पूर्वगृहमन्त्री खाणलाई चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ। 

काठमाडौं जिल्ला अदालतले बुधबार उनलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको काठमाडौं सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले जानकारी दिए। उनलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको थियो। उनलाई जरूरी पक्राउ पुर्जी जारी गरेर पक्राउ गरेको थियो।

पक्राउ गरेपछि उनलाई परिसरमा लगिएको थियो। त्यहाँबाट उनलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो। नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ। बुधबार खाणसँगै उनका सहयोगी नरेन्द्र केसीलाई पनि पक्राउ गरेको हो।

यसअघि प्रहरीले केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ, सन्दीप रायमाझी, इन्द्रजित राई, टेकनारायण पाण्डे, रामशरण केसी र गोविन्द चौधरीलाई पक्राउ गरेको हो।

सन्दीप नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा हुन् भने इन्द्रजित पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षाविज्ञ थिए। पूर्वगृहसचिव पाण्डे पक्राउ पर्दा उपराष्ट्रपति कार्यालयमा सचिव थिए।

You May Also Like