‘भारतको नेपाल–नीति गलत थियो, अब सुध्रँदै छ’

भारतीय नाकाबन्दी विरोधमा राज्यसभामा मोदी सरकारको आलोचना गर्नेमध्ये अग्रणीमा पर्थे, मणिशंकर अय्यर । उनले तत्काल नाकाबन्दी खोल्न पनि सत्तापक्षसँग कटाक्ष गरेका थिए, जतिखेर उनी राज्यसभा सदस्य थिए । २०१५ डिसेम्बर ७ मा तीन घण्टाभन्दा बढी चलेको राज्यसभा बहसमा नेपालमा लगाएको नाकाबन्दी’bout १४ सांसदहरुले बोलेका थिए ।

अय्यर, जसले साढे दुई दशकभन्दा बढी समय भारतीय विदेश सेवामा बिताए, त्यसपछि कूटनीतिज्ञ यात्रामा विराम लगाउँदै भारतीय राजनीतिमा होमिएको पनि २६ वर्ष नाघिसकेको छ । उनी राजीव गान्धीलाई सघाउन कूटनीतिबाट राजनीतितिर मोडिएका थिए । नेपाल मामिला राम्रैसँग बुझेका ७६ वर्षीय अय्यर नौ दिनदेखि काठमाडौंमा राजनीतिक भेटघाटमा छन् । त्यही क्रममा कान्तिपुरका चन्द्रशेखर अधिकारीले गरेको कुराकानीको सम्पादित अंश हामीले यहाँ उतारेका छौ :

लामो समयपछि नेपाल आउनुभयो ?
हो, लामै समय भयो । म साढे दुई वर्षअघि १८औं सार्क शिखर सम्मेलनको पूर्वसन्ध्यामा एक कार्यक्रममा सहभागी हुन नेपाल आएको थिएँ । अध्ययन–अनुसन्धानमा लागेको हुनाले यस्ता कार्यक्रममा आउन रुचाउँछु । समय मिल्दा नेपाल आउन मन लाग्छ । सबै समयको व्यवस्थापनमा भर पर्ने कुरा भए । मलाई नेपाल सुन्दर मात्र होइन अपार सम्भावना भएको मुलुक लाग्छ र नेपालीहरू सहृदयी । यसपटक आउँदा प्रधानमन्त्री शेरबहादुर देउवालगायत धेरैसँग भेटघाट भयो ।

के–कस्ता कुराहरू भए ?
नेपालको राजनीतिक स्थायित्व, नेपाल–भारत सम्बन्ध, दक्षिण एसियाली विषय, मधेस मामिला, सम्पन्न निर्वाचन र बुधबार तीन प्रदेशमा हुने निर्वाचन– यस्तै समसामयिक विषयमै छलफल भयो । नेपाल विकासको बाटोमा लम्केको देख्दा खुसी लागेको धारणा मैले राखें । म खासगरी एउटा सामान्य कार्यक्रममा सहभागी हुन आएको थिएँ । छलफल र भेटघाटले मेरो यात्रा राजनीतिकजस्तै भयो ।

संविधान जारी भएपछिको नेपाली राजनीतिलाई कसरी हेर्नुभएको छ ?
दोस्रो संविधानसभाका ९० प्रतिशत जनप्रतिनिधिले पारित गरेको संविधान पक्कै सबल नै छ । नभए पनि त्यो कार्यावन्यनका क्रममा बिस्तारै संशोधन हुँदै सच्याउँदै जाने स्थान संविधानमा रहेकै हुन्छ । भारतको संविधान पनि १ सय २८ पटक संशोधन भएको हो । संविधान जारी हुँदा जुन विषयहरू केही नेताहरूले उठाएका थिए, त्यो अहिले केही सम्बोधन र केही मत्थर हुँदै गएको पाएँ । नेपाल यति बेला राजनीतिक स्थायित्व कायम गर्न लागिपरेको देखिन्छ । दलहरू यसमा बढी नै सचेत छन् । हिमाल, पहाड, तराईबीचको सम्बन्ध जोडिएजस्तो देखिन्छ । तराईका दलहरूले आफ्नो नामबाट मधेस झिक्दै उनीहरू पनि राष्ट्रिय दलकै रूपमा अघि बढेको देख्दा खुसी लागेको छ । जस्तै ‘राजपा–नेपाल’, दलको नाम सुन्दा नै आनन्द आएको छ । लोकतान्त्रिक अभ्यासमा विचार बाझिन्छ र माझिँदै अघि बढ्छ । यो प्रक्रिया हो । यही प्रक्रियामा अडेरै नेपालको विकास हुने देखेको छु ।

