भेरी अस्पतालमा दुई हप्तादेखि रेबिजविरुद्धको खोप अभाव

काठमाडौं । नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई हप्तादेखि रेबिजविरुद्धको खोपको अभाव भएको छ ।

अस्पतालले निःशुल्क दिँदै आएको रेबिजविरुद्धको खोप सकिएपछि बिरामीले अस्पताल बाहिर महँगोमा खोप किन्न बाध्य भएका छन् ।

प्रदेश आपूर्ति केन्द्र र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा समेत रेबिजविरुद्धको खोप भण्डारण नरहेकाले अभाव भएको बताइएको छ ।

अस्पतालले रेबिजविरुद्धको खोप उपलब्ध गराउन नसकेपछि बिरामीलाई जानकारी गराइसकेको छ । भेरी अस्पतालमा खोप निःशुल्क पाइन्छ भनेर आएका बिरामीले अस्पतालमा खोप नहुँदा बाहिरबाट किनेर लगाइरहेका छन् ।

भेरी अस्पतालमा नयाँ र पुराना गरेर दैनिक एक सय जनाको हाराहारीमा रेबिजविरुद्धको खोप लगाउन आउने गरेका छन् ।

अस्पतालमा निःशुल्क पाइने खोप अस्पताल बाहिर बिरामीले छ सय रुपैयाँ सम्ममा खरिद गर्न बाध्य भएका छन् ।

You May Also Like