थप १३ ब्रोकर कम्पनीले पाए आशय, नयाँ २९ कम्पनी आउने

काठमाडौं । धितोपत्र बोर्डको वुधबार बसेको सञ्चालक समितिले थप १३ कम्पनीलाई ब्रोकरको रुपमा काम गर्न आशय पत्र प्रदान गरेको छ।

योसंगै अब बजारमा नयाँ २९ ब्रोकर कम्पनी आउने भएको हो।हाल बजारमा ५० ब्रोकर कम्पनी संचालनमा छन। सेयर बजारमा १० वर्षपछि ब्रोकर थपिन लागेको हो। २०६८ मा २७ नयाँ ब्रोकर थपिएर कुल ५० वटा ब्रोकर संख्या पुगेको थियो।

धितोपत्र बोर्डले असोजमै आवेदन मागेका ४५ मध्ये हालसम्म २९ वटाले आशय पत्र पाएका हुन्।

वुधबार सनराइज सेक्युरिटिज, जेबिएनएल सेक्युरिटिज, सेयर प्रो सेक्युरिटिज, स्टकस्टकार्टस सेक्युरिटिज, प्रोपर्टी बिजार्ड, क्यपिटल हब प्राली, मिल्की वे सेयर ब्रोकर कम्पनीले आशय पत्र पाएका हुन्। यस्तै, आशय पाउने अन्यमा ब्लूचिप सेक्युरिटिज, गरिमा सेक्युरिटिज, शुभकामना सेक्युरिटिज, कलश स्टक मार्केट, मनि वर्ल्ड सेयर एक्सचेन्स, मियो सेक्युरिटिज रहेका छन्।

यी सबैले सीमित कार्य गर्ने दलालको रुपमा काम गर्नेछन्। प्रक्रियामा रहेका अन्यलाई पनि क्रमिक रुपमा आशय पत्र दिइनेछ। बोर्डले हरेक तीनरतीन वर्षमा बजारको आवश्यकता अनुसार धितोपत्र दलाल थप्न सक्ने व्यवस्था छ।

धितोपत्र व्यापारीको लागि एक अर्ब ५० करोड, पूर्ण कार्य गर्ने धितोपत्र दलालको लागि ६० करोड र सीमित कार्य गर्ने दलालको लागि २० करोड रूपैयाँ चुक्ता पुँजी तोकिएको छ। आशय पत्र पाएको छ महिनाभित्रमा यी कम्पनीले पूर्वाधार तयार गरी धितोपत्र बोर्डलाई जानकारी दिनुपर्ने व्यवस्था छ।

बोर्डले ३० दिनभित्र स्थलगत निरीक्षण र जाचबुझ गर्नेछ। बोर्डले पूर्वाधार अपर्याप्त देखेमा बढीमा तीन महिनाको समय दिएर थप व्यवस्था गराउन लगाउँनेछ।

सो अवधिमा पनि पूर्वाधार तयार नगर्नेको अनुमति स्वतः रद्द हुनेछ।

You May Also Like