सडक सञ्जालमा यसरी जोडिदैछ डोल्पा (७ तस्विरहरु सहित)

डोल्पा : राष्ट्रिय सडक सञ्जालसँग जोडिने डोल्पाको वर्षौंको सपना पूरा हुने भएको छ। अब करिब ३ किलोमिटर सडक निर्माणपछि डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिनेछ। जाजरकोट-दुनै सडकको जम्मा लम्बाइ १ सय १७ दशमलव ७ किलोमिटर छ। अहिलेसम्म १ सय १४ किलोमिटर सडक निर्माण भइसकेको छ।


०७३ भदौ २३ गते डोल्पाको सिमाना त्रिवेणीमा सडक पुर्‍याएको सेनाले जतिसक्दो छिट्टै डोल्पालाई सडक सञ्जालमा जोड्न तीव्र गतिमा काम भइरहेको जनाएको छ। डोल्पा र जाजरकोटको मध्यभागबाट गएको सडक कडा चट्टानले निर्माणमा ढिलाइ भएको हो।

चट्टान फोर्न थालिसकेकाले अब छिट्टै सडक निर्माण सकिने कार्यदलका प्रमुख विश्वबन्धु पहाडीले बताए। ‘अब धेरै समय लाग्दैन’, उनले भने, ‘छिट्टै काम सकिन्छ। त्यसपछि तुरुन्तै सडक खोल्छौं।’ सडक खुलेपछि डोल्पामा विकासको गति बढ्ने र डोल्पालीले आफ्नो जीवनस्तर उकासिने अपेक्षा राखेका छन्।

खच्चड र भरिया लगाएर खाद्यान्नलगायत दैनिक जीवनयापनका सामग्री बोक्नुपर्ने बाध्यताबाट छुट्कारा पाइने आसले स्थानीय खुसी छन्। ‘अब त मोटरले नै सामान बोक्छ’, स्थानीय चन्द्र नेपालीले भने,‘पुर्खौंदेखिको भारी बोक्नुपर्ने बाध्यताबाट मुक्त हुने भइयो। आवतजावत पनि सहज हुने भो।’

०७५ दसैंसम्ममा सडक सुचारु गर्ने योजनासहित सडक निर्माण थालेको सेनाले अहिले त्रिवेणी-सिउरेनी १५ किलोमिटर सडकखण्ड खन्ने काम सकिएको जनाएको छ। यो सडक निर्माणको अन्तिम चरणमा रहेको सेनाले आव २०७४÷०७५ का लागि १५ करोड रुपैयाँमा ठेक्का लिएको थियो। सम्झौता अवधिभित्रै भेरी नदीमा ५ वटा पक्की पुल, अन्य साना खोलामा फलामे पुल र नाली निर्माण गरिने सेनाले जनाएको छ।

यसका लागि स्थानीय तह र केन्द्र सरकारले समेत चासो दिनुपर्ने कार्यदल प्रमुख पहाडीले बताए। उनले भने, ‘पुल निर्माणसम्बन्धमा सबै तह गम्भीर बन्नु आवश्यक छ। समयमा पुल निर्माण नभए फेरि सडक अधुरो हुनसक्छ।’ सबैले चासो लिए राजधानीलगायत देशका अन्य भूभागसँग जोडिने सपना पूरा हुन धेरै समय नलाग्ने उनले बताए। सडक निर्माणले गति लिएपछि जिल्लामा व्यावसायिक लगानी गर्नेको संख्या पनि बढेको छ।

राष्ट्रिय सडकसँग जोडिएपछि आवतजावत मात्र होइन दैनिक उपभोग्य सामग्रीको मूल्य पनि घट्ने आसमा छन् स्थानीय। स्थानीय विवश बुढाले चर्को मूल्य तिरेर जीवन गुजारा चलाउनुपर्ने स्थिति अब नदोहोरिएला भन्दै खुसी व्यक्त गरे। ‘थोरै दिन हो दुःख गर्नुपर्ने’, उनले भने, ‘त्यसपछि भोकमरी र महंगीको पीडा खेप्नु पर्दैन होला।’ डोल्पा सडक सञ्जालमा जोडिने भएपछि नेपाली र बुढाजस्तै सबै डोल्पाली जिल्लाको विकास हुने अपेक्षामा छन्।

सुविधा खोजीमा तराई झरेकाहरू जग्गा खरिद र व्यवसायका लागि फर्किन थालेका छन्। अहिले डोल्पाका आन्तरिक सडकमा १० वटा जिप सञ्चालित छन्। हेलिकोप्टरबाट ओसारिएका जिप अन्य जिल्ला जाने सडक नहुँदा जिल्लाको त्रिपुराकोट-सदरमुकाम दुनै ओहोरदोहोर गर्ने गरेका छन्। गाडी चढेर सहर झर्न जाजरकोट पुग्नुपर्ने डोल्पालीको बाध्यता सडक निर्माणपछि पूरा हुनेछ।

तस्विरः Visit rara lake in Nepal.

शब्द साभारः Image result for annapurnapost

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

You May Also Like