सुदूरपश्चिममा गौरा पर्व शुरु भएको छ । विशेषगरी डोटी, डडेल्धुरा, वैतडी, दार्चुला, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा गौरा पर्व धेरैले मनाउँछन । शुक्ल पक्षको पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घरघरमा बिरुडा राख्ने चलन छ । घरको एक कोठामा गाईको गोबरले लिपेर तामा र पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाई टीका र अक्षताले सिङ्गारी एवं धुप बत्ती बालेर पञ्च अन्न गहुँ, मास, गहत, गोरस र कलौ भिजाई महेश्वरको आह्वान गरी विरुडा राख्ने गरिन्छ । महिलाले माङ्गलिक गीत गाउँदै गाउँका पँधेरो, खोला र नदीका मुहानमा बिरुडा भिजाउने गर्छन । षष्ठीका दिन पञ्च वनस्पति ९धान, साँउ, तिल, बेल र पाती० को पुत्ला बनाएर पँधेरामा राखी पूजा गर्ने विवाहित महिलाले गौरा पर्वमा व्रत बसी कण्ठसूत्र ९ दुव धागो० धारणा गर्नुपर्ने र पुरुषसरह गायत्री जप गरी भोजन ग्रहण गर्ने प्रचलन छ ।
सप्तमीका दिन महिलाले दिनभरि व्रत बसेर आफ्नो परिवारको सुख, समृद्धि र चिरायुको कामना गर्दै गौरा राख्ने ठाउँमा महेश्वरको पूजा गर्ने परम्परा रहेको छ ।सात गाँठो पारिएको दुबोसहितको कण्ठसूत्र (दुवधागो)पञ्चगव्य अभिषेक गरी गौराको खुट्टामा राखिन्छ ।
अष्टमीका दिन रङ्गीचङ्गी कपडामा सजिएका महिलाले गौरा राख्ने ठाउँमा पञ्च वनस्पतिले बनाइएको गौराको प्रतिमालाई रेशमी कपडाले सिङ्गारेर महेश्वरको प्रतिमासँगै बाहिर ल्याएर आसनमा राखी आठ अध्याय र आठ खण्ड भएको अठेबाली परम्परागत फाग, गौराको गीति कथा गाउँदै पूजा गरेर गौरा र महेश्वरलाई शिरमा राखी नाच्ने गर्दछन् । यसै अवसरमा देउडा खेलेर रमाइलो गरिन्छ । सामूहिक भेला भई गौरा भित्राउने चलन रहे पनि कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण महिलाले घर परिवारका सदस्य मिलेर गौरा भित्राएका छन् । गौरा पर्वको महत्वपूर्ण दिन अष्टमीमा महिलाले बिहानै खोला तलाउमा स्नान गरी घाँसबाट निर्मित गौरा देवीको प्रतिमा र काठको महेश्वरको प्रतिमालाई गौरा घरबाट बाहिर आगनमा ल्याई श्रृङ्गार गरी सगुन गीत गाउँदै टाउकामा राखेर नाच्ने गर्दछन् ।
हिमालयकी छोरी पार्वतीले शिवलाई पति पाउन गौरादेवीको निराहार व्रत बसेको किंवदन्तीका आधारमा गौरा मनाउने गरिएको कथन छ । पार्वतीले शिव पति पाए झैं अविवाहित नारीले शिव जस्तै पति पाउन भनी व्रत बस्ने गर्दछन् ।