काठमाडौं । हिमपहिरोमा परी बेपत्ता भएकाहरूको खोजीका लागि नेपाली सेनाको हेलिकप्टर मुगु पुगेको छ । शुक्रबार मुगुको च्यार्खु पाटनमा यार्सा टिप्न गएकाहरु हिमपहिरोमा परेर बेपत्ता भएका थिए । यद्यपि घटना भएको शनिबार मात्र थाहा भएको थियो । सोमबार बिहानै बेपत्ताहरूको खोजी कार्यका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मुगु पुगेको हो ।
मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाका अनुसार हिमपहिरोमा परी ३ जना बेपत्ता भएका छन् । हिमपहिरोमा परी जुम्लाको पातारासी गाउँपालिका–२ जुम्ला तल्फीगाउँका ३६ वर्षीय पुन्न सार्की र ४० वर्षीय तारासिंह सार्की र ३६ वर्षीय वीरबहादुर बोहोरा बेपत्ता भएका हुन् । हेलिकप्टर मुगु पुगेर पहिलो चरणमा दुईजना सुरक्षाकर्मी लिएर घटनास्थलतर्फ गएको उनले बताए । अब फर्किएर पुनः थप सुरक्षाकर्मी लगेर घटनास्थलतर्फ जाने छ ।
बेपत्ताहरूको खोजी तथा उद्धारका लागि आइतबार बसेको कर्णाली प्रदेश सरकारको सुरक्षा समितिको बैठकले हेलिकप्टर पठाउने निर्णय गरेको थियो ।
जेठ ४ गतेबाट यार्सागुम्बा सङ्कलनका लागि खुला गर्ने भनिए पनि जुम्लाको पातारासीबाट १४ र मुगु छायानाथ रारा नगरपालिकाबाट एक गरी १५ जनाको टोली अवैध बाटो भएर त्यहाँ पुगेका थियो । घटना भएको ठाउँ मुगु कार्मारोङ गाउँपालिकाको प्रहरी चौकीबाट दुई दिनको पैदल यात्रा हिँड्नुपर्ने जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ ।