सुनील प्रजापतिजस्ता पो मेयर !

उनले दिउँसो १२ बजेको समय दिएका थिए।

हामी दस मिनेट पहिल्यै पुग्यौं।

बाह्र बज्न पाँच मिनेट बाँकी थियो। भक्तपुर नगरपालिका मेयर सुनील प्रजापति हातमा झोला बोकेर कार्यालय आइपुगे।

हामीलाई हेर्दै मुसुक्क हाँसे र आफ्नो कोठामा छिरे।

लगत्तै रिसेप्सनका कर्मचारीले हामीलाई बैठकमा लगे। भर्खरै बनेको नयाँ कोठामा सबथोक नयाँ थिए, झ्यालबाहेक। झ्याल भने परम्परागत डिजाइनका थिए, सँझ्याः।

भित्ताको डिजिटल घडीमा ११:५९ भएको थियो।

जसरी उनी समयमै कार्यालय आए, लाग्यो घडीमा १२ बज्नेबित्तिकै बैठकभित्र छिर्नेछन्।

उनी आएनन्।

१२:०४ भयो।

प्रजापति घरक्क ढोका खोल्दै भित्र छिरे, ‘सरी, चार मिनेट ढिलो भएँ है।’

चार मिनेटको पनि हिसाब नबिराएका उनी एक्लै आएका थिएनन्। साथमा थिए, कार्यालय प्रशासन प्रमुख अम्बिका धौभडेल र इञ्जिनियर रामगोविन्द श्रेष्ठ। तीनै जनाको हातमा डायरी थियो, कलम थियो र केही कागजात थिए।

उनीहरूलाई पछ्याउँदै एक कर्मचारी पनि छिरे, क्यामरा बोकेर। मेयरसँग हाम्रो भेटका तस्बिर खिचे।

औपचारिक कुराकानी सुरु भयो। हामीले प्रश्न सोध्न थाल्यौं।

जवाफ टिप्ने हामी मात्र थिएनौं। इञ्जिनियर श्रेष्ठ र प्रशासन प्रमुख धौभडेल पनि मेयरले बोलेका कुरा टिप्दै थिए।

पछि हामीले सोध्यौं, ‘यो कुराकानी किन नोट गर्दै हुनुहुन्छ?’

‘यो अफिसियल रेकर्ड र मेरो व्यक्तिगत प्रयोजनका लागि हो,’ प्रजापतिले भने, ‘आज तपाईंहरूसँग के–के कुराकानी भयो, मैले कुन विषयमा के बोलेँ, उहाँहरू सबै टिपेर दुइटा प्रति तयार पार्नुहुन्छ। एउटा अफिसियल रेकर्डमा रहन्छ, अर्को मसँग ‘फाइलिङ’ हुन्छ।’

‘मैले बोलेका कुरा महानगरको रेकर्डमा रहे भोलि अरू कर्मचारी र जनप्रतिनिधिलाई काम लाग्छ,’ उनले भने।

नोट टिपाउनुको मनसाय यति मात्र थिएन।

‘कुनै दिन तपाईंहरू फेरि आउनु होला, आज के–के सोध्नुभयो, मैले के–के भनेँ, यो रेकर्डमा सर्रर पढेपछि मलाई पनि ‘रिफ्रेस’ हुन्छ नि!’

यही उद्देश्यले हो, उनी कार्यालयमा भेट्न आउने कसैसँग एक्लै कुराकानी गर्दैनन्। साथमा सम्बन्धित विषयका कर्मचारी राख्छन्। कुराकानी टिपोट गर्ने पनि हुन्छन्।

यो भक्तपुर नगरपालिकाको नियमै हो। मेयर प्रजापतिले आफू निर्वाचित भएर आएपछि बनाएको।

प्रजापति यही स्थानीय चुनावमा प्रतिस्पर्धीभन्दा झन्डै पाँच गुणा बढी मत ल्याएर निर्वाचित भएका हुन्। नेपाल मजदुर किसान पार्टीका उनी यसअघि २०४४, ०४९ र ०५४ मा लगातार तीनपटक वडा नम्बर २ का अध्यक्ष थिए।

उनी वकिल हुन्। चार वर्ष पढाए पनि। खेतीपाती र माटाका भाँडा बनाउनु उनको पुर्ख्यौली पेसा हो।

र, अहिले सहर बनाउँदैछन्।

यसमा व्यवस्थित नयाँ बस्ती विकासदेखि २०७२ को भुइँचालोले भत्किएका सम्पदा पुनर्निर्माणसम्म पर्छन्। भक्तपुर दरबार स्क्वायर क्षेत्र प्रवेश गर्नेबित्तिकै जोडतोडले पुनर्निर्माण भइरहेका देखिन्छन्। कहीँ भत्किएका मन्दिर ठडिँदैछन् त कहीँ बाटोको पुरानो इँटा उखेलेर ढुंगा छापिँदैछ।

