सल्यान । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका ८ मा पर्ने पर्यटकीय स्थल तथा सय पर्यटकीय स्थलमध्ये एक, मिनी राराको नामले चर्चित कुपिण्डे तालमा पछिल्लो समय घुम्न आउने पर्यटकको संख्या घट्दै गएको छ ।
ताल नजिकैसम्म गाडी चल्ने सडक पुगे पनि अवलोकन गर्ने तालबाहेक अन्य केही नभएकाले दृष्यावलोकन गर्न आउनेको संख्या गत मंसिरदेखि घट्दै गएको हो ।
ताल नजिकैसम्म गाडी पुग्दा ताल अवलोकन मात्र नभई डुंगामा सयर गर्ने र नजिकै रहेको वराह मन्दिरमा पूजाआजा गर्ने उद्देश्यका साथ आउने पर्यटकले विगतमा दैनिकजसो भरिभराउ देखिने गर्थे । सुर्खेत, जाजरकोट, रुकुम, नेपालगन्ज , दाङ, बर्दिया, धनगढी, काठमाडौंबाट दैनिक दुई सयभन्दा बढी पर्यटक आउनेमा केही महिनायता मुस्किलले दैनिक सय पुग्ने गरेको ताल नजिकै रहेको वराह मन्दिरका पुजारी तुलबहादुर गोसाईंले बताए ।
शुक्रबार र शनिबारको दिन सबैभन्दा बढी पर्यटक आउने कुपिण्डे तालमा हिजोआज छिटपुट मात्र पर्यटक देखिने उनले बताए । ‘विभिन्न जिल्लाबाट दैनिक दर्जनभन्दा बढी गाडी लिएर तालनजिकै बसेर पिकनिक गर्ने, तालमा बोट सयर गर्नकै लागि धेरै मानिसहरू आउने गर्थे । हिजोआज यो संख्या ह्वात्तै घटेको छ,’ उनले भने, ‘एउटै चिजलाई हेर्न पर्यटक कति आउन् । पर्यटकले नयाँ–नयाँ दृष्यावलोकन गर्न चाहन्छन् ।
तालबाहेक अन्य केही छैन । त्यहि भएर घटेको जस्तो लाग्छ ।’
पर्यटकलाई भुलाउने र मनोरञ्जन दिलाउने अन्य वस्तु नभई आएकालाई खाना तथा खाजा खानका लागि राम्रो होटल नभएकाले आएका पर्यटक लामो समयसम्म नबसी फर्कने सल्लीबजारका बोट सञ्चालक शंकर यरीले बताए । पर्यटकबाट प्रतिव्यक्ति १० रुपैयाँ प्रवेश शुल्क लिने गरेको र गाडीहरूको पार्किङका नाममा चर्को शुल्क लिने गरेकाले पर्यटक कम आउन थालेको जस्तो सबैको मुखबाट सुन्ने गरेको उनले जानकारी दिए । ‘पहिला २१ वटा काठका डुंगा थिए । तीनवटा बोट सञ्चालनमा छन् । पहिला पर्यटक भरिभराउ हुन्थे ।
अहिले काठका जम्मा सातवटा मात्रै डुंगा सञ्चालनमा छन् । सञ्चालित तीनवटा बोटमा पनि खासै पर्यटक चढ्न मान्दैनन्,’ उनले भने, ‘यसले पेशा धरापमा परेको छ ।’ विगतमा कुपिण्डे तालमा विभिन्न संरचना निर्मााणका लागि प्रत्येक वर्ष ५० लाखभन्दा बढी बजेट आएको र गत वर्ष ८ करोड रुपैयाँ बजेट आए पनि सम्बन्धित निकायको लापर्बाहीका कारण काम हुन नसकी फिर्ता गएको उनको भनाइ छ ।
ताल संरक्षण तथा व्यवस्थापन समिति गठन गरे पनि लापर्बाही गरेकाले व्यवस्थापनसमेत फितलो भएको स्थानीय कुमार कुँवरले बताए । ताल संरक्षण समिति भए पनि संरक्षणका लागि विगतमा आएका बजेट टाठाबाठाले दुरुपयोग गरेको उनले जानकारी दिए । ताल अवलोकनका लागि भ्युटावर, ताल चारैतिर रिङरोड, पर्यटकलाई खानबस्नका लागि गतिलो होटल लगायत अन्य मनोरञ्जनका साधन हुन आवश्यक रहेको उनको भनाइ छ ।
कुपिण्डे तालको मुख्य आकर्षणको केन्द्रबिन्दु नै ताल भएकाले पालिकाले ताल संरक्षण तथा विभिन्न संरचना निर्माणका लागि बेलाबेलामा प्रक्रिया अगाडि बढाउँदै आए पनि विभिन्न किसिमका अवरोधका कारण संरचना निर्माण गर्न नसकिएको बन्गाड कुपिण्डे नगरपालिकाका उपप्रमुख पुरुषोत्तम आचार्यले बताए । यो आवमा ताल संरक्षणका लागि पालिकाले ६० लाख रुपैयाँ विनियोजन गरेको उनले जानकारी गराए ।
सत्ययुगमा एक जोगी कुपिण्डे गाउँमा घुम्न आएका बेला रात परेपछि कसैले बास नदिएको र एक बुढी आमाले बास दिएपछि ती जोगीले भोलि बिहानै उठेर डाँडामा गई हेर्नुहोला भनेपछि भोलिपल्ट डाँडामा गई हेर्दा पूरै गाउँ पुरिएर ताल बनेको किम्वदन्ती रहेको छ । बस्ती पुरिएर ताल बनेकाले कहिलेकाहीँ भाले बास्ने, जाँतो पिस्ने आवाज आउने गरेको स्थानीय बताउँछन् । कुपिण्डो आकारको भएकाले कुपिण्डे ताल नामकरण गरिएको उनीहरूको भनाइ छ । ३० हेक्टर क्षेत्रफलमा रहेको कुपिण्डे तालको लम्बाई १ हजार २ सय मिटर, चौडाई २ सय ५० मिटर, गहिराइ ५१ मिटर रहेको छ ।