ट्रेलरमा यस्तो देखियो ‘नीरफूल’

 

काठमाडौँ । आउँदो जेठ २६ गते देशभर रिलिज हुन लागेको फिल्म ‘नीरफूल’ को शुक्रबार ट्रेलर सार्वजनिक गरिएको छ । २०७२ को महाभूकम्प र ‘फ्यामिली मिसिङ’ को कथावस्तु समेटिएको फिल्मको कोरोना–लकडाउनको बेला हलहरू बन्द भएपछि रिलिज रोकिएको थियो ।

दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकी अभिनीत फिल्मको निर्देशन लेखक तथा सञ्चारकर्मी फूलमान वलले गरेका हुन् । युट्युबमार्फत शुक्रबार सार्वजनिक ट्रेलरमा भूकम्पपछि धादिङको रुबी भ्यालीबाट उद्धार गरेर काठमाडौँ ल्याइएकी छोरीको खोजीमा निस्कने एक दम्पतीको सङ्घर्ष देखिन्छ ।

पटकथा लेखक समेत रहेका निर्देशक वलले भूकम्पले भत्काएको मनहरूलाई फिल्म ‘नीरफूल’मार्फत जोड्ने प्रयास गर्न खोजेको बताए । ‘भूकम्पपछि भौतिक पुनर्निर्माण त भयो, तर भत्किएका सम्बन्धहरूको पुर्नर्निमाण अझै बाँकी छ’, उनले विज्ञप्तिमार्फत भने, ‘नीरफूल तिनै भत्किएका सम्बन्धहरूको सानो कथा हो ।’ अभिनेता दयाहाङ राईले स्क्रिप्ट लोभ लागेकै कारण अरु फिल्मको व्यस्तताको बिच ‘नीरफूल’लाई समय निकालेर रुवी भ्याली पुगेको बताए । ‘अन्य फिल्ममा भन्दा निकै फरक भुमिका यो फिल्ममा गरेको छु’, उनले भने ।

‘फिल्ममा समाज आएन, कन्टेन्ट आएन’ भन्ने आरोप नेपाली फिल्मकर्मीलाई लागिरहेको बेला ‘नीरफूल’ले त्यो अभाव पूर्ति गर्ने पनि उनले दाबी गरे । धादिङको रुवीभ्याली, रसुवाको स्याफ्रुबेसीसँगै काठमाडौँमा खिचिएको फिल्ममा अभिनेत्री रेखा थापा विशेष भूमिकामा छिन् ।

सचिन घिमिरे एशोसियट निर्देशक रहेको फिल्म प्रमोद कार्कीले खिचेका हुन् भने निमेष श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको सङ्गीत रहेको छ ।

नेपाल–म्यानमार फ्रेन्डसीप काउन्सिलसँगको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्ममा पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबालगायतको समेत अभिनय रहेको छ । सोनाम डोमा कार्यकारी निर्माता रहेको फिल्ममा निर्माताको रुपमा कतारबाट माया केसी, बेलायतबाट दीपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिनेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन् ।

You May Also Like