यता राजधानीको काठमाडौं महानगरपालिकामा पुनर्निर्माण लगभग निस्तेजै छ। रानीपोखरीको पुरातात्विक महत्व बिगारेको भन्दै काठमाडौं मेयर आलोचित छन्। जम्मा १० किलोमिटर दुरीको भक्तपुरमा भने मेयर आफैं सम्पदा संरक्षणमा गम्भीर देखिए।

उनले जथाभाबी काम गरेको भन्दै तीनचोटि ठेकेदार बोलाएर कामै रोकिदिएका थिए। एकचोटि त ठेकेदारले हालेको नयाँ ढुंगा चित्त बुझेन। भारतको राजस्थानबाट ल्याएको भनिएका ती ढुंगा कमसल थिए। भक्तपुरको पुरातात्विक सम्पदासँग बिल्कुलै बाझिने।

सुन्नेबित्तिकै प्रजापति आफैं निरीक्षणमा गए।

ठेकेदारलाई कार्यालयमा डाके र भने, ‘यस्तो पाराले हुँदैन। एउटा कुरा याद राख्नुस्, तपाईं अरू ठाउँ होइन, भक्तपुरमा काम गर्दै हुनुहुन्छ। यहाँ लरतरो पाराले चल्दैन। तपाईंले नगरपालिकाका कुनै कर्मचारीलाई एक पैसा खुवाउनुपर्दैन। पर्यो भने सिधा मकहाँ आउनू। कामको गुणस्तरमा भने सम्झौता हुँदैन। आइन्दा यस्तो भए म ठेक्कै रद्द गर्दिन्छु।’

मेयरकै मुखबाट चेतावनी सुनेपछि ठेकेदारले दोलखाबाट ल्याएको नयाँ ढुंगा हालेका छन्।

प्रजापतिलाई प्राचीन सभ्यतासँग जोडिएका पुरातात्विक सम्पदाका काम ठेक्कामा लगाएकै चित्त बुझेको छैन। स्थानीय सहभागिता र जनप्रतिनिधिको निगरानीमा हुनुपर्ने उनको भनाइ छ। त्यही भएर अचेल उनको निगरानी बढेको छ। काम भइरहेका ठाउँमा नियमित गइरहन्छन्। आफू नभ्याउँदा कर्मचारी पठाउँछन्।

दरबार स्क्वायरको वत्सला मन्दिर’bout जानकारी दिँदै उनले भने, ‘तपाईंले वत्सला मन्दिरको काम देख्नुभयो? त्यहाँ गुणस्तरीय ढुंगा प्रयोग गरिएका छन्। हिजो हामी गएका थियौं। सिपालु कालिगढ रहेछन्, राम्रो काम भइरहेको छ।’

भक्तपुर मेयरले ठेकेदार प्रयोगका हानि–नोक्सानी पनि सुनाए। उनको अनुभव काष्ठमण्डप पुनर्निर्माणमा पाठ हुनसक्छ। यहाँ ठेकेदार प्रयोग गर्न नदिने भनी स्थानीयले विरोध गरिरहेका छन्।

‘ठेकेदारहरू नाफा मात्र हेर्छन्। सभ्यतालाई मुनाफासँग जोड्नु हुन्न,’ उनले भने, ‘झन् अहिले त हामीलाई मौका छ, सम्पदा संरक्षण गर्ने। हामीले यो अवसर सदुपयोग गरेर पहिलेभन्दा राम्रो बनाउनुपर्छ।’

‘हिजो बनेका संरचना हेरेर आज हामी गर्व गर्छौं, हाम्रो आजको काम देखेर भावी सन्तानले गर्व गर्न सकून् न,’ उनले भने।

उनी कामको गुणस्तरमा जति टसमस हुन्नन्, प्रक्रियामा उत्तिकै पारदर्शी छन्।

हामीले जारी काम’bout सोध्दा उनले अनुमानित लागत र हालसम्मको खर्च रकम पनि सार्वजनिक गरे। ‘हाम्रा काम पारदर्शी हुन्छन्,’ भने, ‘एक पैसा बजेट हामी लुकाउँदैनौं।’

‘तपाईंहरूलाई पत्रकार भएर मात्र भनेको होइन, हरेक नागरिकलाई यो हिसाब हेर्ने र चित्त नबुझेको प्रश्न गर्ने हक छ।’

