वीरेन्द्रनगरको नगर बस योजना ओझेलमा

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाभित्र यात्रुलाई सस्तो, सुलभ र भरपर्दो नगर यातायात सेवा दिने गरी मन्त्रालयबाट रकम माग गरेको योजना ओझेलमा परेको छ । नगर बस सञ्चालनका लागि नगरपालिकाले पनि बजेट व्यवस्थापन गर्ने योजनामा थियो । यसका लागि प्रारम्भिक चरणमा सार्वजनिक यातायात व्यवसायीसँग नगर बस सञ्चालन तथा व्यवस्थापनका लागि छलफलसमेत गरिएको थियो ।

उतिबेला निजी क्षेत्रले यात्रु नहुने भन्दै नगर बस सञ्चालनमा ल्याउन नसक्ने बताएका थिए । तर, नगरपालिकाले अनुदान र आफ्नै लगानीमा सञ्चालनमा ल्याउने गरी छलफल अगाडि बढाएको भएपनि कोरोना महामारीका कारण योजना अलपत्र परेको वीरेन्द्रनगर नगरपालिकाका निवर्तमान प्रमुख देवकुमार सुवेदीले नेपाली रैबारलाई बताए । सो समय मुख्य राजमार्गमा दुई वटा र भित्री बाटोहरूमा दुई वटा बस चलाउने गरी नगरपालिका अगाडि बढेको उनको भनाइ छ ।

पछिल्लो समय वीरेन्द्रनगरमा बढ्दो जनघनत्वका कारण सार्वजनिक यातायातको माग बढ्दो छ । यात्रुको सङ्ख्या बढ्दै गएको भए पनि नगरपालिकाले आफ्नै नगर बस सञ्चालनमा ल्याउन नसक्दा नागरिकहरू सार्वजनिक यातायातको रूपमा चर्को मूल्य तिरेर तीन पाङ्ग्रे अटो चढ्न बाध्य छन् । अटोरिक्साले असुरक्षित तवरले यात्रु बोक्ने मात्रै होइन मनलाग्दी भाडासमेत असुल्ने गरेको नागरिकको गुनासो छ ।

नगरपालिकाले भाडादर निर्धारण समेत गरेको छ, तर त्यसको प्रभावकारी अनुगमन भने हुँदैन । वीरेन्द्रनगर नगरपालिकाले यस अघि नगर क्षेत्रभित्र रुट निर्धारण गरी नगर बस सञ्चालनका लागि स्थानीय विकास मन्त्रालयमा माग समेत गरेको थियो ।

नीति तथा कार्यक्रममा नगर बस सञ्चालनको विषय समावेश गरेको नगरपालिकाले आन्तरिक स्रोत नभएकाले कार्यान्वयन गर्न नसकेको जानकारी दियो । वीरेन्द्रनगरमा अटोरिक्साले गरेको मनपरी गरेपछि त्यसलाई रोक्न नगरपालिकालाई चुनौती नै छ । नगर बस सञ्चालन भएमा नागरिकलाई राहत हुने भए पनि हालसम्म नगरपालिकाले कुनै चासो दिन सकेको छैन । अघिल्लो कार्यकालमा उक्त योजना अगाडि बढाउन छलफल भएको भए पनि हाल नगरपालिकाले यो विषयलाई ओझेलमा पारेको छ ।

यता, सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटाले नयाँ रुटमा निजी क्षेत्र एक्लैले मात्र गर्न नसक्ने भन्दै नगरपालिकाले साझेदारी गर्न तयार भए आफूहरू नगर बस सञ्चालन गर्न तयार भएको बताए । अघिल्लो नेतृत्वले आफूहरूसँग छलफल अगाडि बढाएको तर वर्तमान नेतृत्वले हालसम्म पनि यस विषयमा कुनै प्रकारको समन्वय नगरेको उनले बताए ।

नगरपालिकाले नगरभित्र सवारी व्यवस्थापनका लागि कम्तीमा १५ देखि २० वटा बसहरू सञ्चालनमा ल्याउनु पर्ने उल्लेख गर्दै सापकोटाले भने, ‘यात्रुहरू धेरै समय कुर्न सक्दैनन् । एकै समयमा दुईतर्फी बस चल्नुपर्छ । बढ्दो सवारी चाप कम गर्न र सस्तोमा सेवा दिन साना र ठूला गरी १५ देखि २० वटा बस चलाउनु पर्छ ।’ नेपाली रैबार

You May Also Like