२०७० सालमा मतपेटिका नदीमा बगाउने भण्डारीले भने ‘मुख्यमन्त्री बन्ने बाटो खुल्यो’

जुम्ला: जुम्ला प्रदेशसभा ‘क’ मा वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेश भण्डारी विजयी हुनु भएको छ ।

भण्डारीले १२ हजार ५७४ मत ल्याएर विजयी हुनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक मतदान अधिकृत ईन्द्रकुमार खड्काले जानकारी दिनुभयो ।

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा नेपाल राष्ट्रिय बुद्धिजिवी संगठनका केन्द्रीय अध्यक्ष समेत रहनु भएका भण्डारीले चार हजार ३७ मतको अन्तरले जित्नु भएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेद्वार राजुसिंह कठायतले आठ हजार ५३७ मत ल्याउनु भएको छ ।

भण्डारी २०६४ सालको संविधानसभा निर्वाचनमा नेपाली कांगे्रसका दिनबन्धु श्रेष्ठलाई ११ हजार ९१७ मतले पछाडि पार्दै २१ हजार १२७ को भारी मतले विजय हुनु भएको थियो ।

३१ हजार ७१४ मत रहेको प्रदेशसभा (क) मा २३ हजार ६२९ मत खसेको थियो । खसेको कूल मतमा एक हजार ८ मत बदर भएको मुख्य निर्वाचन अधिकृत प्रकाश ढुंगानाले जानकारी दिनुभयो । अधिकृत ढुंगानाले भण्डारी विजयको घोषणा गर्दै कार्यकाल सफलताको कामना गर्नु भएको थियो । यसगरी बेलुका उहाँको विजयको घोषणा हुँदा मध्यरातमा माईनस पाँच डिग्रीमा यलाी समेत निकालिएको थियो ।

मुख्यमन्त्रीको बाटो खुुलेको दाबी

जुम्ला प्रदेशसभा (क) बाट विजयी भण्डारीले प्रदेश नं. ६ को मुख्यमन्त्रीमा आफ्नो उम्मेदवारी बाटो खुलेको बताउनुभएको छ । भण्डारीले नागरिकले आफूलाई जिताएकाले अब कर्णालीको समृद्धि गर्न मुख्यमन्त्रीको आकांक्षी रहेको हुँदा अब बाटो खुलेको पत्रकारहरुलाई बताउनुभयो ।

उहाँले ६ नम्बर प्रदेशको समृद्धिका लागि हाईड्रो पावर योजना, रारा, फोक्सोण्डो मानसरवर यात्रा सहित ६ नम्बर प्रदेशको पर्यटकीय विकासको सर्किट निर्माण गर्ने, जुम्लामा निर्माण भइरहेको १० धारा क्षमताको धौलीघाट खानेपानी योजनालाई पूरा गर्ने, सिंजा सभ्यताको पहिचानमा विकास, सिंजा नाग्म गमगडी नाक्चे लाग्ना हुँदै चीन जोडने सडक, जुम्लालाई गृस्मकालिन राजधानी र सुर्खेतलाई शितकालीन राजधानीको परिकल्पना, ६ नम्बर प्रदेशको विकासमा विशेष विकास दलको गठनगरी अगाडि बढ्ने र ५ वर्षको ठोस योजना बनाई अघि बढ्ने बताउनसभयो ।

भण्डारी २०६४ सालमा संविधानसभामा विजय भएर गएपछि केही राम्रा कामहरुसमेत गरेका कारण जनतामा लोकप्रिय मानिनुहुन्छ ।

६ नं. प्रदेशको स्वास्थ्य क्षेत्रको धरोहर मानिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६८ पारित गराई त्यसको स्थापना भएको छ । कर्णालीका नागरिका लागि रोजगारी अभिवृद्धि गर्न सभासद भएको बेला उहाँले कर्णाली विशेष आर्थिक क्षेत्र, जुम्ला बहुमुखी क्याम्पसमा स्नाकोत्तर पढाई सुरु, कर्णाली प्राविधिक शिक्षालयको स्तरवृद्धि, सिंजा बहुमुखी क्याम्पसको स्थापना, चन्दननाथमा विज्ञान विषय पढाई सुरु, जिल्लामा पक्की पुल निर्माणको कार्य थालनी समेत गर्नु भएको थियो ।

२०७० मा निर्वाचन बहिष्कारमा सफल

२०७० सालमा तत्कालीन वैद्य समूहमा हुँदा निर्वाचन बहिष्कार गरेका भण्डारीले उहाँको नेतृत्वमा त्रिभुवन उच्च मावि झारज्वाला जुम्लाको मतदान केन्द्रबाट मतपेटिका कब्जागरी तिलानदीमा बगाउने घटनाको नेतृत्वगरी चर्चामा आउनु भएको थियो । भण्डारीले चादीको घेरा नामक पुस्तक मार्फत पनि कर्णालीको यथार्थ चित्रण गर्दा थप चर्चामा आउनुभएको थियो ।

 

रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ ।

You May Also Like