

वीरेन्द्रनगर नगर अस्पतालमा कार्यरत सिनियर अनमी पर्मिला विसीले ६ महिनादेखि तलब नपाएको गुनासो गरिन् । उनी २०७८ वैशाख–१ गते दैलेखको भैरवी गाउँपालिका अन्तर्गतको कुसापानी स्वास्थ्यचौकीबाट काज सरुवामा आएकी हुन् । भोको पेट काम गर्न नसकिने भन्दै उनले सरकारले आफूहरूलाई बेवास्ता गरेको बताइन् । उनले भनिन्, ‘सरकारले पैसा नपठाउँदा विना पारिश्रमिक काम गर्न परिरहेको छ । धेरै पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान भएन । अब दबाबमुलक कार्यक्रम गर्ने तयारी गरेका छौँ ।’ आफूहरूको समस्यामा नगरपालिका समेत बेखबर बनेको उनको भनाइ छ ।
नगर अस्पतालमै कार्यरत अर्की सिनियर अनमी निशा रिजालले सरकारले समयमै तलबउपलब्ध नगरे दबाबमुलक कार्यक्रम गर्ने बताइन् । उनी २०७८ वैशाखमा दैलेखको गुराँस गाउँपालिकाको गोगनपानी स्वास्थ्यचौकीबाट काजमा आएकी हुन् । गत मंसिरदेखि तलब खान नपाउँदा घरखर्च चलाउन समस्या भएको उनले बताइन् । रिजाल भन्छिन्, ‘हामीले पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदै आएका छौँ । समयमै सरकारले तलब नपठाएर आफूहरूलाई अन्याय गरेको छ ।’ नगरपालिकाले गरेको आवेदनका आधारमा नै आफूहरू काज सरुवा भएर आएको भन्दै उनले नगरपालिकाले समेत आफूहरूलाई बोझको रूपमा लिएको बताइन् ।

वीरेन्द्रनगर नगरपालिकाका ९० जना निजामति स्वास्थ्यकर्मीले ६ महिनादेखि तलब भत्ता पाउन सकेका छैनन् । नगरपालिकामा स्वास्थ्यतर्फको दरबन्दी ३८ जना भएकोमा ५२ जना स्वास्थ्यकर्मीले काजका काम गर्दै आएका छन् । अन्य जिल्लाका विभिन्न स्थान र सुर्खेत जिल्लाका अरु पालिकाबाट कर्मचारी काज सरुवामा आएका हुन् । गत मंसिरदेखि दरबन्दी र काजका कर्मचारीले तलब खान पाएका छैनन् ।
नेपाल सरकारले नै कर्मचारीको तलब नपठाउँदा कर्मचारी समस्यामा परेको वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले बताइन् । उनले भनिन्, ‘उहाँहरू निजामति कर्मचारीहरू हुनुहुन्छ । नेपाल सरकारले नै तलब नपठाएकाले समयमा नै तलब खान नपाउनु भएको हो । यो समस्या नगरपालिकाको होइन ।’ नगरपालिकामा आवश्यकता भन्दा बढी कर्मचारी हुँदा बेला–बेला यस्ता समस्या आउने गरेको उनको भनाइ छ । उनका अनुसार कर्मचारीको संगठन संरचना ९ओएनएम० मार्फत कर्मचारी व्यवस्थापनमा लाग्ने उनले बताइन् ।

छरपष्ट कर्मचारी हुँदा कार्यसम्पादन सकस
छरपष्ट कर्मचारी हुँदा कार्यसम्पादन सकस भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले बताए । नगरपालिकामा हाल स्थायी र करार गरी तीन सय ५५ जना कर्मचारी कार्यरत छन् । धेरै कर्मचारी हुँदा उनीहरूको व्यवस्थापनमा सकस भएको उनले बताए । नगरपालिकामा स्वास्थ्यमा ३८ जना कर्मचारीको दरबन्दी छ । काजमा स्थायी कर्मचारी ५२ जना कार्यरत छन् । स्वास्थ्यका कर्मचारी आफ्नो दरबन्दीमा जान नमान्दा व्यवस्थापनमा सकस भएको उनले बताए । उनले भने, ‘सरकारले उहाँहरूको तलब ६ महिनादेखि नगरपालिकामा पठाएको छैन । उहाँहरू आफ्नो दरबन्दीमा जान मान्नु हुँदैन ।’
नगरपालिकामा कर्मचारीहरूको संगठन तथा संरचना व्यवस्थापन ९ओएनएम० अझै बनेको छैन । ओएनएम नबन्दा कर्मचारी कसरी व्यवस्थापनमा सकस भइरहेको छ । नगरपालिकाको ओएनएम निर्माणको काम अन्तिम चरणमा पुगेको प्रशासकीय अधिकृत डाँगी बताउँछन् । उनले भने, ‘नगरपालिकामा कर्मचारीको चाप धेरै छ । संगठन संरचना नबन्दा थप समस्या भएको छ ।’ – यो समाचार साझा बिसौनी दैनिकमा प्रकाशित भएको छ ।