धर्मानन्द भट्ट
यी नेत्रमा छन् सपना अनौठा
हो भन्नु मैले कसरी र झुट्टा
जानू कहाँ खै पथको म यात्री
लाग्यो भने जीवन कालरात्री
अनिष्ट होला कि भनेर सोचेँ
म जान्न बाङ्गो र सुमार्ग रोजेँ
हुँदै भयो के मनले भनेको
होला र को खै दिलले चुनेको ?
यो देह जल्दा अनि रम्नु मस्त
राखी दिलैमा खुसले प्रसस्त
डाक्नू मलाई तब आउने छु
दिनेछु माया अझ पाउने छु
यो बार्दलीमा बस चन्द्र सूर्य
मङ्गोल हो या कि त शुद्ध आर्य
ताजा फुलेको छ गुलाफ डाली
बस्नेछु बन्दै अब वाग माली
बन्दै नदीका कमला कतार
बाँची रहौँ वर्ष सयौं हजार
तिम्रो खुसीले म रमाउने छु
र जिन्दगी हात समाउने छु
आकाश बोल्यो जब गर्जिएर
हे यो रिसायो तल फर्किएर
पानी नदीझैँ जब दर्की आयो
त्यो रूप तिम्रो अनि मुस्कुरायो
आँखा जुधाएर मन यो दिनेछु
बसेर छाती तिर धड्किनेछु
छामेर हेर्दा अनि देखिनेछु
सम्झ्यौ भने त्यो दिलमै हुनेछु