  • नेपालले लोकतन्त्रमा आफ्नो परिपक्वता देखाइरहेको छ ।
  • शक्ति मुलुकले सुझाव भन्दै आफ्ना कुरा साना र कमजोर मुलुकमा लाद्न हुँदैन ।
  • भारतीय खुफिया एजेन्सीले बिगारेको नेपाल–भारत सम्बन्ध अहिले ‘ट्र्याक’ मा जाँदै छ । यसमा प्रतिपक्षले पनि भूमिका निर्वाह गर्नेछ ।
  • चिनियाँलाई नेपाली जनताको नजरमा हामीभन्दा प्रिय बन्ने अवसर पनि हामीले नै दियौं ।
  • नेपालले पनि चीन देखाएर भारत र भारत देखाएर चीनसँग नजिकिने ‘फन्नी गेम’ खेल्नु हुँदैन ।
  • तराईका दलहरूले आफ्नो नामबाट मधेस झिक्दै उनीहरू पनि राष्ट्रिय दलकै रूपमा अघि बढेको देख्दा खुसी लागेको छ ।

संविधान घोषणा केही समय रोक्न भारतले विशेषदूत पठाएको र घोषणाको औपचारिक स्वागत नगरेको स्थितिमा अब पनि त्यस्तै हेराइ छ कि सुधारतिर लागेको हो ?
त्यति बेला भारतले जो गर्यो, त्यो गलत थियो । मैले मात्र होइन अन्य १३ सांसदले राज्यसभामा नै लामो बहस गर्यौं । त्यस दिन नेपाल’bout झन्डै साढे तीन घण्टा बहस भयो । भारतले देखाएको ‘बिग ब्रदर’ शैली’bout चर्को बहस भयो । यतिखेर (भारत) सरकारको लाइन सुधारिएको जस्तो देख्छु, जुन आवश्यक थियो र छ । छिमेकलाई साथ लिएर जान्छु भन्ने अनि आफ्नो कुरा लाद्न खोज्ने राम्रो नीति होइन । यही समस्याले भारतलाई अन्तर्राष्ट्रिय रूपमा असर परिरहेको विश्लेषण भारतभित्रै छ । शताब्दीऔंको भारत–नेपाल सम्बन्धमा जनस्तरको हार्दिकतामा आँच आएको छ । खुला सीमा र अति घनिष्ठ रहेको नेपालमा अशान्त हुनेबित्तिकै भारतलाई नै पनि ठूलो असर गर्छ । नेपालसँग विशेष सम्बन्ध राख्दा नै भारतको हित हुन्छ । आफ्नो धारणा लाद्न खोजेर कहिल्यै भारतलाई लाभ हुँदैन । उल्टै नेपाल चीनतर्फ बढी ढल्किन्छ । युवाहरूमा भारतविरोधी भावना बढ्छ । यो विषय हामीले बुझेर संयमित हुँदै राम्रो सद्भाव अर्थात् साँच्चै शताब्दीऔंको सम्बन्ध राखेर अघि बढ्नुपर्छ ।

भारत सरकारको नेपाल–नीति’bout यसरी बोल्दा तपाईंको राजनीतिक यात्रामा केही असर परेको त छैन ?
मैले कूटनीतिक सेवामा साढे २६ वर्ष बिताएँ । त्यसपछि राजनीतिमा आएर सक्रिय रहेको पनि २६ वर्ष नै बितिसकेको छ । यसैले सम्बन्ध कस्तो राख्नुपर्छ भन्ने विषय बोल्न मन लाग्छ । म यथार्थ बोल्छु । नेपालका विषयमा मैले वास्तविकता बोलेको हुँ, जुन विषयमा मैले लेख्दै आएको पनि छु । त्यही सुझावमा सरकार जान बाध्य छ । नेपालसँग सम्बन्ध बिस्तारै मिल्दै गएको छ । हाम्रा प्रधानमन्त्रीले नेपाल भ्रमण गरेपछि सम्बन्ध साँच्चै उचाइमा पुगेझैं भएको थियो । भूकम्पपछि गरेको सहयोगले नेपालमा भारतप्रति राम्रो सन्देश गएको थियो । तर पछि नाकाबन्दीमा पुग्दा सम्बन्ध बिग्रिएको मात्र होइन, जनस्तरमा भारतविरोधी भावना बढ्यो । सरकार अर्को छिमेकतर्फ निकट हुँदै भारतको बेवास्ता र विरोध गर्ने हदसम्म पुग्यो । नेपालको लागि असजिलो भए पनि कालान्तरमा राम्रो हुन पनि सक्ला तर भारतलाई त्यो प्रकारको नेपाली गतिले हानि गर्छ । यस्तो विषय बोल्दा मलाई कुनै असर पर्दैन ।

