कर्णालीलाई प्राथमिकता दिन १४ सांसदहरुको प्रधानमन्त्री समक्ष माग

RemasterDirector_18da6b0cf

काठमाडौं । सङ्घीय संसदमा कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने १४ सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयुक्तरुपमा योजना पेस गर्दै आगामी बजेटमा कर्णालीलाई प्राथमिकता दिन माग गरेका छन् ।

हिजो (शनिबार) पनि कर्णाली प्रदेश नेपालको जनगणना २०७८ को तथ्याङ्कअनुसार निरपेक्ष गरिबी २८।९ प्रतिशत रहेको र वार्षिक प्रतिव्यक्ति आय मात्र ९४४ अमेरिकन डलर रहेको उल्लेख गर्दै ज्ञापनपत्रमा नेपालको अन्य प्रदेशहरूको तुलनामा समग्र विकासको हिसाबले हेर्दा कर्णाली प्रदेश अझै पनि निकै पछाडि रहेको एक मात्र प्रदेश भएको उल्लेख छ ।

कर्णाली विकासका लागि दीर्घकालीन महत्त्वका योजनामा कृषि उत्पादन र रोजगारी वृद्धिलाई जोड दिइएको छ । जसअनुसार कर्णाली प्रदेशको कृषि उत्पादन जडीबुटी र लघु उद्योगहरूलाई व्यापक र व्यवस्थित गर्न कर्णाली लघुवित्त बैङ्कको स्थापनाका साथै सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन नीतिगत निर्णय गर्न आग्रह गर्दै कर्णालीको गरिबी र बेरोजगार समेतलाई न्यूनीकरण गरी प्रतिव्यक्ति आय समेत वृद्धि गर्न कर्णाली स्वरोजगार एवम् गरिबी न्यूनीकरणका लागि विशेष कार्यक्रम अभियान सञ्चालन गर्न पाँच अर्ब बजेट माग गरिएको छ ।

कर्णाली प्रदेशका सबै माविहरूको भौतिक पूर्वाधारका साथै डिजिटल बोर्ड लगायतको प्रविधि पूर्वाधार व्यवस्थापन गरी गुणस्तरीय शिक्षा प्रदान गर्न डिजिटल शिक्षण सञ्चालन गर्न आवश्यक बजेट माग गरिएको छ भने स्वस्थ जनशक्ति निर्माण गर्न जिल्ला, पालिका, वडा अस्पतालको पूर्वाधार र जनशक्ति व्यवस्थापन गर्न बजेट पठाउन आग्रह गरिएको छ ।

कर्णाली नदी र भेरी नदी तटीय क्षेत्र मुख्य गरी राकम, भरीगंगा उपत्यका कुदूँ, रिम्ना, चाईनाबगर, राडिज्यूला, दुनैलाई नमुनाको आधुनिक सहर विकासका लागि योजना र सहर तारा क्षेत्रमा रहरी विकासका लागि योजना कार्यान्वयन पूर्वाधार गर्न बजेट गर्दै कर्णालीका सांसदहरूले कर्णाली पर्यटनको ठूलो सम्भावनालाई उपयोग गर्न धार्मिक पर्यटनको केन्द्रको रूपमा लिमी भ्यालीलाई विकास गरी मानसरोवर कैलाश दर्शनद्वारको रूपमा अगाडि बढाउन माग गरेका छन् ।

त्यसैगरी, से–फोक्सुण्डो, सरहतारा, उच्च मानव बस्ती हिमाल, ताल, जैविक विविधता र सिँजा सभ्यता संस्कृति समेतको सही सदुपयोग गरी पर्यटकहरूलाई आकर्षित गर्न आवश्यक पूर्वाधार तयार पार्ने आवश्यक बजेट पनि माग गरिएको छ ।

कर्णाली जैविक विविधता जडीबुटीसमेतलाई मध्यनजर गरी व्यावसायिक जडीबुटी खेतीका साथै प्रदेश केन्द्रमा बृहत् जडीबुटी अनुसन्धान तथा प्रशोधन केन्द्र स्थापना गर्न ज्ञापनपत्र माग गरिएको छ । कर्णालीको जलश्रोतको उपयोग गर्न सरकारी निजी क्षेत्रको लगानीको व्यवस्थापनका साथै भेरी डाइभर्सनमा बन्ने जलविद्युतको ५० प्रतिशत शेयर कर्णाली प्रदेशको सरकारलाई दिन, दैलेखमा पेट्रोलियम उत्खनन कार्य शीघ्र रूपमा अगाडि बढाउन माग गरिएको छ ।

