प्रधानमन्त्रीको व्यङ्ग्य: भुटानी शरणार्थी बनाएर बेच्नेहरू प्रचण्डको हालत हेर त भन्थे !

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारको फाइल खोल्न बल्ल सुरु भएको बताउँदै थप फाइल अझै खुल्ने दाबी गरेका छन् । दलित मुक्ति मोर्चाको अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले केही दिन अगाडि मात्र भ्रष्टाचारहरुको फाइल खोलिन्छ भनेको स्मरण गराउँदै यो ट्रेलर मात्र भएको र सिङ्गै फिल्म आउन बाँकी रहेको बताएका हुन् । उनले अब सरकारलाई घेराबन्दी हुने, धम्की आउने बताउँदै श्रमजीवी समुदायको साथ भए त्यसको सामना गर्न सकिने धारणा राखे ।

एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीसँग सिंहदरबारमा भेटेर कार्यक्रममा सहभागी भएका प्रधानमन्त्री प्रचण्डले देशमा संस्थागत भ्रष्टाचार भइरहेको र त्यसलाई समाप्त पार्न आफू लागि परेको जिकिर गरे । त्यसमा सबैको साथ सहयोग आवश्यक रहेको उनको भनाई थियो । गलत नीति र गलत संस्कार तथा संस्थागत भ्रष्टाचारका कारण देशको आर्थिक अवस्था त्यति राम्रो नरहेको बताउँदै उनले त्यसलाई सुधार गर्नका लागि प्रयास भइरहेको बताए । प्रधानमन्त्री प्रचण्डले प्रतिक्रान्ति, भ्रष्टाचार, प्रतिगमन विरुद्ध विशाल सडक आन्दोलन गर्ने चेतावनी पनि दिए ।

‘प्रतिनिधिसभा दुई–दुई पटक संसद विघटन गरिएको थियो । त्यो संसद् विघटन थिएन, संविधान विघटन थियो,’ प्रधानमन्त्रीले प्रचण्डले भने, ‘त्यसको विरुद्धमा विशाल आन्दोलन गरेर त्यसलाई समाप्त पार्‍यौँ ।’ उनले थपे, ‘ सरकारमा हुनेहरुले र अहिले भुटानी शरणार्थी बनाएर बेच्ने मान्छे मध्येकाहरुले बढो व्यङ्ग्य कसेर हरे प्रचण्डको हालत हेर त । चिसो बाटोमा पुसमा बसेको छ प्रचण्डको हालत त यस्तो अवस्थामा पो पुग्यो त भन्थे तिनले । सम्झिनुभाको छ तपाईंहरुले रु त्यसको केही समयपछि एकपटक हैन, तीन पटक काठमाडौँमा लाखौँ जनता आइसकेपछि उनीहरूका प्रतिगमनका षड्यन्त्रहरू परास्त भए, नेपाली जनता फेरी विजयी भए, हामी फेरी विजयी भयौँ ।’

एक चोटि फेरि गर्जिए देश कब्जा हुने बताउँदै प्रचण्डले माओवादी कमजोर भएको नभएको र एकताबद्ध भएर अगाडि बढे कसैको केही नलाग्ने उनले बताए । उनले भने, ‘ अहिले पनि एकथरी मानिसहरूले सपना देखिरहेका होलान् माओवादी अव कमजोर भएको छ ३२ सिटे, हाम्रो नाम त्यस्तो भएको छ के ३२ सिटे । हामी फेरि एकपटक गर्जियौँ भने यो ३२ सिट बहुमत पुग्छ र नेपाल कब्जा हुन्छ ।’

फरक प्रसङ्गमा राजनीतिक परिवर्तनमा दलित समुदाय अग्रमोर्चामा रहेर क्रान्तिलाई सफल बनाउन भूमिका खेलेको प्रधानमन्त्री प्रचण्डले बताए । उनले भने, ‘हामीले आफ्नै मौलिकतामा क्रान्ति अगाडि बढाउँदै लगेका थियौँ । तर आज परिवर्तन उल्टाउने कसरत भइरहेको छ । दलितको संवैधानिक अधिकारलाई उल्टाउने षड्यन्त्र भइरहेको छ ।’

दलितको अधिकार र पहिचानका लागि सरकारले काम गरेर रेकर्ड बनाउन चाहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले त्यो तागत दिन दलित समुदायलाई आग्रह गरे । भूमि अधिकार दलित अधिकारसँग जोडिएको हुनाले केही समयपछि केही विशेष निर्णय गर्न लागेको उनको भनाई थियो । ‘दलितलाई दिइने विशेष अधिकार उपल्लो वर्गले दिने दान होइन । दलित आफै लडेर ल्याएको अधिकार हो,’ उनले भने । विशेष अधिकारका लागि सङ्घर्ष जारी रहेको बताउँदै उनले संविधान संशोधन गरेर भए पनि दलितलाई अधिकार दिलाउने प्रतिबद्धता जनाए ।

You May Also Like