नेपाल–भारत सम्बन्ध सुध्रँदो अवस्थामा छ भन्दै हुनुहुन्छ । यसबीचका द्विपक्षीय बैठक र राजनीतिक भ्रमणहरूलाई कसरी हेर्नुभएको छ ?
नेपाल आफ्नो निर्णयमा अडिग रह्यो । निर्वाचित सांसदले पारित गरेको दस्तावेजमा अरूको सुझावमा चल्न चाहेन । आफ्नै तवरले संशोधन गर्दै अघि बढ्दै गयो । मधेसको माग पनि सम्बोधन हुँदै छ । मधेसका दलहरू पनि राष्ट्रिय दलको रूपमा अघि बढ्न चाहेका छन् । तर, मधेस बुझेका केही बुद्धिजीवीसँग कुरा गर्दा भने केही ‘इगो’ र ‘स्वार्थ’ पाएँ । यसमा सकारात्मक सोच आउन जरुरी छ ।

भारतले पनि संविधान जारी गर्ने बेलामा नेपालसँग ‘इगो’ साँधेको भन्ने धारणा बाहिर आएका थिए । यसलाई कसरी हेर्नुभएको छ ?
भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकारले संविधान जारी गर्न तिथि तय भएपछि विशेषदूत पठाउने जुन कार्य गरेको थियो, त्यो नै गलत थियो । त्यसभन्दा पनि गलत, नेपाली नेतृत्वसँग उनको प्रस्तुति थियो, जुन विषय नेपालका मिडियामा आइसकेका छन् । त्यो कुनै कूटनीतिक शैली थिएन । कूटनीतिज्ञले त भद्र र सभ्य तवरले ‘कन्भिन्स’ को प्रयास गर्ने हो । लिनेलाई दिनेले गर्ने जस्तो व्यवहार देखाउन हुँदैनथियो । उनकै रिपोर्टमा भर परेर भारतले लिएको नेपाल नीति गलत थियो । तर, अहिले भारतले यसलाई सुधार गर्दै गएझैं लाग्छ । यो सुधार आवश्यक छ । छिमेकसँग सम्बन्ध सुमधुर बनाएर अघि बढ्नु भारतको पनि हितमा छ । नेपालले लोकतन्त्रमा आफ्नो परिपक्वता देखाइरहेको छ । संविधानसभाबाट संविधान जारी गरेर विश्व समुदायलाई सन्देश दिइसकेको छ । कम्तीमा यसलाई हामी (भारत) ले स्वागत गर्दै अन्य उपलब्धिका लागि सहयोग गर्नुपर्छ । कम्तीमा संविधान त आएको छ । मधेसको समस्या पनि संविधानबाट सम्बोधन हुँदै जाने हो । कुनै ठूलो ‘फोर्स’ ले संविधान चाहिंदैन भनेको अवस्था पनि होइन । संविधानमा हाम्रो कुरा पर्नुपर्यो भनेको न हो । यो बिस्तारै संशोधनमार्फत् गर्दै अघि बढेको भए हुनेथियो । भारत चुक्यो यसमा । त्यो पनि नेपालीहरूले आफ्नो समस्या आफैं समाधान गर्न सक्ने क्षमता देखाइसकेका छन् । यसमा हामी बढी उत्तेजित हुन आवश्यक छैन । शक्ति मुलुक वा छिमेकीले सुझाव भन्दै आफ्ना कुरा साना र कमजोर मुलुकमा लाद्न हुँदैन ।

अब भारतले त्यसलाई महसुस गर्दै नीति सुधार्न थालेकै हो त ?
पछिल्ला १६/१८ महिना भारतले केही गरिहालेको त छैन । तर, सुधारका धेरै संकेतहरू देखाएको छ । नाकाबन्दीको समयमा नेपाल–भारत सम्बन्ध निकै उत्कर्षमा पुग्यो । सन् १९८९ र २०१५ को नाकाबन्दीमा निकै फरक छ । जनतालाई शक्तिसम्पन्न बनाउन १९८९ मा नाकाबन्दी भएको थियो तर २०१५ मा जनता नै दु:खी बनेका थिए । यति बेला नेपालमा पूर्ण लोकतन्त्र छ । त्यसलाई पनि १९८९ मा लगेर दाँज्नु वर्तमान नेताको गलत सोच हो । नेपाल सार्वभौम मुलुक हो । यससँग हामीले राम्रो सम्बन्ध बनाएरै अघि बढ्ने हो । हामीले हाम्रो ‘माइन्डसेट’ परिवर्तन गर्न आवश्यक छ । यो भारतका नेताहरूले मात्र होइन, नेपालका नेताहरूले पनि परिवर्तन गर्न सक्नुपर्छ । राजतन्त्र हुँदा जुन तवरले हेरिन्थ्यो, त्यो तवरबाट नेपाललाई भारतले हेर्न मिल्दैन । अहिले भारतले पठाएको राजदूतले यसलाई सम्बोधन गर्ने संकेत देखिएको छ । भारतीय ‘खुफिया एजेन्सी’ ले बिगारेको नेपाल–भारत सम्बन्ध अहिले ‘ट्र्याक’ मा जाँदै छ । यसमा प्रतिपक्षले पनि भूमिका निर्वाह गर्नेछ ।