साथै कर्णालीको वायु सेवालाई विस्तार गर्न प्रस्तावित प्रादेशिक एयरपोर्टको निर्माण कार्य शीघ्र रूपमा अगाडि बढाउने र सुर्खेत एयरपोर्ट, चौरजहारी एयरपोर्ट, जुम्ला एयरपोर्टको स्तरोन्नतिका साथै हुम्लामा नयाँ एयरपोर्टको सम्भाव्यता अध्ययन गर्न पनि ज्ञापनपत्र माग गरिएको छ ।

कर्णाली, ठूलीभेरी र सानीभेरी नदी तटीय क्षेत्रलाई राष्ट्रिय नदी नियन्त्रण आयोजना कार्यक्रममा समावेश गर्न पाँच अर्ब बजेट व्यवस्था माग गरिएको छ । त्यस्तै, भेरी कोरिडोर डाईर्भसन सिँचाइ विकास आयोजना डी।पी।आर पुनरावलोकन गरी भेरी बबई डाईभसनसँग जोडिएको भेरी नदीको शिर डोल्पा र सिस्नेदेखि अन्तिम भाग तातोपानी बीचको भूभागका भेरी नदीका श्रोत र प्रभावित क्षेत्रका जनतालाई सिँचाइ सडक विद्युतीकरण खानेपानी उपलब्ध गराउने गरी आयोजना निर्माण गर्न पनि कर्णाली सांसदहरूले प्रधानमन्त्रीसँग माग गरेका छन् ।

कर्णालीको रैथाने बाली संरक्षण उत्पादनका साथै कर्णालीमा गुणस्तरीय स्याउ, किवी, ओखर सुन्तला लगायतको बृहत् स्तरमा उत्पादन गर्न विशेष पकड क्षेत्रहरूको नीति योजना कार्यान्वयनका लागि बजेट व्यवस्था गर्न आग्रह पनि उनीहरूले गरेका छन् ।

कर्णालीका सांसदहरूले भौतिक निर्माणको रूपमा कर्णाली कोरिडोर स्तरोन्नति कालोपत्रे दुई लेनका लागि आवश्यक बजेट, कर्णाली राजमार्ग रारा गमगढी नाम्चे लाग्ना सडक कालोपत्रे, भेरी कोरीडोर उपल्लो डोल्पा धोसम्म कालोपत्रे तथा नयाँ ट्र्याक, राप्ती लोकमार्ग अमिलिया सल्यान सडक खण्ड स्तरोन्नति, राप्ती लोकमार्ग रुकुम खौला छरेबगर भेरी कोरिडोरसम्म स्तरोन्नति, सिमिकोट लिमि सडक कालोपत्रे गर्न माग गरेका छन् ।

ज्ञापनपत्रमा जाजरकोट टोप्लाघकुडारी (टनेल) जुम्ला खण्डको बाँकी भागको निर्माण, मदन भण्डारी बोटेचौर सुर्खेत पश्चिम खण्डको बाँकी भाग, सुर्खेत पन्चकोशी सिंजा मानसरोवर सडक, सुर्खेत रिङरोड निर्माण, मध्यपहाडीको छिबाङ दार्माकोट सल्यान खंलगा बालुवा ढकेरी बाँके, रिम्ना सोलाबाङ झुलखेत कामीगाउँ तातोपानी घर्तीगाँउ रोल्पा, रामारोसन रुप्सा कोटबार रासकोट लैकु, हिल्सा सिमिकोट सडक कालोपत्रे, मान्मा कोडबाडा केबलकार यातायात, सुर्खेत दैलेख महाबु जुम्ला सडक, भेरी कोरिडोरअन्तर्गत जाजरकोट दुनै मरिम तिन्जे धो सडक स्तरोन्नति, डोल्पा मुस्ताङलगायतका सडक योजना उल्लेख छ ।

यसैगरी, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भौतिक पूर्वाधार निर्माण, सुर्खेतमा रहेको मेडिकल कलेजलाई सञ्चालनका लागि बजेट व्यवस्था, कणाली राकमा १०० बेटको टर्अमा सेन्टर साथै अस्पताल निर्माणका लागि बजेट व्यवस्था गर्न माग गरिएको छ भने सिंजा सभ्यता खस संग्रालय प्रतिष्ठान निर्माण गर्न पनि आग्रह गरिएको छ ।

यसरी योजना पेस गर्ने सांसदहरूमा जनार्दन शर्मा (प्रभाकर), हृदयराम थानी, दिक्पालकुमार शाही, महेन्द्रबहादुर शाही, अमरबहादुर थापा, कान्तिका सेजुवाल, मैना कार्की, धनबहादुर बुढा, ऐनबहादुर शाही, सिताकुमारी राणा, सूर्यकुमारी श्रेष्ठ, छिरिङ डम्डुल लामा भोटे, कल्पना मियाँ र चन्द्रबहादुर विश्वकर्मा रहेका छन् ।

You May Also Like