हजार रूपैयाँ भए पुग्छ। तर पनि से-फोक्सुण्डो पुग्न चाहिने सबभन्दा ठूलो कुरा मन, इच्छाशक्ति नै रहेछ।
(लेखक उपाध्याय वरिष्ठ अध्यागमन अधिकृत हुन्।)