स्थानीय तह निर्वाचन : गठबन्धनले महानगर र उपमहानगरमा वैशाख ५ सम्म उम्मेद्वार टुङ्गो लगाउने

रारा सञ्चार,
काठमाडौं, ४ वैशाख ।

सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरबारे सोमबारसम्म उम्मेद्वार टुङ्गो लगाउने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा भएको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले बाँकी सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे कार्यदलको रिपोर्ट पनि भोलिसम्म लिने निर्णय गरेको छ ।

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा केही पालिकाहरुमा उम्मेदवारीको विषयमा समस्या देखिन थालेपछि गठबन्धनका शीर्ष नेताबीच उम्मेदवार टुंग्याउने सहमति भएको हो ।

त्यसैगरी शीर्ष नेताबीच बाँकी सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे कार्यदलको रिपोर्ट लिने निर्णय पनि भएको छ । उक्त छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) बाट अध्यक्ष उपेन्द्र यादवसहित शीर्ष नेता सहभागी थिए ।

पछिल्ला दिन चितवनको भरतपुर महानगरपालिका, कञ्चनपुर जिल्लामा कांग्रेसका नेताहरुले नै गठबन्धन स्वीकार्न नसकिने भन्दै विज्ञप्ति जारी गरेपछि गठबन्धनका शीर्ष नेतृत्वबीच छलफल भएको हो । यसअघि कांग्रेससहितको सत्ता गठबन्धन र राष्ट्रिय जनमोर्चाबीच आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने सहमति कार्यान्वयनमा जटिलता देखिएपछि त्यसको समाधानको लागि प्रचण्ड र नेता नेपालले देउवासँग छुट्टाछुट्टै छलफल गरेका थिए ।

You May Also Like