मुर्रा भैँसीका विशेषता के हुन्?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भएको सहमतिअनुसार भारतले नेपाललाई १५ वटा मुर्रा जातका भैँसी उपहार दिने भएपछि मुर्रा भैँसीबारे चासो र चर्चा बढेको छ ।

नेपालस्थित भारतीय दूतावासका अनुसार कृषि तथा पशुपन्छीको क्षेत्रमा दुई देशबीचको सहकार्यअनुरूप नेपाल सरकारको अनुरोधमा १५ वटा मुर्रा भैँसी नेपाल सरकारलाई उपलब्ध गराउन लागिएको हो ।

मुर्रा भैँसीका खास विशेषता के हुन्?

मुर्रा भैँसी घरपालुवा भैँसीको एक विशेष नस्ल हो जुन प्रायः दूध उत्पादनको लागि पालिन्छ । यो भारतको पञ्जावको एक जात हो जुन अहिले भारतकै विभिन्न राज्य र अन्य देशमा पनि पालिने गरिएको छ ।

भारतको हरियाणामा त मुर्रा भैँसीलाई ब्ल्याक गोल्ड अर्थात् कालो सुन पनि भनिन्छ । यो दूधमा बोसो उत्पादनको लागि उत्कृष्ट नस्ल हो । यसको दूधमा ७ प्रतिशत फ्याट पाइन्छ ।

यो भैँसीले हरेक दिन पाँच किलो ओटमिल र दुई किलो कपासको तेल खान्छ । यो भैँसीलाई दुहुन धेरै बल लगाउनुपर्छ । बाक्लो दूध हुने भएकोले दुहुनका लागि धेरै बल चाहिन्छ ।

हाल भारतमै मुर्रा जातको एउटा भैँसीलाई ९० हजारदेखि डेढ लाख भारु पर्छ । मुर्रा भैँसी सबैभन्दा उत्पादनशील भैँसी नस्ल हो ।

मुर्रा भैँसीले अन्य जातका भैँसीको भन्दा दोब्बर दैनिक १५ देखि ३० लिटरसम्म दूध सजिलै दिने बताइन्छ । यो जातको भैँसीका लागि विशेष आहारा चाहिन्छ । दूध बढाउन भैँसीको आहारामा पनि अति ख्याल गर्नुपर्छ ।

You May Also Like