यूएईले सिङ्गापुरलाई २ सय १ रनको भारी अन्तरले हरायो

काठमाण्डौ । एसीसी मेन्स प्रिमियर कपमा संयुक्त अरब इमिरेट्स (यूएई) ले सिङ्गापुरलाई हराएको छ । आज आइतवार भएको खेलमा यूएईले सिङ्गापुरलाई दुई सय एक रनको भारी अन्तरले हरायो ।

यूएईले दिएको चार सय ७२ रनको लक्ष्य पछ्याएको सिङ्गापुरले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ७० रनमात्र बनाउन सक्यो । सिङ्गापुरका मनप्रीत सिंहले ६६ र थिलिपन ओमाइदुराईले ५२ रन बनाए । यूएईका आयन अफजल खान, कार्तिक मय्यप्पन र सञ्चित शर्माले दुईरदुई विकेट लिए ।

कीर्तिपुरमा यूएईले सिंगापुरलाई दियो ४७२ रनको विशाल लक्ष्य

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा अलआउट हुँदै चार सय ७१ रनको विशाल योगफल बनायो । यूएईका वृत्य अरविन्दले सर्वाधिक एक सय ७४ रन बनाए । उनले एक सय ३३ बलमा १७ चौका र सात छक्काको मद्दतमा एक सय ७४ रन जोडे । यस्तै कप्तान मुहम्मद वसीमले ८२ बलमा नौ चौका र १६ छक्काको मद्दतमा एक सय ६० रन बनाए । यस्तै आयन अफजल खानले ५० बलमा ७४ रन बनाए । सिङ्गापुरका आदित्य भर्गवले चार र रमेश कलिमुथीले तीन विकेट लिए ।

यो जितसँगै समूह (बी) मा रहेको यूएई तीन खेलमा चार अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । सिङ्गापुरमा तीन खेलमा अङ्कविहीन हुँदै अन्तिम स्थानमा छ ।

एसीसी प्रिमियर कपको समूह (ए) मा नेपालसँगै ओमान, कतार, मलेसिया र साउदी अरब र समूह (बी) मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।

You May Also Like