सूचना जारी गर्दासमेत गर्मी बिदा नदिएपछि प्रहरी परिचालन

बाकेँ । नेपालगञ्जमा अत्याधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले तीन दिनका लागि विद्यालय पठनपाठन बन्द गर्ने सूचना टाँस गरेको थियो । उपमहानगरपालिकाको सूचनालाई बेवास्ता गर्दै बिदा नगर्ने संस्थागत विद्यालयमा नेपालगञ्ज उपमहानगरपालिकाले आइतबारदेखि नगर प्रहरी परिचालन गरेको छ ।

उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले सामुदायिक, मदरसा र संस्थागत विद्यालयलाई आगामी समयमा हुने बर्खे बिदाबाट कट्टा हुनेगरी आइतबारदेखि २३ गते मङ्गलबारसम्म बन्द गरिएको सूचना जारी गरेको थियो ।

उक्त सूचनाविपरीत पठनपाठन सञ्चालन गरेको जनाउँदै आदर्श माध्यमिक विद्यालय नेपालगञ्ज, जयबागेश्वरी बोर्डिङ स्कुललगायतका विद्यालयमा नगर प्रहरी पठाएर बन्द गराइएको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाको सूचनाविपरीत पढाइ सञ्चालन भएपछि उपमहानगरपालिकाले ती विद्यालयमा नगर प्रहरी पठाएको थियो । नगर प्रहरी प्रमुखको नेतृत्वमा नगर प्रहरी बन्द गराउन विभिन्न विद्यालयमा आइतबार पुगेका थिए ।

आदर्शले गर्मीयाममा विद्यार्थीका लागि कक्षाकोठामा ‘एसी’ चलाउनुपर्ने जनाउँदै मासिक रूपमा दुई सय रुपैयाँ विद्युत्को अलग शुल्क लिने गरेको छ । विद्यालय बन्द गराउन पुगेका नगर प्रहरीलाई विद्यालय प्रशासनले गर्मीमा पठनपाठनमा सहज गराउनका लागि प्रत्येक कक्षाकोठामा एसी जडान गरिएको र गर्मीले विद्यार्थीलाई खासै असर नगर्ने जवाफ दिएको नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले बताए ।

You May Also Like