हार स्वीकार्दै भट्टराईले मतदातालाई भने: आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ

तनहुँ । तनहुँ क्षेत्र नम्बर २ का उम्मेदवार गोविन्द भट्टराईले मतगणनाको अन्तिम नतिजा नआउँदै हार स्वीकार गरेको आशयसहितको अभिव्यक्ति दिएका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा मतदातालाई धन्यावाद दिँदै लेखेका छन्, ‘सायद मेरो तपाईंप्रतिको विश्वास पूरा गर्न आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ, यसले मलाई तपाईंको विश्वासयोग्य बनाउन अझ प्रयास गर्नुपर्ने पृष्ठपोषण गरेको छ। तपाईंहरूको जनादेशलाई शिरोपर गर्ने प्रतिवद्दता व्यक्त गर्दछु।’

उनले पार्टीले दिएको जिम्मेवारी बहन गरेर आफू चुनावी मैदानमा उत्रेको र सोही अनुसार मतदाताबाट साथ पनि पाएको उल्लेख गर्दै धन्यवाद व्यक्त गरेका छन्।

‘ठूला आदर्शभन्दा तपाईंको व्यवहारिक समस्या समाधानलाई आदर्श मानेर बीपीको समाजवादबाट प्रेरित भएर चार दशक लामो यात्राका क्रममा तपाईंसँग रहेको हुँ। यसक्रममा पार्टीले मलाई विश्वास गरेर तनहुँ १ को उप निर्वाचनमा उम्मेदवार बनाउँदा तपाईंसँगको निकटताका आधारमा जुन आत्मविश्वासका साथ मैदानमा उत्रिएँ, मैले साथ पनि पाएँ,’ उनले लेखेका छन्, ‘मलाई विश्वास गरेर सधैं सकारात्मक प्रतिक्रिया र उत्साह दिएर मप्रतिको विश्वास मतमार्फत प्रकट गर्नुहुने तपाईं सबैप्रति आभार प्रकट गर्दछु।’

भट्टराई यस्तो अभिव्यक्ति व्यक्त गरिरहँदा तनहुँ-२ को मतगणना भने जारी छ। पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले उनीभन्दा धेरै फराकिलो मतान्तरले अघि रहेका छन्।

वाग्लेले २५ हजार १४१ मत प्राप्त गर्दा भट्टराईले १४ हजार ४६२ मत पाएका छन्। कुल ६३ हजार ७५७ मत खसेकोमा ४८ हजार २६२ मत गणना भइसकेको छ।

You May Also Like