कर्णालीमा बजेटको आकार घटेर आउने

सुर्खेत । विगतका वर्षहरुमा बजेटको आकार बढाउँदै आएको कर्णाली सरकारले यसपालि भने घटाउने देखिएको छ ।

संघीय सरकारले नै अनुदान कटौती गरेपछि प्रदेशको बजेट पनि घट्ने देखिएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि अनुदान कटौती गरेर बजेट सिलिङ पठाएको छ । वित्तीय समानीकरण अनुदान र राजस्व बाँडफाँटको सिलिङ घटाएर पठाएको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

आगामी आर्थिक वर्षका लागि वित्तीय समानीकरण अनुदान अन्तर्गत दश अर्ब १६ करोड बजेटको सीमा अनुमान प्राप्त भएको मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षकाभन्दा करिब ५६ करोड बजेट अनुदानमा घटेर आएको छ ।

आर्थिक वर्ष २०७९/०८० मा दश अर्ब ७२ करोड वित्तीय समानीकरणतर्फको बजेट सीमा रहेको थियो । हालसम्म प्रदेश सरकारलाई ६ अर्ब २९ करोड ९१ लाख बजेट मात्र प्राप्त भएको छ । एक अर्ब ३४ करोड बजेट प्रदेश सरकारलाई आउन बाँकी छ ।

आन्तरिक स्रोत कमजोर हुँदा बजेटको आकार घटाउनुपरेको आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंह बताउँछन् । यद्यपि, यसपटकको बजेट कर्णाली सुहाउँदो ल्याउने दाबी उनको छ ।

You May Also Like