गजल

धर्मानन्द भट्ट (कंचनपुर)
छ सत्ता उसैको छ हाली मुहाली।
छ जो मस्त फुक्का फटाहा र जाली।

छ भोकाहरू को भएको बिचल्ली,
न खाने कुरा भो छ यो पेट खाली।

न देखिन्छ ऊर्जा न चम्किन्छ मुद्रा,
कि रोगी भयौ खै नपाएर ताली।

न उस्ले भनेको न तिम्ले सुनेछौ।
न मै आउने हो बजाएर झ्याली।

नसोच्नू कुनै काम पाए भने झैँ,
उसैको छ मौका छ भान्जा र साली।

भयो के अनौठो भनी बुझ्नु मैले,
र देखेँ सुके झैँ छ यो फूल डाली।

You May Also Like