त्यही भएर हो, भक्तपुर नगरपालिकाले निर्माण स्थलमै लागतसहित बोर्ड झुन्ड्याएको छ। हरेक महिना प्रकाशित हुने नगर मुखपत्र ‘भक्तपुर’ पत्रिकामा हिसाब सार्वजनिक गरिन्छ।

कुराकानी क्रममा प्रजापतिले दरबार स्क्वायरसहित पुरानो बजार सबैतिर ढुंगा छाप्न लागेको बताए। पूरै बजारक्षेत्र सवारीमुक्त गर्ने योजना पनि सुनाए।

यही मेसोमा कुरा उठ्यो, ‘दरबार स्क्वायरमा शारीरिक अपांगता भएका, वृद्धवृद्धा र केटाकेटी निम्ति विद्युतीय रिक्सा चलाउँदा कसो होला?’

उनले यो योजना तुरुन्तै नोट गरे।

‘हामी भक्तपुर गल्लीमा फोहोर उठाउन तीनपांग्रे रिक्सा चलाउने तयारीमा छौं,’ उनले भने, ‘टेन्डर खोलिसक्यौं। यस्तो सवारी पर्यटकलाई पनि उपयुक्त हुनसक्छ। छलफल गरेर तुरुन्तै कार्यान्वयनमा लगिनेछ।’

बजारका सबै घरको बाहिरी मोहडा सँझ्याःसहित परम्परागत शैलीमै बनाउनुपर्ने उनले जानकारी दिए। लाग्ने खर्चको ३५ प्रतिशत नगरपालिकाले नै बेहोर्ने व्यवस्था गरिएको छ।

‘भक्तपुर उदाहरणीय हुनुपर्छ,’ मेयरले भने, ‘सबै जना हामीले के गर्यौं, कसो गर्यौं भनेर हेर्न आउँछन्। हामीले राम्रो काम गरेर देखाउनुपर्छ।’

भक्तपुर सम्पदा भनेको मठ–मन्दिर, पाटीपौवा र सयौं वर्ष पुराना घर मात्र होइनन्। पुस्तौंदेखि चलिआएका बन्द–बेपार पनि हुन्। तीमध्ये कति दुई सय, तीन सय वर्ष पुराना भइसके। तिनलाई सम्पदाकै कोटीमा राखेर संरक्षण गर्नुपर्ने कुरा उठ्यो।

उनी यी योजना सर्सती डायरीमा नोट गर्दै थिए।

आफ्नो कार्यकालभित्र कस्तो भक्तपुर छाडेर जाने भन्नेमा प्रजापति प्रस्ट छन्। ‘हामी यहाँको परम्परा र सम्पदा जोगाउन चाहन्छौं,’ उनले भने, ‘आज नेपाल आउने सबैजसो पर्यटक एकचोटि भक्तपुर आउँछन्। उनीहरूको बसाइ दुई–तीन घन्टाभन्दा बढी हुँदैन। म कम्तीमा एक रात यहीँ बिताउने माहौल बनोस् भन्ने चाहन्छु।’

यो योजनामा स्थानीय सहभागिता बढाउन वडा–वडाबाट कार्यक्रम माग गरिएको उनले बताए।

‘मैले यस्तो भक्तपुरको सपना देखेको छु, जहाँ चारैतिर पुराना मन्दिर वास्तविक स्वरूपमा ठडिएका होऊन्। साँझ–बिहान दरबार स्क्वायर र अरू डबली, चोकमा परम्परागत नृत्य मञ्चन भइरहेको होस्। चैत्यमा भिक्षुहरू प्रार्थना गरिरहेका होऊन्। मन्दिरमा आरती चलिरहेको होस्। पर्यटक यहाँ आनन्द मानेर समय बिताऊन्। म यस्तै भक्तपुर छाडेर जान चाहन्छु।’

उनको परिकल्पनामा शिक्षा र स्वास्थ्य योजना पनि छन्।

शिशु कक्षादेखि विश्वविद्यालय र हरेक रोगको विशेषज्ञ उपचार पाइने अस्पताल निर्माण उनको लक्ष्य हो। योजनाबद्ध बस्ती विकास त कार्यान्वयनकै चरणमा रहेको उनले सुनाए।

प्रजापतिलाई प्रत्येक दिन बित्दा आफ्नो योजनाको समयसीमा छोट्टिएको भान हुन्छ।

उनी त्यही सीमा छोप्न दौडिरहेका छन्।

सायद त्यसैले, समयप्रति एकदमै पाबन्द छन्।

साभारः Setopati

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

You May Also Like

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