गोपाल जंग थापा
१४ असार, सोमबार
कर्णाली प्रदेशका विभिन्न जिल्लामा बसोबास गर्दै आएका बादी समुदायले आफूहरुको बेवास्ता भएको गुनासो गरेका छन । वर्षौ देखि पछौटपन र गरिबीमा बाच्न बाध्य भएको उनीहरुको दुखेसो छ । विगतका दिनहरुमा जसोतसो गुजारा चलाउदै आएका उनहिरु विगत डेढ वर्षदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण थप समस्यामा परेका हुन । कोरोना भाइरसको जोखिम बढ्दै जाँदा अरुको काम गरेर गुजारा चलाउदै आएका उनीहरु ज्याला मजदुरीमा जान पाएका छैनन । नाच्ने, गाउने र मादल बनाउने वर्षौ देखिको पुख्यौली पेशाबाट अब बाँच्न सक्ने अवस्था नरहेको उनीहरुको भनाई छ ।
पहिले पहिले बाउ बाजेले मादल बेचेर गित गाउदै अरुलाई मनोरञ्जन दिएर जीवन चलाए पनि अचेल आधुनिक बाजाको विकाससंगै अब बादी समुदाय पुख्र्यौली पेशाले धान्नै नसक्ने स्थितिमा पुगेको छ । पछिल्लो समय बादी समुदायका युवाहरु रोजगारीका लागि भारतका विभिन्न शहरमा जाने गरेका थिए । तर भारतमा रोजगारी गर्नेहरु पनि कोरोनाका कारण गाउँमै फर्किए पछि बिहान र साँझको छाक टार्नै धौधौ परीरहेको दैलेखको आठबीस नगरपालिका वडा नम्बर १ रामागाडका स्थानिय अगुवा धिरेन वादी बताउँछन ।
गाउँघरमा पनि काम नपाइने र कर्णाली नदीमा माछा मारेर खान सक्ने अवस्था छैन । माछा पनि पाइदैन, वर्खे भेलमा त झन माछा मार्नै सकिदैन । गाउँमा कतै काम पनि पाइदैन । केहि गर्ने वातावरण पनि छैन । धिरेनले गुनासो गर्दै भने अर्कोतिर हामीहरुसंग पैसा पनि छैन । त्यसैले सदियौदेखि पिछडिएका बादी समुदायको हितका लागि पनि सरकारले विशेष कार्यक्रम ल्याएर सहयोग गर्नु पर्यो उनले भने । रामागाड र कर्णाली नदी किनारमा विगत लामो समयदेखि कर्णाली नदीको माछामा आश्रित भएर बादी समुदायका बासिन्दाहरु बाँचि रहेका छन ।
लामो समयदेखि आफूहरुले समस्या भोगिरहेको भए पनि कसैले पनि सुनुवाई नगरेको स्थानिय अगुवा धिरेन बादीले बताए । हामीले स्थानिय सरकारलाई बारम्बार आफूहरुका पिडा सुनाउदा समेत आश्वासन बाहेक अरु केहि पाउन सकेनौ । हाल देशमा तीन तहका सरकार भएर पनि राज्यको मूलधारबाट टाढा रहेका कर्णालीका बादीहरुले पाउनुपर्ने सेवा, सुविधाबाट बन्चित गरिनु दुभाग्र्यपूर्ण भएको उनले उल्लेख गरे । धिरेन बादीले आफूहरुसंग गरी खाने जग्गा जमिन नहुदा कर्णाली र रामागाडको नदी किनारमा जोखिम मोलेर बस्दै आएकाले सुरक्षित बासस्थान सहितको पुर्नस्थापना गरि दिनका लागि सरोकारवाला पक्षलाई आग्रह समेत गरे ।