नयाँ तवरले हेर्नुपर्छ भन्नाले के संकेत गर्न खोज्नुभएको ?
अब नयाँ ‘माइन्डसेट’ बाट हेर्नुपर्छ । विश्व परिवेश पनि ख्याल गर्नु आवश्यक छ । नेपालले पनि भारतको सुरक्षा संवेदनशीलतालाई भने ख्याल गरिदिनुपर्छ । नेपालले पनि चीन देखाएर भारत र भारत देखाएर चीनसँग नजिकिने ‘फन्नी गेम’ खेल्नु हुँदैन । कताकति त्यो अभ्यास पनि देखिन्छ । सबैसँग आ–आफ्नै खालको सम्बन्ध हुन्छ । मैले नाकाबन्दीको समयमा संसद्मा पनि भनेको थिएँ, ‘लोकतान्त्रिक तरिकाले निर्वाचित सांसदले भन्दा बढी नेपाल–तराई बुझेको रूपमा हामी प्रस्तुत हुनु हँुदैन ।’ नेपालमा पछिल्लो सात वर्षको लामो संघर्षपछि राष्ट्रिय सहमतिमा बनेको संविधान जारी हुने बेलामा भारतले जे गर्यो, त्यो ठीक भएन । हिन्दु राजतन्त्रलाई धर्मनिरपेक्ष गणतन्त्रमा परिणत गरिएकोमा स्वागतका लागि हामीले एक शब्द खर्चिएनौं । जबकि चिनियाँले सजिलै स्वागत गरेका थिए । चिनियाँलाई नेपाली जनताको नजरमा हामीभन्दा प्रिय बन्ने अवसर पनि हामीले नै दियौं । त्यो नाकाबन्दीबाट भारतले के पायो ? यसमा घोत्लिन आवश्यक छ ।

भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण र हाम्रा प्रधानमन्त्रीको भारत भ्रमणको चर्चा सुरु भएको छ । यसलाई कसरी हेर्नुभएको छ ?
सार्क सम्मेलनमा मोदीको नेपाल भ्रमणका क्रममा उनले जनकपुरमा गर्ने यात्राको विषय र व्यवहार हेर्दा निकै बचपना कूटनीति देखिन्थ्यो । भाजपाले हिन्दु राज्यको विषयमा समेत कुरा गरिरहेको अवस्था छ । तर हिन्दु राज्यको सम्भावना देख्दिनँ । तापनि एक खालको सौहाद्र्रता बढ्दै गएको पाएको छु । भ्रमणले द्विपक्षीय सम्बन्धलाई माझ्न र सहकार्य गर्न सहज बनाउँछ । यो आवश्यक छ ।

नेपाल–भारत सम्बन्धलाई लिएर दुवै देशका राजनीतिज्ञलाई केही सुझाव दिन चाहनुहुन्छ ?
भारतले सल्लाह भन्दै निर्देशनको रूपमा पहिलेदेखि नै देखाउने गरेको शैली परिवर्तन गर्न सक्नुपर्छ । भारतको सबभन्दा नजिकको रणनीतिक मुलुक नेपालसँग सम्बन्ध ध्वस्त बनाएर होइन, मजबुत बनाएर अघि बढ्न आवश्यक छ । एउटा स्वतन्त्र र सार्वभौम मुलुकको आन्तरिक मामिला अर्थात् संविधानमाथि कसैले पनि सल्लाह लाद्न सक्दैन । भारत–नेपाल सम्बन्ध कुहिरोको बाटोमा अघि बढेको छ, जुन पहिला पनि थियो । त्यसैले पुरानो बाटो छोडेर नयाँमा सम्हालिएर अघि बढ्न आवश्यक छ । सम्बन्ध निकै गम्भीर मोडमा अघि बढेको छ । दार्शनिक कवि रोबर्ट फ्रस्टले भनेका छन् नि, ‘वी कल इट द रोडलेस ट्राभल’ । त्यही हो हाम्रो बेग ।
यसलाई नेपाल–भारत दुवैले मनन गर्न सक्नुपर्छ । धेरै होइन, थोरै यात्रा तर सुरक्षित यात्रा । यति विषय दुवै पक्षले बुझ्न जरुरी छ ।

You May Also Like

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