हुम्लामा फैलिएको लम्पी स्किनले ८ सय पशु मरे

हुम्ला । हुम्ला जिल्लाभर फैलिएको लम्पी स्किन संक्रमणले ८ सयभन्दा धेरै पशु मरेका छन् । पछिल्लो समय लम्पी स्किन रोग जिल्लाका सबै पालिकामा महामारीको रुपमा फैलिएको छ । महामारीको रुपमा फैलिएको लम्पी स्किन अहिलेसम्म नियन्त्रणमा आउन नसकेको पशु अस्पताल तथा पशु सेवा कार्यालय हुम्लाका निमित्त प्रमुख कृष्णबहादुर रोकायाले बताए ।

जिल्लामा वैशाख पहिलो साताबाट सुरु भएको लम्पी स्किनले जिल्लाका ७ वटा गाउँपालिकाका किसानले पालेका ८ सय ५ गाईगोरु, बाच्छाबाच्छी र भैंसी मरेका छन् । किसानले पालेका ८ हजार ५ सय ७४ गाईगोरु र भैँसी रोगबाट प्रभावित भएको प्रमुख रोकायाले बताए ।

पशु अस्पताल तथा पसु सेवा कार्यालय हुम्लाले गत आइतबार संकलन गरेको तथ्यांक अनुसार जिल्लाका ७ गाउँपालिकामध्ये नाम्खामा १ सय ८९, सिमकोटमा १ हजार ३ सय ४५, खार्पुनाथमा ९ सय ७९, सर्केगाडमा ५ हजार २ सय ३५, चंखेलीमा ६ सय ४०, अदानचुलीमा ६६ र तााजाकोटमा १ सय २० गरी जम्मा ८ हजार ५ सय ७४ गाईगोरु संक्रमित छन् । नाम्खामा ६५, सिमकोटमा १ सय ४१, खार्पुनाथमा १ सय ३३, सर्केगाडमा ४ सय २७, चंखेलीमा २८, अदानचुलीमा ५ र तााजाकोटमा ६ गरी जम्मा ८ सय ५ गाईगोरु र भैँसी मरिसकेका छन् । जसमा ८ सय गाईगोरु र ५ वटा भैँसी रहेका छन् ।

जिल्लामा किसानले पालेका झण्डै ४० हजार गाईगोरुमध्ये लम्पी स्किन रोगकाले कारण २१ प्रतिशत भन्दा बढी गाईवस्तु प्रभावित भएका छन् । खेतीपाती गर्ने समयमा रोगले धमाधम गोरु मर्न थालेपछि किसानहरु चिन्तित भएका छन् । अहिले किसानले खेत जोत्ने गोरु पाउन पनि कठिन भएको खार्पुनाथका स्थानीय किसान मकबिर शाहीले बताए ।

पालिकाबाट आएका पशु प्राविधिकले सामान्य उपचार गरेपनि रोग नियन्त्रण नहुँदा खेतीपाति र रोपाइँको मुखमा आफ्ना २ वटा गोरु मरेकाले खेतीपातिमा समस्या भएको सर्केगाड ४ दुल्लिका अमरसिंह कार्कीले बताए ।

महामारीका कारण मरेका गाईगोरु खाल्डोमा नपुरी जथाभावी फाल्नाले त्यसको असर मान्छेमा पर्ने डर बढ्दै गएको छ । समयमा मरेका गाईगोरुको व्यवस्थापन नहुने हो भने यो रोगले झन ठूलो रुप लिने देखिएको र पालिकाले सामान्य उपचार गरेर ठीक भएका भनिएका गाईगोरु पनि पछिल्लो समय बिरामी परेर फटाफट मर्न थालेको कार्कीले बताए ।

जिल्लाका सबै पालिकामा लम्पी स्किनको महामारीले किसानलाई ठूलो क्षति पुर्‍याएको छ । हुम्लामा रोग नियन्त्रणका लागि भनेर कर्णाली प्रदेश सरकारले पठाएको २ लाख १० हजारको १ हजार डोज खोप र ढुवानीसहित १ लाख ९० हजार बराबरको औषधि खरिद सबै स्थानीय तहलाई पठाएको पशु अस्पताल तथा पशु सेवा कार्यालय हुम्लाका निमित्त प्रमुख कृष्णबहादुर रोकायाले बताए ।

You May Also Like