नक्कली भुटानी शरणार्थी प्रकरणको सही ढंगबाट छानबिन हुनुपर्छ: बाबुराम भट्टराई

मकवानपुर । पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले पछिल्लो समय देशमा देखिएको नक्कली भुटानी शरणार्थी प्रकरणको सही ढंगबाट छानबिन गर्नुपर्नेमा जोड दिएका छन् । संवैधानिक निकायहरुलाई सबल नबनाएसम्म ती प्रकरणहरु तार्किक निष्कर्षमा पुग्न नसक्ने उनको दाबी छ ।

आइतबार हेटौंडामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष भट्टराईले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि विकास निर्माणको काम तीब्र गतिमा हुन नसक्दा आर्थिक संकटहरु देखापरेको बताए ।

पछिल्लो समय बदलिँदो परिवेशमा वैकल्पिक शक्ति निर्माण गरेर सुशासन सम्बन्धी जनताका आकांक्षाहरु पूरा गर्न सक्नुपर्ने उनको भनाइ छ । ‘जनतामा निराशा पैदा भएको छ,’ उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि विकास निर्माणका काम तीब्र गतिमा हुन नसक्दा पछिल्लो समय देशमा राजनीतिक तथा आर्थिक संकटहरु देखा परेको छ । आगामी दिनमा वैकल्पिक शक्तिहरु निर्माण गरेर सुशासन सम्बन्धी जनताका अपेक्षाहरु पूरा गर्न सक्नु पर्छ ।’

राजनीतिक दलहरुले विगतमा व्यवस्था परिवर्तनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र वर्तमान समयमा जनताका अवस्था परिवर्तनमा भएको ढिलाईलाई सम्बोधन गर्न अग्रगामी योजना कार्यान्वयन गरी जनताका समस्याहरु समाधान गर्नुपर्ने उनको भनाइ छ ।

अन्यथा जनताका असन्तुष्टि जायज हुने र विकल्प दिनेहरुले अग्रगामी, लोकतान्त्रिक परिवर्तनकारी विकल्प दिन नसक्दा प्रतिगामी शक्तिहरु सक्रिय हुने डा भट्टराईले बताए । गलत नियत राख्ने शक्तिहरु हावी हुँदा देश अझ संकटमा फस्दै जाने उनले प्रस्ट पारे ।

‘हामी देश संकटमा छ भन्छौं । तर, हामी सधैँ संकटमै छौ नि १ विश्वको सबैभन्दा गरिब देशमा नेपाल पनि पर्छ । कम आर्थिक वृद्धिदर भएको देशमा हामी पर्छौं, सबैभन्दा बढी श्रम विदेश पलायन भएको देशमा हामी पर्छौं,’ उनले भने, ‘यो संकट लामो समयदेखि देशमा रहँदै आएको छ । यसको समाधानमा हामी सबै लाग्नु पर्छ ।’

वर्तमान संकटको समाधान समान्य ढंगबाट नहुने डा। भट्टराई बताउँछन् । उनले भने, ‘अहिलेको संकटको समाधानका लागि संरचनागत र संस्थागत सुधार आवश्यक छ । टालटुले काम गरेर अहिलेको संकट समाधान हुने देखिँदैन । हाम्रो निरपेक्ष अर्थतन्त्र कसरी धान्ने भन्ने विषयमा ध्यान जानु पर्छ ।’

देशबाट ठुलो मात्रामा श्रम पलायन हुँदा ठुलो भारतीय अर्थतन्त्रसँग देशको उद्योगधन्दाहरुले प्रतिस्पर्धा गर्न नसकेको अवस्थामा पछिल्लो समय कृषि क्षेत्र पनि त्यसको सिकार बनेको डा। भट्टराईले बताए । उक्त समस्याको समाधान आन्तरिक र बाह्य रुपमा पनि सबै मिलेर खोज्नु पर्ने अवस्था आएको उनको भनाइ छ । अहिलेको संकटको समाधान सबै मिलेर गर्न नसकेको खण्डमा देश अँध्यारो सुरुङमा फस्ने उनले बताए ।

त्यस्तै प्रदेश सरकारका क्षेत्राधिकारमा संघको हस्तक्षेपले संघीयतालाई कमजोर बनाउने उनले बताए । उनले संविधानले दिएको अधिकार अनुसार प्रदेश सरकारहरु सञ्चालन हुनुपर्ने र यसमा संघले हस्तक्षेप गर्न नहुने बताए ।

You May Also Like