चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० आफ्नो नेतृत्वको सरकारमा आउने विश्वास व्यक्त गरेका छन् । प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा उनले रास्वपा सरकारमा सहभागि हुने  विषयमा कुराकानी चलिरहेको जानकारी दिए ।प्रधानमन्त्री दाहालले भने, “रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन ।  सो पार्टी पनि सरकारमा आउने कुरा चलिरहेको छ ।” रास्वपाले पहिलाका मन्त्रालय माग्नु अस्वभाविक नभएको बताउँदै उनले यसैमा उहाँ अडिनुहुन्छ भन्ने आफूलाई नलागेको बताए ।
सत्तासाझेदार दलका बीचमा सरसल्लाह गरेर सहमतिमा जाने प्रधानमन्त्री दाहालले बताए । रास्वपालाई अहिलेनै मन्त्रालय छाड्ने विषयमा आफूहरु नपुगेको उनले स्पष्ट पारे । प्रधानमन्त्री दाहालले भने, “रास्वपका अध्यक्ष रवि जीले पनि हामीलाई यही नै चाहिन्छ भन्नुभएको छैन । छलफलकै क्रममा भएकाले केही छैन ।” सञ्चारकर्मीको एक प्रश्नको जवाफमा उनले सरकार पाँच वर्ष चल्ने बताए ।
उनले भने, “सरकार पाँच वर्ष चल्छ । यताउता हुन्छ की भन्ने भ्रम हो ।” आफ्नो निवास शिवनगरमा आयोजना गरिएको सो कार्यक्रममा प्रधानमन्त्री दाहालले खुलेर पत्रकारसँग कुराकानी गरेका थिए । सो क्रममा उनले महाविर पुन आफूसँग सल्लाह नै गरेर माइतीघर मण्डलामा बसेको बताए । बस्नुअघि आफूसँग बालुवाटारमा भेटेको जनाउँदै उनले पुनले उठाएका मागप्रति सरकार सकारात्मक रहेको बताए ।
			