काठमाडौं । नेपाली क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्धको मुद्दामा मंगलबार पनि अन्तिम सुनुवाइ भएन।
जिल्ला अदालत काठमाडौंमा विचाराधीन मुद्दा न्यायाधीश शंकरबहादुर राईको इजलासमा पेसी परेको थियो। ६ नम्बरमा पेसी रहेको मुद्दा फैसलाको बहसका लागि बहस गर्न पक्ष र विपक्षका कानुन व्यवसायीहरु अदालत पुगेका थिए।
तर, न्यायाधीश राईले पीडितका तर्फबाट अन्तरिम राहतका लागि क्षतिपूर्ति माग गर्दै निवेदन दिएकाले उक्त निवेदन पनि साथै राखेर सुनुवाए गर्नुपर्ने तर्क गरेपछि बहस नभएको हो।
नाबालिगमाथिको जबरजस्तीकरणी मुद्दामा केही समयदेखि पेसी चढ्ने अनि सर्ने हुँदै आएको छ। मंगलबार पनि लामिछानेको मुद्दा फैसलाका लागि अन्तिम बहस नभएको सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले बताए।
न्यायाधीशले पीडितले राज्यकोषवाट क्षतिपूर्ति माग गर्दै निवेदन दिएको र उक्त निवेदन पनि सँगै राखेर सुनुवाइ गर्ने प्रस्ताव आएकाले बहस नभएको उनले बताए। उनका अनुसार लामिछाने दक्षिण अफ्रिका भ्रमणमा हालसम्म जाने टुङ्गो लागेको छैन।