काँक्राका फाइदै-फाइदा, कुन समयमा खानु राम्रो?

सञ्जय महर्जन, पोषणविद्

चर्को गर्मीमा काँक्रा खानुको मज्जा नै बेग्लै हुन्छ । धेरैजसो सलादकै रुपमा खाइने काँक्राले शरीरलाई हाइड्रेटेड राख्नुका साथै छालाको सौन्दर्य पनि बढाउँछ । काँक्राका बेफाइदा नै छैनन् भन्दा पनि हुन्छ, यसका फाइदै फाइदा छन् ।

यसमा भिटामिन सी, पोटासियम, फोलिक एसिड प्रशस्त मात्रामा पाइन्छ । त्यस्तै कार्बोहाइड्रेट, क्याल्सियम, फस्फोरस, फलाम, सल्फरजस्ता बहुपयोगी तत्व समेत काँक्रामा पाइन्छ । पोषक तत्वले भरिपूर्ण यस फलमा ९६ प्रतिशतसम्म पानीको मात्रा पाइने गर्छ । एक अध्ययनअनुसार कम फ्याट र क्यालोरीले भरिपूर्ण काँक्राले धेरै रोग लाग्नबाट बचाउँछ ।

काँक्रा खाने सही समय

बिहान खाली पेटमा काँक्रा खानु पाचनक्रियाका लागि फाइदाजनक हुन्छ । त्यसपछि बिहानको खानापछि, दिउँसो, बेलुका जतिबेला पनि खान सकिन्छ । तर पनि रातमा भन्दा दिनमा उपभोग गर्दा पनि अझ लाभदायक मानिन्छ ।

कसरी खानु राम्रो?

विशेषगरी काँक्रा सलादको रुपमा खाने गरिन्छ । यसबाहेक जुस बनाएर पनि खान सकिन्छ । काँक्राको जुस बनाएर खाँदा मधुमेहका लागि निकै फाइदाजनक हुन्छ । सलादमा स्वादका लागि नुन, खुर्सानी राखेर खान सकिन्छ तर यसरी खाँदा यसमा पाइने पोषक तत्व नष्ट हुन सक्छ । काँक्राका अचार बनाएर पनि खान सकिन्छ ।

तर अहिले बजारमा विभिन्न विषादी हालिएको काँक्रा आउने हुनाले खरिद गर्ने बेलामा सचेत हुनुपर्छ । किनेर ल्याउने बित्तिकै खाने भन्दा पनि केही समय मनतातो पानीमा राख्ने र त्यसपछि धोएर खान सकिन्छ ।

काँक्राका फाइदा

काँक्रामा भएको पोषक तत्वले रगत जम्न नदिने, हड्डीका मासी र रगतमा क्याल्सियमको स्तरलाई सन्तुलन राख्ने काम गर्छ । काँक्राले पाचन शक्ति बढाउने भएकाले कब्जियतको समस्याबाट मुक्त गराउँछ । यसमा क्यालोरीको मात्रा एकदमै कम हुन्छ । त्यसैले यसलाई तौल र पेटको बोसो घटाउन सेवन गर्ने गरिन्छ । यसले डिहाइड्रेसन हुनबाट रोक्छ । जसले गर्दा शरीरलाई हाइड्रेटेड राख्नुका साथै काममा जाँगर पनि दिन्छ ।

काँक्राले मेटाबोलिक दर बढाउन पनि मद्दत गर्छ, जसकारण पेटसँग सम्बन्धित समस्या पनि कम हुन्छ । त्यस्तै शरीरमा भएको कोलेस्टेरोलको मात्रालाई कम गर्न, अनुहारमा चमक ल्याउने गर्दछ । साथै काँक्रामा भएको पानीले विषाक्त तत्वलाई मानव शरीरबाट बाहिर फाली मिर्गौलाको पत्थरीलाई हटाउन, मुखको दुगन्ध हटाउन मद्दत गर्छ । त्यस्तो काँक्रामा भएको पोटासियमको मात्राले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ ।

(कुराकानीमा आधारित)

You May Also Like