चर्च ब्वाइजलाई पाँच अंकको अग्रता बनाउने अवसर

काठमाडौं । उपाधि दौडमा रहेको चर्च ब्वाइज युनाइटेड फुटबल क्लबलाई शहीद स्मारक ए डिभिजन लिग फुटबलमा पाँच अंकको अग्रता बनाउने मौका छ ।

लिगको शीर्ष स्थानमा रहेको चर्च ब्वाइजले आज साँझ ६ बजे लिगको तेस्रो स्थानमा रहेको जावलाखेल युथ क्लबसँग दशरथ रंगशालामा प्रतिस्पर्धा गर्दैछ । जावलाखेललाई पराजित गरे दोस्रो स्थानको मछिन्द्रसँग चर्च ब्वाइजले पाँच अंकको अग्रता बनाउने छ । यता, जावलाखेल पनि चर्च ब्वाइजलाई पराजित गर्दै लिगको दोस्रो स्थानमा उक्लिने लक्ष्यमा छ ।

आजै ३ बजे च्यासल फुटबल मैदानमा विभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लबले सातदोबाटो युथ क्लबसँग खेल्दा दिउँसो ३ बजे दशरथ रंगशालामा थ्रीस्टारले एपीएफसँग खेल्दैछ ।

लिगको शीर्ष स्थानमा रहेको चर्च ब्वाइजको २३ खेलबाट ४१ अंक छ । लिगको दोस्रो स्थानमा रहेको मछिन्द्रको २३ खेलबाट ३९ अंक हुँदा लिगको तेस्रो स्थानमा रहेको जावलाखेलको २३ खेलबाट ३७ अंक छ । लिगको चौथो स्थानमा रहेको नेपाल पुलिस क्लबको २३ खेलबाट ३४ अंक हुँदा पाँचौँ स्थानम रहेको मनाङ मर्स्याङ्दी फुटबल क्लबको २३ खेलबाट ३१ र छैटौँ स्थानमा रहेको आर्मीको २३ खेलबाट ३० अंक छ ।

३० अंकसहित हिमालयन शेर्पा सातौँ, २९ अंकसहित एपीएफ आठौँ स्थानमा रहँदा नवौँ स्थानमा रहेको सातदोबाटोको २९ र १०औँ स्थानम रहेको न्युरोड टिम (एनआरटी) को पनि २९ अंक नै छ । ११औँ स्थानमा रहेको थ्रीस्टार र १२औँ स्थानमा रहेको संकटाको समान २७ अंक छ । रेलिगेशन जोनमा रहेको फ्रेन्ड्स क्लब २५ अंकसहित १३औँ स्थानमा रहँदा एफसी खुमलटार २४ अंकसहित लिगको पुछारमा छ ।

You May Also Like